कीर्तिमानी रोहित

कीर्तिमानी रोहित

घरेलु क्रिकेटको सर्वाेच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा छ। घरमा ५० ओभरको राष्ट्रिय प्रतियोगितासमेत हुन छाडेको छ। दुःखको कुरा क्रिकेट विकासको काम ठप्प जस्तै छ।

नेपाली क्रिकेटको यो दयनीय अवस्थामा समेत केही अद्भुत युवा प्रतिभा उदाउने गरेका छन्, जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीलाई निरन्तरता मात्रै दिएका छैनन्, विश्व कीर्तिमानी प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख उचो राख्ने कामसमेत गर्दै आएका छन्।

नेपाली युवा प्रतिभा रोहित पौडेलको नाम त्यही विश्व कीर्तिमानी प्रदर्शनसँग जोडियो, जसले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा राम्रै स्थान दिलायो। यही प्रदर्शनले उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा जिउँदा भगवान् मानिएका दिग्गज क्रिकेटर सचिन तेन्दुल्करसँग तुलना गरायो।

नेपालले यो साता खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन खेलको एक दिवसीय शृंखला २–१ ले जित्यो। त्यसमध्ये दोस्रो एकदिवसीय खेलमा नेपालले एक सय ४५ रनको जित हात पार्दा रोतिहको कीर्तिमानी प्रदर्शन सम्भव भएको थियो।

रोहितले ५८ बलमा ५५ रन प्रहार गर्दै एकदिवसीय खेलमा आफ्नो पहिलो अर्धशतक पूरा गर्दा उनको त्यो प्रदर्शन विश्व कीर्तिमानी बन्न पुगेको हो।

रोहित सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक प्रहार गर्ने खेलाडी बने। रोहितले एकदिवसीय खेलतर्फ सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानका लागि पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी र सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमानका लागि तेन्दुल्करको कीर्तिमान भंग गरेका हुन्।

अफ्रिदीले श्रीलंकाविरुद्ध सन् १९९६ मा केन्याको नैरेबीमा भएको एकदिवसीय खेलमा १६ वर्ष दुई सय १७ दिनको उमेरमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए।

यस्तै तेन्दुल्करले पाकिस्तानविरुद्धको टेस्ट खेलमा आफ्नो उमेर १६ वर्ष दुई सय १३ दिनको पुग्दा ५९ रन प्रहार गर्दै सबै खाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान राखेका थिए। शनिबार १६ वर्ष एक सय ४६ दिनको उमेरमा अर्धशतक प्रहार गरेका रोहितले अफ्रिदी र तेन्दुल्कर दुवैको कीर्तिमान आफ्नो नाममा बनाएका हुन्।

उनको यही कीर्तिमानी प्रदर्शनले नेपाली क्रिकेट समर्थक र सम्पूर्ण नेपालीहरूलाई खुसी तुल्याउने काम गरेको छ। साथै नेपाली क्रिकेटको भविष्य उज्वल रहेको संकेत पनि गरेका छ।

रोहित यस्ता युवा प्रतिभा हुन्, जो नेपाली क्रिकेटको सुनौलो काल खण्डसँग जोडिन आइपुगेका छन्। जसको काँधमा नेपाली क्रिकेटलाई भविष्यमा अझ ठूलो सफलतातर्फ डोहो¥याउनुपर्ने जिम्मेवारी पनि छ।

त्यसका लागि रोहित र उनको समकक्षी युवा खेलाडीहरूले सम्भावना देखाइसकेका छन्। रोहित ट्यालेन्ट हन्ट कार्यक्रममार्फत नेपाली क्रिकेटको दृश्यमा आएका खेलाडी हुन्। क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको क्षमता पहिचान हुने प्रतियोगितासमेत हुन छाडेपछि नेपाली प्रशिक्षकहरूले देशका केही भागमा ट्यालेन्ट हन्ट कार्यक्रममार्फत खेलाडी छनोट गर्दै आइरहेका छन्।

