प्रज्ञा प्रतिष्ठान कसरी बन्याे प्रतिक्रान्तिको सांस्कृतिक मोर्चा?

प्रज्ञा प्रतिष्ठान कसरी बन्याे प्रतिक्रान्तिको सांस्कृतिक मोर्चा?

भाषा, साहित्य र वाङ्मयको ‘विकास’ गर्न गठित नेपाल प्रज्ञा प्रतिष्ठान गणतन्त्रविरोधी चेतना विस्तार गर्ने सरकारी संयन्त्र भएको छ। नश्लवादी राजनीति एवं महेन्द्रीय राष्ट्रवादको संवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेका धेरै उदाहरण छन्। तीमध्ये केही प्रतिनिधि घटना समेटेर अन्नपूर्ण सम्पूर्णका लागि राजु स्याङ्तानले तयार पारेकाे सामग्री :


पहिलो, नवनियुक्त उपकुलपति डा. जगमान गुरुङको नेपाली समाज र पछिल्ला राजनीतिक परिवर्तनबारे बुझाइ। उपकुलपति नियुक्त हुनुअघि उनले दिएका अभिव्यक्तिहरू गणतन्त्रविरोधी मात्रै होइनन्, संविधानको मर्ममा प्रहार गर्ने किसिमका छन्। उनले २०७३ चैत १ गते एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै भने, ‘टुप्पी कसेर पढ्ने बाहुन सीडीओ भयो भनेर नपढ्नेले रिस गरेर हुन्छ ?’ नेपालको सामाजिक संरचनामा बहिष्करण भोगेका बाहुनबाहेकका सबै समुदायलाई अल्छी एवं बाहुनको आह्रिसले चाउरिएका मानिसहरूको समूह ठान्छन्, गुरुङ।

उनले नेपाली समाजमा जात र धर्मको आधारमा कहिल्यै विभेद नभएको दाबीसमेत गरे। ‘कहिल्यै पनि हाम्रो समाजमा जात र धर्मको आधारमा भेदभाव थिएन र छैन,’ उनले ठोकुवा गरेका छन्। नेपालमा कहिल्यै हार्ने र जित्ने पक्ष नभएको उनको तर्क छ– ‘नेपालमा कहीँ कतै जितार पनि छैन, हरूवा पनि छैन।’ अझ अघि बढेर उनी भन्छन्, ‘बाहुनहरू त वेद पढेका मात्र हैन, वेद रचना गर्ने, शास्त्र रचना गर्ने जानकार नै हुन्। नेपाल एक हुनु बाहुनहरूको रणनीति हो।’

विभेदविरुद्ध ठूला संघर्ष गरेर नयाँ संविधान लेखिएको तथ्यलाई उनले इन्कार गरेका छन्। बहिष्करणमा पारिएका समुदायलाई राज्यको मूलधारमा ल्याउन समावेशिताको व्यवस्था गरेको संविधानको मर्ममा उनले सोझै प्रहार गरेका छन्। 

नवनियुक्त उपकुलपति डा. जगमान गुरुङले दिएका अभिव्यक्तिहरू गणतन्त्रविरोधी मात्रै होइनन्, संविधानको मर्ममा प्रहार गर्ने किसिमका   छन् ।

गुरुङको व्यक्तिगत विचारसँग असहमत भए पनि उनको अभिव्यक्तिको हक सुरक्षित हुनुपर्छ। तर, यहाँनेर उठाउन खोजिएको प्रश्न फरक छ। नेपाली समाज, यो समाजलाई समतामूलक बनाउन हिजो गरिएका संघर्ष, ती संघर्षको मर्मअनुसार जारी गरिएको नयाँ संविधान र सो संविधानका आधारभूत मान्यतासमेत नबुझेको वा बुझ्न नचाहेको मान्छेले गणतान्त्रिक मूल्यको संवद्र्धन र विस्तार कसरी गर्ला ?

के उपकुलपति हुनका लागि आवश्यक योग्यता नै नेपाली समाजबारेको यति संकीर्ण बुझाइ हो ? बाहुनवाद र पञ्चायती राष्ट्रवादको बलियो पहरेदारी गर्ने मान्छेको नेतृत्वमा रहेको प्रतिष्ठानले कस्तो ज्ञान प्रवाह गर्ला, कस्तो ज्ञान उत्पादन गर्ला ?  के नेपालमा सम्पन्न भयो भनिएको राजनीतिक क्रान्तिको बीउ मास्न प्रतिष्ठानको उपयोग गरिएको हो ?   

