ढल सीधै सुनकोसीमा

ढल सीधै सुनकोसीमा

काठमाडौं/सिन्धुपाल्चोक : किनार र आसपासका बस्ती र होटलको फोहोर सीधै नदीमा मिसाएपछि सुनकोसी प्रदूषित बनेको छ । नदी प्रदूषित हुँदा जलचर मर्न थालेका छन् भने जलयात्राका पर्यटकलाई समस्या हुने गरेको छ । सुनकोसी जलयात्रा (र्‍याफ्टिङ) का लागि विश्वकै उत्कृष्ट नदीमध्ये पर्छ तर नदीमा मानवसिर्जित फोहोर मिसाएर प्रदूषित बनाएपछि पर्यटकसमेत घट्न थालेका छन् ।

तातोपानी, बाह्रबिसे, खाडीचौर, बलेफीदेखि दोलालघाटसम्म ढल सुनकोसीमै मिसाइएको छ । सुकुटेबिच क्षेत्रका दुई दर्जन होटल र घरबाट निस्कने फोहोर पानी, शौचालयको ढल सुनकोसी नदीमा मिसाइएको छ । तातोपानी सम्मका मुख्य मार्गका सबै बजार र बस्तीको ढल सुनकोसीमा मिसाउँदा पर्यटन खस्कँदै गएकोमा पर्यटन व्यवसायी अञ्जन खड्काले चिन्ता व्यक्त गरे ।

अनियन्त्रित गिटी बालुवा उत्खननले कुरूप नदीमा प्रदूषणले पर्यटक विकर्षित हुन थालेको उनले बताए । बजार र बस्तीका घर तथा होटलका शौचालयको फोहोर नदीमा मिसाउँदा सम्बन्धित निकायले चासो नदेखाएको उनको आरोप छ।

ढलले नदी प्रदूषित बनेपछि पर्यटन मात्र हैन जलचर प्राणी र मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने सरसफाइ अभियन्ता राजेन्द्र शर्माले बताए । सेफ्टी ट्यांकी नबनाई नदीमा ढल मिसाए पनि खुला दिसामुक्त घोषणा गरिएको छ । नदी किनार र राजमार्गका होटल व्यवसायी तथा सर्वसाधारणले अटेर गरेर ढल व्यवस्थापन नगरेको बलेफी गाउँपालिका–७ का वडाध्यक्ष कार्केल लामाले बताए । ‘खाडीचौर बजारमा आसपास ढलले पूरै प्रदूषित पारेकोमा हामीले सचेत गराएका छौं’, वडाध्यक्ष लामाले भने, ‘अटेर गर्नेलाई कारवाही गर्छौं ।’

गाउँपालिकाले सरसफाइ नीति बनाउन सकेको छैन, फोहोर व्यवस्थित गर्ने कुनै तयारी समेत गरेको छैन । कानुनको बर्खिलाप भए पनि सरकारले व्यवस्थापन गर्न नसक्दा देशैभरि ढल सोझै खोलामा मिसाउने गरिएको छ।

साबुन तथा केमिकललगायत सबै कलकारखाना र शौचालयको फोहोर खोलामा मिसाउँदा प्रदूषण बढेर जलचर मर्नुका साथै सिँचाइमा प्रतिकूल असर परिरहेको छ । ढल खोलामा मिसाउँदा भूमिगत पानी प्रयोग गर्नेको स्वास्थ्यमासमेत असर परेको विज्ञहरू बताउँछन् ।

स्थानीय तहले ढल व्यवस्थापन नगर्दा चुनौती अझै बढेको छ । खानेपानी तथा ढल निकास विभागका सिनियर डिभिजनल इन्जिनियर पूर्णप्रसाद उपाध्यायले प्रदूषणबाट पानीका जीवदेखि सिँचाइसम्म असर पार्ने र दूषित पानीले अनेकौं रोग फैलाउने भएकाले ढल मिसाउन नहुने बताए । नियन्त्रण र व्यवस्थापन गर्ने कुनै अभ्यास नभएको पनि उनले स्विकारे ।

जल प्रदूषण बढ्दो भए पनि ढल सीधै खोला÷नदीमा मिसाएकोबारे कुनै अनुगमन नगरेको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलको भनाइ छ । उनले पनि देशभरि ढल व्यवस्थापन गर्न नसकेको बताए । वातावरणविद् भूषण तुलाधरले उद्योग कलकारखानाबाट उत्पादित फोहोर, घरको फोहोर पानी र शौचालयको फोहोर सिधै खोला÷नदीमा मिसाउँदा प्रदूषण बढेको बताए । उनले यसको एउटा विकल्प ढल प्रशोधन रहेको औंल्याए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.