आँगनमै पानी आउँदा चेपाङहरु दङ्ग

आँगनमै पानी आउँदा चेपाङहरु दङ्ग

श्यामैडाँडा (धादिङ): लामो समयदेखि खानेपानीको चरम संकट भोग्दै आएका चेपाङ बस्तीका घरघरमै खानेपानी आएपछि अहिले उनीहरु हर्षित छन् । गजुरी गाउँपालिका वडा नं ६ स्थित श्यामैडाँडाको टुप्पोमा १ सय ५५ घरधुरीको छरिएको चेपाङबस्ती छ । 

गाउँमा खानेपानीको चरम अभाव भएपछि खानेपानी माग्दै उनीहरुको धेरै ठाउँमा धाए । एक दिन गाउँका केही स्थानीयहरुले गाउँमा खानेपानी ल्याइदिन माग गर्दै तत्कालीन स्थानीय विकास अधिकारीलाई ज्ञापन पत्र बुझाए । ‘एलडीओसँग पानी माग्दै चेपाङहरु’ शीर्षकमा अन्नपुर्ण पोष्टमा समाचार प्रकाशित भएपछि श्यामै डाँडाबासीको बर्षौदेखिको खानेपानी सपना साकार हुन लागेको हो ।

खानेपानी माग्दै चेपाङहरु भन्ने समाचार पढेपछि सामाजिक सेवामा क्रियाशिल सत्य साइ संगठन नेपालले अहिले गाउँमै पानी ल्याइदिएको छ । गाउँभन्दा १० किलोमिटर टाढा रहेको गजुरी–४ भीरकटेरीमा रहेको मुहानबाट पाइप विछ्याएर गाउँसम्म पानी ल्याइएको हो । सत्य साइ संगठनका अमरबहादुर कार्कीले भने, ‘खानेपानीको चरम संकट भएको समाचार अन्नपुर्णमा पढेपछि हामीले सर्भे ग¥यौँ, पानी ल्याउन सम्भव देखिएपछि स्वयसेवाको रुपमा साइ संगठनका सदस्यहरुको योगदानमा गाउँमा पानी ल्याएका छौँ ।’

साइ संगठनका सदस्यहरुले आफ्नो स्वेच्छाले दिएको दान संकलन गरी श्यामै डाँडाबासीलाई खानेपानीको समस्या समाधान गरेको कार्कीले बताए । ‘कति खर्च लाग्यो भन्दा पनि हाम्रो मिसन जसरी पनि गाउँमा पानी ल्याउनु थियो, स्वेच्छाले दिएका चन्दा संकलन गरेर त्यो पुरा भयो, अव केही काम बाँकी छन्, त्यो पनि पुरा हुनेछ ।’ 

साइ संगठनले खानेपानी सँगै अन्य क्षेत्रमा पनि काम गरिरहेको छ । आँखाको शिविर चलाएर २६ जनालाई निशुल्क अपरेशन, कुपोषणप्रति चेतना, रक्सी सेवनका बेफाइदा, बालबालिका स्कुल छाड्ने जस्ता समस्याहरुको रुपान्तरणको लागि काम गरिरहेको कार्कीले बताए । 

आँगनमै पाइपमार्फत पानी आएपछि स्थानीयहरुमा खुसीको सीमा छैन । पुराना दिन सम्झदै वडा सदस्य समेत रहेकी संगीता चेपाङले भनिन, ‘एक गाग्री पानी लिन मध्य रातदेखी कुवा छेउमा आगो तापेर पालो कुनुपथ्र्यो । तर अहिले आँगनमै पाइपबाट पानी झर्दा सपना जस्तै लाग्छ ।’ पहिले पहिले घरको एकजना पेटभरि पिउने पानीको जोहो गर्नको लागि विहान उठेदेखी खट्नुपर्ने अवस्थामा अहिले त्यो समस्या हटेको संगीताले बताइन् ।

गाउँमै खानेपानी ल्याइएपछि चेपाङहरुको जीवनशैली समेत परिवर्तन भएको छ । चेपाङहरुको खाद्य अधिकार, खानेपानी माग्नको लागि सहजीकरण, पुरा गर्नुपर्ने प्रक्रियाको विषयमा लामो समयदेखि वकालत गर्दै आएको खाद्य अधिकार जिल्ला संजाल (फियान) नेपालका राजेन्द्र बस्नेतले भने, ‘पहिलेका वर्षहरुमा हिउँदको समयमा उजाड देखिने चेपाङहरुको करेसाबारी अहिले हरिया भएका छन्, सवैको घर घरमा आफुलाइ आवश्यक पर्ने सागपात र तरकारीहरु समेत लगाएका छन् ।’

७३ वर्षिय गोमन बहादुर चेपाङले आँगनको धारामै पानी थापेर खान पाइएकाले खुशी लागेको बताए । ‘गाउँमा खानेपानी ल्याउन दौडधुप गरेको देख्दा पानी आउँछ भनेर विश्वासै लागेको थिएन, वर्षाैदेखिको खानेपानी समस्या समाधान भएपछि बालबच्चालाइ समयमा नै स्कुल पठाउन, खेतवारीमा काम गर्न घाँस दाउरा गर्न समेत सजिलो भएको छ ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.