सडकले जोडियो चेपाङ गाउँ

सडकले जोडियो चेपाङ गाउँ

मकवानपुर : सात किलोमिटर सडक ट्र्याक खोल्न कति समय लाग्ला ? राक्सिराङ गाउँपालिका केन्द्र चैनपुरबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने सडक ट्र्याक बनाउन ४१ वर्ष लागेको छ। विगतमा माया मारिसकेको सडक जनप्रतिनिधि आएपछि निर्माण भएको हो।

प्रजा विकास कार्यक्रमअन्तर्गत चेपाङ गाउँलाई राजमार्गसँग जोड्न तत्कालीन जिविसले सडक निर्माण थालेको थियो। तर, जिविस र गाविसले दिने रकम पहिरो पन्छाउँदैमा सीमित भएको थियो। २०५० देखि बजेट विनियोजन पनि रोकिएको थियो। उक्त अवधिमा २ करोड रुपैयाँ खर्च भएको स्थानीयको अनुमान छ।

राक्सिराङ गाउँपालिकाको पहिलो बैठकले चैनपुर–मनहरी सडक ट्र्याक खोल्ने निर्णय गरेको थियो। दुई उपभोक्ता समितिमार्फत काम अधुरै भएपछि ठेक्कामार्फत निर्माण सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए। उनका अनुसार २०७४/७५ मा दुई उपभोक्ता समितिलाई ५०/५० लाख रुपैयाँ दिएर काम गराइएको थियो। तर, काम गर्न नसकेपछि २९ र ३९ लाख रुपैयाँ मात्र भुक्तानी दिइएको उनले सुनाए। त्यसपछि १ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएकामा पूजन कन्स्ट्रक्सनले ५५ लाखमा सकारेको थियो। तीन महिनामै काम सकेपछि गाउँसभामा कन्स्ट्रक्सन प्रमुख पुरुषोत्तम लामिछानेलाई ५० हजार रुपैयाँ सम्मान गरिएको छ।

यसको काम २०३४ मा सुरु भएको थियो। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार रिबन काटेर उद्घाटन गरे। भीर र चट्टान फोडेर बनाइएको सडकमा चार दशकपछि मोटर गुडेको छ। यही सडकबाट चैनपुुर पुगी मुख्यमन्त्री पौडेल राक्सिराङको चौथो गाउँसभामा सहभागी भए। स्थानीयले मुख्यमन्त्री र जनप्रतिनिधिलाई फूलमाला र पञ्चैबाजाले स्वागत गरे। ‘यहाँका विपन्न चेपाङ र तामाङले मोटर चल्छ भन्ने आस मारिसकेका थिए’, गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने, ‘अब वर्षात्को तीन महिनाबाहेक समय यहाँका जनताले सदरमुकामबाट राजमार्गसम्म पुग्न खोला र भीरको बाटो हिँड्नुपर्दैन।’

मुख्यमन्त्री पौडेलले सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए। ‘गाउँ–गाउँमा जनप्रतिनिधि आएपछि कामहरू भएका छन्’, उनले भने, ‘यो एउटा राम्रो उदाहरण हो। यो ट्र्याकलाई स्तरीकरण गर्न प्रदेश सरकारले सहयोग गर्छ।’ प्रदेश ३ का प्रमुख विपक्षी दलका नेता इन्द्र बानियाँले आफ्नो कार्यकालभित्र कालोपत्रे हुने आश्वासन दिए।

ट्र्याक नखुल्दा हिउँदका बेला कैलाश र राक्सिराङका स्थानीय करिब २५ किलोमिटर खोलै खोला मोटरबाटो यात्रा गर्न बाध्य थिए। खोलाको बाटोमा कात्तिकदेखि जेठसम्म आठवटा बस सञ्चालन हुँदै आएका छन्। ‘हिउँदमा त खोलाबाट गाडी चल्छ’, ८ नम्बर वडाध्यक्ष रामकृष्ण चेपाङले भने, ‘वर्षात्मा भीरपाखाबाट हिँड्नुको विकल्प छैन। खोलाले बगाएर र भीरबाट लडेर यात्रुको मृत्यु हुने गरेको छ। त्यसरी मर्नुपर्ने दिनको अन्त्य हुनेमा हामी विश्वस्त छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.