२७ देशका एक सय ८० खेलाडी पोखरामा
पोखरा : अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागी हुन २७ देशका सयभन्दा बढी खेलाडी पोखरा आइपुगेका छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा शनिबारदेखि शुरु हुने १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगितामा भाग लिन विभिन्न राष्ट्रका खेलाडीहरु पोखरा आइपुगेका हुन् ।
प्रतियोगितामा जापान, चीन, भारत, अष्टे«लिया, ताइवान, श्रीलंका लगायतका राष्ट्रका खेलाडी पोखरा आएका हुन् । बाँकी देशका खेलाडी आउने क्रम जारी रहेको छ । प्रतियोगिताको मुख्य ३२ ‘ड्र’ को खेल सोमबारदेखि शुरु हुँदैछ । त्यसका लागि २७ राष्ट्रका १ सय ८० भन्दा बढि पोखरा आउने प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए ।
पोखरामा उपलब्ध टेनिक कोर्ट अनुसार ३२ को ड्र मा मात्र खेल खेलाउन सकिने भएकाले प्रतियोगितामा भाग लिन चाहेबमोजिमका खेलाडीहरुलाई बोलाउन नसकिएको उनले सुनाए । मुख्य ड्र भन्दा खेलाडी संख्या बढि भएकाले माघको १९ र २० गते पूर्वछनौंट खेल खेलाउन लागिएको संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी दिए । सिंगल र डबल्स गरि दुई इभेण्टमा हुने प्रतियोगितामा विजयी खेलाडीले आइटीएफको २ सय ५० अंक प्राप्त गर्नेछन् ।
पोखरामा आयोजना भएका प्रतियोगिताहरु मध्ये यो अहिले सम्मकै उच्चस्तरको प्रतियोगिता भएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले बताए । खेल पर्यटनका लागि मात्र नभएर गुणस्तरीय पर्यटननिम्ति टेनिस प्रतियोगिता महत्वपूर्ण रहेको पर्यटन व्यवसायी समेत रहेका संघका अध्यक्ष लामाले बताए ।
प्रतियोगिता सम्पन्न गर्न झण्डै १४ लाख ४० हजार खर्च लाग्ने संघ कास्कीको अनुमान रहेको छ । प्रतियोगितामा खेलाडीका अभिभावक, कोच सहित गरेर ठुलो संख्यामा आउने भएकोले प्रतियोगिताका कारण पोखराको पर्यटन प्रवद्धन समेत सघाउ पुग्ने उनले बताए ।