दोस्रो, प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा देखिएको असमावेशी चरित्र। प्रतिष्ठानको असमावेशी अनुहार यस पटक पनि उस्तै रह्यो। त्यसका लागि पछिल्लो नियुक्तिको सूची आफैँमा सग्लो उदाहरण हो। जनजातिका नाममा ल्याइएका दुईचार सदस्यमध्ये माथि उल्लेख गरिएका डा. जगमान गुरुङजस्ता विद्वानको बाहुल्य छ। विसं २०१४ यता प्रतिष्ठानमा खास जाति र समुदायको हालीमुहाली थियो।

गणतन्त्रले त्यसलाई बदल्न आवश्यक थियो। सीमान्तकृत, अतिसीमान्तकृत र जातको दलन भोगेका मानिस जतिसुकै अब्बल भए पनि कहिल्यै प्राज्ञिक ठहरिएनन्। बहिष्कृत जातिमा रहेर नेपाली समाजको प्रगतिमा सहयोग गरेका स्रष्टाहरूको खोजी गर्न नसक्नु वा नचाहनु स्वयं गणतन्त्रको उपहास गर्नु हो। प्रज्ञा प्रतिष्ठान आफैँमा त्यस्तो उपहास गर्ने हतियार बन्नु दुःखदायी छ। 

तेस्रो, प्रज्ञा अवधारणाकै तेजोबध। प्रतिष्ठानको नेतृत्व मात्रै होइन, प्राज्ञसभाका सदस्यहरूको छनोट प्रज्ञा अवधारणाकै तेजोबध गर्न काफी छ। महिला साहित्यकारलाई उनीहरूको योगदान एवं साहित्यिक कर्मको आधारमा गरिनुपर्ने नियुक्तिमा समेत उस्तै हास्य प्रहसन रचिएको छ। कुन्ता शर्माहरूलाई बेवास्ता गर्दै खासै साहित्य नलेखेका मान्छेलाई टिपेर प्राज्ञ बनाइएको छ। आफ्नो क्षमतामा विश्वास गर्न नसक्ने र स्थापित कविका कविता चोरेर प्रकाशित गर्नेहरू प्राज्ञसभा सदस्यका रूपमा छनोट भएका छन्।

प्रमाणका लागि २०६६ असोज अंकको ‘गरिमा’ मासिक पत्रिकामा ‘मेरो सपना’ शीर्षकको कविता हेरे पुग्छ। उक्त कविता कवि भूपि शेरचनको ‘सधैँ सधैँ मेरो सपनामा’ शीर्षकको कवितासँग हुबहु मिल्छ। कविताका पंक्ति र शब्द मात्रै तलमाथि गरिएका छन्। भाषा, भाव, शैली जस्ताका तस्तै छन्। स्थापित सर्जकको मौलिक रचना चोरेर आफ्नो नाममा प्रकाशित गर्नु दण्डनीय मानिन्छ। तर, चोरी कविता प्रकाशित गरेर कवि बन्न रहर गर्ने ती नेकपाकी कार्यकर्तालाई अहिले प्राज्ञ बनाएर पुरस्कृत गरिएको छ। 

चौथो, जुत्ता प्रहार। प्रज्ञा प्रतिष्ठानको आँगनमा प्रश्न सोध्ने जिज्ञासु पाठकमाथि एक जना जर्नेलले जुत्ता प्रहार गरे। २०७४ पुस २७ गते प्रतिष्ठानको आयोजनामा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइयो। सोही कार्यक्रममा वक्ताका रूपमा उपस्थित थिए, नेपाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यात। उनले पृथ्वीनारायण शाहको आलोचना गरेको भन्दै एक सहभागीलाई मञ्चबाटै जुत्ता प्रहार गरे। अन्तरक्रियात्मक कार्यक्रममा रवि गुरागाईंले पृथ्वीनारायण शाहको गुनगान मात्रै भएको तर प्राज्ञिक विमर्श नभएको मत राखेका थिए।

