सन्दीपको कीर्तिमानले गाउँभरि खुसी
भीमदत्त नगरपालिकाको वडा नम्बर ४ गोबरियामा जोराको एकतले घर छ । सन्दीपका ठूला बुवा देवबहादुर जोरा र कान्छा बुवा तर्कबहादुर जोरा घरको बाहिर बसेर आफन्त र छिमेकीसंग खुशी साटिरहेका थिए ।
‘यही घर नजिकैको नहर छेउको मैदान हो, शम्भु (घरमा बोलाउने नाम)ले काठको ब्याट समातेर खेल्ने गथ्र्यो’ कान्छो बुवा तर्क बहादुर जोराले भने । ‘पहाडबाट झरेका हामीहरुलाई त के नै थाहा थियो, उसले सानैदेखि निकै रुचि राखेर खेलिरहन्थ्यो, आज ठूलो सफलता हात पारेको छ ।’
सन्दीपको छिमेकमै बिवाहको कार्यक्रमसमेत चलिरहेको छ । सोही बिवाह समारोहमा सरिक भएकी सन्दिपकी आमा राधादेवी जोरालाई बधाई थाप्न भ्याई नभ्याई भयो । ‘खेलबारेमा थाहा पाए जति सबैले बधाई दिए’ उनले भनिन्, ‘मैले जहिले पढ्न छोडेर किन त्यसका पछि लाग्छस्, भनेर रिसाउथे’ छोराको कीर्तिमानीपछि खुशी हँुदै उनले भनिन्, ‘पढाई पनि गर्छु, र मलाई क्रिकेटपनि खेल्न दिनुस भन्थ्यो, मेहनतले कीर्तिमानी बनायो ।’
बिीहवार छोराले खेलेको खेल हेर्न नपाए पनि उनले साँझ नै छोराले कीर्तिमान राखेको भन्ने खबर पाइसकेकी थिइन् । साँझ सबै घर परिवार बसेर खुशी साटासाट गरे । बिहीवारको खेलमा सहभागी हुनु अघि उनले छोरासंग फोनमा कुराकानी गरेकी थिइन् ।
‘क्रिकेट खेलका बारेमा केही बुझेकी छैन्, छोराको एकपछिको अर्को सफलताले खुशी भने मिलेको छ’उनले भनिन् । घरदेखि ठाउँ–ठाउँमा विभिन्न खेलहरु खेल्न जाने र राम्रो खेलेको देख्दा खुशी हुने गरेकी राधादेवी अहिले छोराको खेल देखेर सन्तुष्ट भएको बताइन ।
पहाडमा, डडेल्धुराको भागेश्वर गाउँपालिका १ लिउड घर भएका सन्दिपको परिवार २०५४ मा कञ्चनपुर बसाई सरेको हो । सन्दिपको जन्म कञ्चनपुरमै भएको हो । स्थानीय ग्वालेक स्कुलबाट एसएलसी उर्तिण गरेका उनले महेन्द्रनगरकै आर्दशबाट कक्षा १२ पास गरे । उनी गत जेठबाट एपीएफमा आबद्धसमेत भइसकेका छन् । सानैदेखि खेलसंगै पढाईमा समेत सन्दीप अब्बल रहेको आमा राधादेवीले बताईन् । उनी परिवारका दोस्रो सन्तान हुन् । उनका जेठा दाई दिलीप जोरा बीएसस्सी र बहिनी मनिसा बीबीए प्रथम सेमेष्टरमा अध्ययनरत छिन् ।
सन्दिपका बुवा चितेन्द्र बहादुर जोरा नेपाल प्रहरीको अवकाश प्राप्त हवल्दार हुन् । अवकाश पश्चात केही समय सानो व्यवसाय गरेका उनी पछि सो व्यवसाय छाडेर भारत लागे । अहिले भारतको गुजरातमा सुरक्षागार्डको रुपमा उनी कार्यरत रहेका छन् । ‘उसको बुवालाई छोराको खेलका बारेमा सबै जानकारी छ, हेरिराख्नुहुन्छ’ आमाले भनिन । ‘छोरोले कीर्तिमानी बनाएपछि सबैतिर खुशि छाएको छ ।’
सन्दीपलाई सानैदेखि क्रिेकटको प्रशिक्षण दिएका प्रशिक्षक पनि उनको कीर्तिमानीले गर्भ महशुस भएको बताउँछन् । क्रिकेटका राष्ट्रिय एम्पाएर एवं कञ्चनपुर क्रिकेट एकेडेमीका प्रशिक्षक गणेश आग्रीले भने ‘आठ वर्षको उमेर देखि नै सन्दिप मेरै एकेडेमीमा क्रिकेट खेल्न थालेका हुन, सन्दीप ब्याटिङ मात्रै होइन् बलिङमा समेत त्यतिकै उत्कृष्ट खेलाडी हुन् ।’
सन्दिप संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्ध बिहीबार दुबईमा भएको पहिलो टी–ट्वेन्टी खेलमा ४६ बलमै अबिजित ५३ रन प्रहार गर्दै सबैभन्दा कान्छो उमेरमा अर्धसतक प्रहार गर्ने कान्छो खेलाडी बनेका हुन् ।
उनले क्रिकेट इतिहासमा नयाँ कीर्तिमान राखेर आफ्नो नाम दर्ज गरेका हुन् । उनले १७ वर्ष एक सय तीन दिनको उमेरमा टी–ट्वेन्टी खेलतर्फ अर्धसतक प्रहार गरेका हुन् । उनको यो प्रदर्शन कीर्तिमानको रूपमा दर्ज भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत पुष्टि गरिसकेको छ ।