जापानलाई हराउँदै कतार एएफसी एसियन कप च्याम्पियन
काठमाडौँ : युएईमा भइरहेको एएफसी एसियन कप च्याम्पियन्स फुटबलको उपाधि कतारले जितेको छ । युएईको जायद स्पोर्टस सिटी स्टेडियममा भएको उपाधि भिडन्तमा कतारले एसियाको पावर हाउस जापानलाई ३–१ ले स्तब्ध बनाउँदै उपाधि उचालेको हो ।
कतारलाई जिताउने क्रममा खेलको १२ औँ मिनेटमा अक्रम अफिफको सहयोगमा अलमोएज अलीले पहिललो गोल गरे । त्यसपछि खेलको २७ औँ मिनेटमा कतारले हतिम अब्देलाजिजले अर्को गोल थपे । उनले अक्रम अफिफकै पासमा गोल गर्दै खेललाई २–० मा पुर्याए ।
पहिलो हाफमा २–० को अग्रता बनाएको कतारले दोस्रो हाफमा एक गोल थप्यो । खेल अवधिभर ६० प्रतिशत बल पोजेसन बनाएको जापानका लागि खेलको ६९ औँ मिनेटमा ताकुमी मिनामिनोले युया ओसाकोको पासमा गोल गर्दै खेललाई २–१ मा ल्याइ पुर्याए ।
तर कतारले खेलको ८३ औँ मिनेटमा पेनाल्टी पायो । यो पटक पहिलो हाफमाा २ गोलका लागि पास उपलब्ध गराएका अक्रम अफिफले गोल गरेपछि कतार ३–१ ले अघि बढ्यो । त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा कतारले एसियन कपको उपाधि आफ्नो घरमा भित्र्यायो ।
कतारले यसअघि सन् २०११ को एसियन कप फाइनलमा जापानसँग भोगको ३–२ को हारको बदला पनि लिएको छ । उपाधि यात्रासम्म पुग्ने क्रममा कतारले यसअघि सेमिफाइनलमा घरेलु टोली युएईमाथि ४-० को फराकिलो जित दर्ता गराएको थियो ।
त्यस भन्दाअघि क्वार्टरफाइनलमा कतारले जापानलाई जस्तै दक्षिण कोरियालाई हारको स्वाद चखाएको थियो । कतारले क्वार्टरफाइनलमा दक्षिणकोरियालाई १-० ले हराएको थियो । सन् २०२२ को विश्वकप आयोजक देश कतारले एसियन कप फुटबलको उपाधि उचाल्दै एसियाली क्षेत्रमा नयाँ पावर हाउस प्रष्ट सन्देश दिएको छ ।
कतारसँग फाइनलमा पराजित जापान भने इरानलाई ३-० ले हराएर फाइनल पुगेको थियो । विश्वकपमा गतिलो खेल खेलिसकेका जापान र कोरिया दुवै यो पटकको एसियन कपमा कतारसँग स्तब्ध बन्न पुगे ।
नाकाबन्दीले छोएन
आफूहरुले भनेको नमानेको भन्दै अमेरिकी इशारामा सानो खाडी मुलुक कतारमा साउदी अरेबिया र उसको प्रभाव क्षेत्रका अन्य छ वटा छिमेकीले २०७४ जेठदेखि नाकाबन्दी लगाइरहेका छन् । तर छिमेकी देशको नाकाबन्दीको कुनै प्रवाह नगरी कतारले आफूलाई हरेक क्षेत्रमा अगाडि बढाइरहेको छ ।
विश्वको सबैभन्दा लोकप्रिय फुटबलको विश्वकप सन् २०२२ मा आयोजना गर्ने तयारीमा रहेको कतारले आफूमाथिको नाकाबन्दीलाई बेवास्ता गर्दै तयारीमा जुटिरहेको छ । पूर्वाधारमा खर्बौँ लगानी गरिरहेको कतारले एसियन कपको उपाधि उचाल्दै आफ्नो टिमलाई पनि बलियो बनाएको प्रष्ट सन्देश दिएको छ ।
२०७४ जेठमा साउदी, बहराइन र युएईले एक्कासी कतारसँग कूटनीतिक सम्बन्ध तोड्दै जल, जमिन र हवाई सम्पर्क पनि विच्छेद भएको घोषणा गरे। साउदीको नाकाबन्दीपछि स्थलमार्गले जोडिएको त्यतसर्फको व्यापारिक नाका बन्द भए पनि कतारले उनीहरुसँग घुँडा नटेकी अघि बढिरह्यो । कतारले विश्वसमुदायलाई यी ६ देशको नाकाबन्दीले आफूलाई केही फरक नपरेको सन्देश दिइसकेको छ ।