उनीमाथि अतिथि दीर्घाबाटै पूर्वजर्नेल बस्न्यातले जुत्ता मात्रै प्रहार गरेनन्, बन्दुकले उडाइदिनेसम्मको धम्की दिए। सो कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती मञ्चासीन थिए। उनी केही बोलेनन्, न प्रतिष्ठानका अन्य सदस्यले सो हर्कतको विरोध गरे। त्यस्तो असहिष्णु वातावरण प्रतिष्ठान आफैँले तयार पारेको थियो। प्रश्नसमेत उठाउन नपाइने प्रज्ञा प्रतिष्ठान प्रतिक्रान्तिको किल्ला बनेको यही घटनाले पुष्टि गर्छ। 

पाँचौँ, पृथ्वीनारायण शाहको पूजा–अर्चना। प्रतिष्ठानले प्रत्येक वर्ष पृथ्वीनारायण शाहको तस्बिर बग्गीमा राखेर महानगर परिक्रमा गराउँछ। राज्यका अन्य कुनै पनि संस्थाले पृथ्वीनारायण शाहलाई बग्गीमा राखेर नगरपरिक्रमा गराउँदैनन्। भाषा, साहित्य र वाङ्मयको विकासका लागि गठित प्रतिष्ठानले मात्रै त्यसको एकलौटी जिम्मा लिएको छ। 

डा. जगमान गुरुङ, प्रेमसिंह बस्न्यात, सुरेन्द्र केसी लगायतका पत्रपत्रिकाबाट छापिएका लेखहरू संकलन गरी कुलपति गंगाप्रसाद उप्रेतीकै सम्पादनमा प्रतिष्ठानले पृथ्वीनारायण शाहको प्रशस्तिले भरिपूर्ण पुस्तक प्रकाशन गरेको छ। गोरखाका ती राजा नेपाली इतिहासका महत्त्वपूर्ण पात्र हुन्, देवता होइनन्। कुनै राजालाई देवतासरह पुज्ने प्रतिष्ठान गणतान्त्रिक हुन सक्दैन। उनीमाथि गहिरो ऐतिहासिक एवं प्राज्ञिक विमर्श गर्नु ज्ञानको उद्यम गर्नु हो। इतिहासमा विजेता राजाको पूजा–अर्चना गर्ने संस्थालाई ज्ञानसँग मतलब नहुनु सामान्य होला। गणतान्त्रिक व्यवस्थाका लागि भने त्यो शोभनीय काम होइन।  

छैटौँ, महेन्द्र शाहको मूर्ति स्थापना। २०६२-०६३ मा आन्दोलनकारीले प्रतिष्ठानमा रहेको महेन्द्रको शाहको शालिक फोडे। त्यो राजतन्त्रप्रतिको विरोध थियो। साथै, त्यो गणतान्त्रिक समाज स्थापनार्थ युवाहरूले प्रकट गरेको तीव्र आकांक्षा थियो। सो आकांक्षाको विरुद्धमा दत्तचित्त भएर लागेको प्रज्ञा प्रतिष्ठानले हालै महेन्द्र शाहको नयाँ मूर्ति स्थापना गरेको छ। प्रज्ञाको आँगनमा रहेका अरू साहित्यकारको मूर्ति उजिल्याउने काममा जाँगर नदेखाएको नेतृत्वले अहिले नयाँ महेन्द्र स्थापनाको हतारो किन गरेको होला ? महेन्द्र शाहले बठ्याइँपूर्वक स्थापित गरेको राष्ट्रवाद मक्किन नपाओस् र सो राष्ट्रवादी मूल्यकै आधारमा नेपाली समाज सञ्चालित होस् भन्ने प्रतिष्ठानको चाहना सो नयाँ मूर्तिमा व्यक्त भएको छ। 

माथि उल्लिखित प्रतिनिधि घटनाले देखाउँछन्– औपचारिक दस्तावेजमा लेखिएको गणतन्त्र व्यवहारमा देखिँदैन। बरु हिजो सम्पन्न भयो भनिएको राजनीतिक क्रान्तिले खनेको गोरेटोलाई बलजफती पुर्ने यत्नमा प्रतिष्ठान खुलेर लागेको छ। केही विद्वान्ले संकेत गरेजस्तो नेपालमा प्रतिक्रान्ति भइरहेको हो भने सो प्रतिक्रान्तिको औपचारिक सांस्कृतिक मोर्चा नेपाल प्रज्ञा प्रतिष्ठान नै हो। यो वर्तमानको भयानक त्रासदी हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.