विकास सरकारको जिम्मेवारी होः मन्त्री महासेठ
टीकापुर : भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठले देशको विकास निर्माण वर्तमान सरकारको जिम्मेवारी भएको बताएका छन् । कैलालीको टीकापुरमा आयोजित टीकापुर महोत्सवलाई उद्घाटन गर्दै मन्त्री महासेठले यस्तो बताएका हुन् ।
जनताले वर्तमान सरकारलाई दुई तिहाईको बहुमत दिएर निर्वाचित गरेको उल्लेख गर्दै मन्त्री महासेठले भने ‘देशको विकास विना समृद्ध नेपालः सुखी नेपाली सम्भव छैन, त्यसकारण विकास सरकारको मुख्य दायित्व हो ।’
वर्तमान सरकारले विकास निर्माणलाई तिब्र गतिमा अगाडि बढाएको बताउँदै महासेठले हुलाकी राजमार्ग, पूर्वपश्चिम रेलमार्ग, पानीजहाजको काम अगाडि बढिसकेको बताए । ‘सरकारले हुलाकी राजमार्ग, पूर्वपश्चिम रेलमार्ग र पानी जहाज सञ्चालनको काम अगाडि बढाई सकेको छ’ मन्त्री महासेठले भने । ‘देशमा पूर्वाधारको विकास नभएसम्म जनता सुखी हुन सक्दैनन् ।’