२०१६ मा श्रीलंकामा भएको अन्डर–१९ एसिया कप प्रतियोगिताका लागि खेलाडी छनोट गर्न भैरहवामा सञ्चालन गरिएको ट्यालेन्ट हन्ट कार्यक्रममा देखिएको रोहितको यो प्रतिभा बन्द प्रशिक्षण हुँदै यू–१९ राष्ट्रिय टोली र त्यसको एक वर्षभित्रै सिनियर राष्ट्रिय टोली हुँदै विश्व कीर्तिमानी प्रदर्शनसम्म पुगेको छ।

यू–१९ राष्ट्रिय टोलीको डेब्यु खेलमै उनले भारतविरुद्ध गरेको प्रदर्शनले सबै नेपाली क्रिकेट प्रेमीलाई रोमाञ्चित तुल्याउने गर्दछ। विशेषगरी भारतीय बलर कमलेस नगरकोटीको एक ओभरमा उनले प्रहार गरेको दुई छक्का र तीन चौकाको प्रदर्शनलाई नेपाली क्रिकेट समर्थकहरूले सम्झने गर्छन्।

भारतीय राष्ट्रिय टोलीको सम्भावित खेलाडीको रूपमा हेरिएका कमलेस त्यति बेलै पनि एक सय ४०÷५० को गतिमा बलिङ गर्थे। त्यसैले पनि उनीविरुद्धको रोहितको प्रदर्शन विशेष बनेको हो।

यू–१९ उमेरसमूहको त्यस्तै सशक्त प्रदर्शनसँगै रोहितले सन् २०१८ को सुरुआतमै सिनियर राष्ट्रिय टोलीमा पनि अवसर पाए। नेपालले त्यस बेला आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत िरुद्धको खेल खेल्दै थियो। सोही खेलमा रोहितले सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर पाएका हुन्।

त्यसयता उनी निरन्तर जस्तै राष्ट्रिय टोलीमा छन्। उनी नियमित रूपमा यू–१९ का साथै सिनियर राष्ट्रिय टोलीबाट समेत खेल्दै आइरहेका छन्। बल र ब्याटका साथै उत्तिकै सशक्त फिल्डिङ प्रदर्शन गर्न सक्ने क्षमताका रोहित आवश्यकता अनुसार कुनै पनि पोजिसन र अवस्थामा उत्तिकै प्रभावकारी रूपमा उत्रन सक्छन्।

रोहित क्रिजमा आक्रामक ब्याट्सम्यानका रूपमा खेल्न सक्छन्। आवश्यकता अनुसार लामो समय टिकेर खेल्न पनि सक्छन्। यही क्षमताका कारण उनी घरेलु प्रतियोगिताकासाथै राष्ट्रिय टोलीमा समेत निरन्तर छाइरहेका छन्।

यो उनको मेहनतको प्रतिफल हो। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ बुद्धबस्तीका रोहितले क्रिकेटकै लागि आफ्नो पढाइ बीचैमा छाडेका छन्। उनका पिता कुमार रोहितलाई पढाएर जागिरे बनाउन चाहन्थे। क्रिकेटकै लागि उनले आफ्नो अभिभावकको इच्छालाई लत्याए। यद्यपि अहिले उनले जे गरिरहेका छन्, त्यसबाट उनका पिता कुमार र परिवार खुसी छन्।

उनको यही कीर्तिमानी प्रदर्शनका कारण रोहितलाई अब अन्तर्राष्ट्रिय क्रिकेट समुदायले पनि सम्झिरहनेछ। उनको यो कीर्तिमानी प्रदर्शनले अझ निरन्तर्ता पाओस्। त्यसमा उनको परिवार र सम्पूर्ण नेपालीले उनीमाथि अझ गर्व गर्नेछन्।

लिस्ट ए खेल

डेब्यु : फेब्रुअरी ८, २०१८ (नामिबियाविरुद्ध)

कुल खेल : १६

पाली : १६

कुल रन : ३२३ रन

एकदिवसीय खेल

डेब्युः अगस्ट ३, २०१८ (नामिबियाविरुद्ध)

कुल खेल : ४

पाली : ४

कुल रन : ८६

टीट्वेन्टी खेल

डेब्यु : जुलाई २३, २०१८ (एमसीसी ट्राइनेसन सिरिज)

कुल खेल : १

पाली : ०

कुल रन : ०


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.