टीकापुर खक्रौला सडक विस्तारको काम छिटै सुरु हुन्छ : मन्त्री महासेठ
टीकापुर : भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठले देशको विकास निर्माणमा वर्तमान सरकार लागिपरेको बताएका छन्। कैलालीको टीकापुरमा आयोजित टीकापुर महोत्सव उद्घाटन गर्दै मन्त्री महासेठले सो कुरा बताएका हुन्।
जनताले वर्तमान सरकारलाई दुई तिहाईको बहुमत दिएर निर्वाचित गरेको उल्लेख गर्दै मन्त्री महासेठले भने, 'देशको विकास विना समृद्ध नेपाल, सुखी नेपाली सम्भव छैन, त्यसकारण विकास सरकारको मुख्य दायित्व हो।'
वर्तमान सरकारले विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाएको बताउँदै महासेठले हुलाकी राजमार्ग, पूर्वपश्चिम रेलमार्ग, पानी जहाजको काम अगाडि बढिसकेको बताए। 'सरकारले हुलाकी राजमार्ग, पूर्वपश्चिम रेलमार्ग र पानी जहाज सञ्चालनको काम अगाडि बढाइसकेको छ,' मन्त्री महासेठले भने, 'देशमा पूर्वाधारको विकास नभएसम्म जनता सुखी हुन सक्दैनन्।'
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको टीकापुर महोत्सवमा टीकापुरबासीले लम्की टीकापुर खक्रौला सडकलाई चारलेन सडक बनाइनुपर्ने माग राखेका थिए। उक्त मागलाई यसै आर्थिक वर्षको बजेटमार्फत् निर्माणको कार्य थालनी गर्ने मन्त्री महासेठको दावी छ। शुक्रबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुनेछ।