क्रिश्चियनको आडमा कम्युनिष्टले हिन्दु धर्म मास्यो : पशुपति शमशेर
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर जबराले कम्युनिष्ट नेतृत्वको सरकार हिन्दु धर्म मास्ने अभियानमा लागेको आरोप लगाएका छन् ।
एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीसँगको एकता कार्यक्रममा बोल्दै राणाले दुई पार्टी मिलेपछि राप्रपा विचारधाराको संस्थापन आफूहरु भएको जिकिर गरे । 'हामी कमल थापाको राप्रपा र लोकेन्द्रबहादुर चन्दलाई पनि यो पार्टीमा आउन अनुरोध गर्छौँ', उनले भने, 'यो एकताको सुरूवात मात्र हो अन्य भंगालो आएर हामी विशाल महाकाली बन्छौँ।'
राणाले केपी ओली नेतृत्वको सरकारले जनताको आशा निराशामा बदलेको आरोप पनि लगाए। स'रकारको दश महिने कार्यकाल शून्य अवस्थामा छ, यो भ्रष्ट सरकार हो', राणाले भने, 'कम्युनिस्ट पार्टीले भ्रष्टाचार विकेन्द्रीकरण गरेर नगर र गाउँमा पुर्याएको छ', उनले भने, 'कम्युनिस्टले चुनावमा सिंहदरबारको अधिकार गाउँमा पुर्याउछौँ भनेका थिए।तर भ्रष्टाचार घरघरमा पुर्याए।'
अनशनरत प्रा.डा. गोविन्द केसीको ज्यान खतरामा परिसक्दा पनि सरकारले असंवेदनशील काम गरेको आरोप उनले लगाए । 'सरकारले आफूलाई कम्युनिस्ट भनेको छ तर क्रिस्चियन धर्मको कार्यक्रममा सम्पूर्ण सरकारी शक्ति प्रयोग गर्ने ? के त्यसकै लागि जनताले बहुमत दिएको हो ?', उनले प्रश्न गरे 'ठूला पार्टीले हिन्दु राष्ट्रको पहिचान मेटे । ९४ प्रतिशत ओमकार परिवार रहेको देशमा हिन्दुराष्ट्र पुन:र्स्थापना गर्छौँ । त्यसका लागि हामी सडकमा जान्छौँ।'
राणाले आफूहरुले अरू धर्मलाई असर नपुर्याउने स्पष्टीकरण दिए । उनले कम्युनिस्ट सरकारका कारण परराष्ट्र नीति सन्तुलन डगमगाएको पनि बताए ।'अपरिपक्व परराष्ट्र नीति सरकारले चलाएको छ। भेनेजुएलाको आन्तरिक विषयमा बोलेर सन्तुलित परराष्ट्र नीति बिगार्न खोजेको छ', उनले भने, 'देशको ढुकुटी रित्तिएको छ, सरकारलाई मतलब छैन, बिलाशी खर्चमा सरकारले ध्यान दिएको छ।'
राणाले सम्पूर्ण प्रजातान्त्रिक शक्तिलाई बृहत्त एकता गरेर सरकारको विरोध गर्नुपर्नेमा जोड दिए । 'चाहे त्यो नेपाली कांग्रेस होस् या मधेसवादी दल अब हामी एक भएर सरकारको विरोध गर्नुपर्छ', राणाले भने ।