चट्टान फोडेर बेपत्तासम्म
धादिङ : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्।
हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा उनीहरू सम्पर्कविहीन भएका थिए। उक्त क्षेत्रमा अघिल्लो शुक्रबारदेखि हिउँ परेको थियो। घटना भएको दिन आइतबार पनि बिहानदेखि बाक्लो हिमपात भएको थियो। चट्टान खसेर ओडारको मुख टालिएपछि उनीहरूको अवस्था पत्ता लगाउन पाँच दिन लागेको हो।
सशस्त्र प्रहरी धादिङका गुल्मपति दर्शन गिरीका अनुसार ‘भत्किएको संरचनामा खोज तथा उद्धार’ तालिमप्राप्त सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत नेतृत्वको टोली खटिएको थियो। बेपत्ताको उद्धारका लागि १६ सशस्त्र र ६ प्रहरी खटिएका थिए। प्रहरी निरीक्षक बस्नेतले भूकम्पका बेला काठमाडौंका भग्नावशेषबाट स्थानीयलाई ५–७ दिनपछि पनि जीवितै उद्धार गरेका थिए। ओडारभित्रको खोंचबाट पनि चारवटा बाख्रा भने जीवितै उद्धार गरिएको उनले सुनाए।
‘जीवितै उद्धार गर्ने आशा राखेर काम गरे पनि गोठालाहरू मृत भेटिँदा दुःख लाग्यो’, उनले भने, ‘चार दिनदेखिको मिहिनेतका बाबजुद अवस्था पत्ता लगाउन सकेकोमा अर्कोतर्फ खुसी पनि लाग्यो।’ स्थानीयको सहयोगमा उपकरण र शव गाउँसम्म बोकेर ल्याएको जानकारी उनले दिए। भने, ‘उनीहरूको शव शुक्रबार बिहान आफन्तलाई बुझाएर घटनास्थलबाट ब्यारेक फर्कियौं।’
उनका अनुसार भेंडाबाख्रासहित गोठाला पुरिएको खबर पाएपछि उद्धारमा जान तयार रहन निर्देशन आएको थियो। ‘पानी परिरहेका बेला सोमबार हामी सेनाको हेलिकप्टरमार्फत घटनास्थलतर्फ लाग्यौं। हेलिकप्टरबाट झरेर पनि १ घण्टा हिँडेपछि घटनास्थलमा पुग्यौं’, उनले भने, ‘घटनास्थल देखेपछि कहाँबाट काम सुरु गर्ने भनेर हामी अलमलमा पर्यौं।’
उनका अनुसार ओढारको मुखको नामनिशाना थिएन। ठुल्ठूला चट्टान मात्र थिए। ‘हामीसँग ढुंगा फुटाउने हाते सामग्री, मेसिन चलाउन लगेको जेनेरेटरभन्दा अरू केही थिएन’, उनले भने, ‘अरू सामान लैजान सम्भव पनि थिएन। भग्नावशेषको प्रकृति र ठूला चट्टान देख्दा त यहाँ मान्छे होलान् र भन्ने शंका पनि लाग्थ्यो।’
सुतेकै ठाउँमा ढुंगा–माटोले पुरेछ
लक्ष्मण बस्नेत, सशस्त्र प्रहरी निरीक्षक
सामान्यतः ओडार भन्नेबित्तिकै हामी कुलोजस्तो तेर्सो बुझ्छौं। तर, गोठालाहरू पुरिएको ओडार फरक रहेछ। माथिपट्टि ढिस्को, ओडारको मुखबाट छिरेपछि तलतिर गहिराइ रहेछ। गोठालाहरू आइतबार बिहानदेखि सम्पर्कमा थिएनन्। जतिसक्दो छिटो उनीहरूको अवस्था पत्ता लगाउनु थियो। एक छेउबाट चट्टान फुटाउँदै हामीले भुइँ खोतल्ने प्रयास गर्यौं। हामीले काम सुरु गरेपछि स्थानीय युवा पनि एकजुट भएर हामीलाई सघाउनुभयो।
ओडारमा जति बेला पनि ढुंगा खस्न सक्ने अवस्था थियो। सुरक्षा सामग्री नभएका कारण हामीले भित्र काममा लगाएनौं तर स्थानीयले धेरै सहयोग गर्नुभयो। हामीले ढुंगा फुटाउँदै बाहिर निकाल्दै गयौं। एक छेउबाट ढुंगा फुटाउन भुइँ भेटाउन सकियो भने बेपत्ताको अवस्था पत्ता लगाउन सहज होला भन्ने लाग्यो। दिनभरजसो ढुंगा फुटाउँदै भुइँ खोतल्दै थियौं। रात परेपछि हामी ओडारनजिक बास बस्यौं। गाउँ पुग्न एक–डेढ घण्टा लाग्छ। उज्यालो हुनेबित्तिकै काम गर्न सजिलो होस् भनेर नजिकै सुरक्षित ओडारमा बस्यौं।
उद्धारको चौथो दिन उद्धारकर्ताको हौसला बढाउन मैले भनें, ‘यो भौगोलिक विकटता रहेको ठाउँमा हामीले पनि उद्धार गर्न सकेनौं भने अरू कोही आएर उद्धार गर्न सक्ने अवस्था छैन। हामीले जति समय लगाएर भए पनि सास या लास निकाल्नै पर्छ।’
च्यापिएर मरेका भेंडाको गन्ध आउन थालिसकेको थियो। खोतल्दै जाँदा केही दुलो फेला पार्यौं। ढुंगै ढुंगाले टाँड परेको दुलो पछ्याउँदै बिहीबार दिउँसो २ बजेतिर चारवटा बाख्रा जीवितै निकाल्न सफल भयौं। धेरैजसो भेंडाबाख्रा च्यापिएको अवस्थामा देखियो। गोठालालाई पनि जीवितै फेला पार्न सकिने आशा बढ्यो। त्यसपछि सबै जना ढुंगा पल्टाउन र गोठालाको खोजीका लागि हौसियौं।
साँझ ७ बजेतिर बाख्रा निकालेको ठाउँभन्दा अलिक पर ढुंगाले च्यापिएको अवस्थामा पातलो कम्बल देखियो। कम्बल काटेर हेर्दा दुई जनाको शव एकै ठाउँमा भेटियो। सँगै सुतिरहेका बेला दुवै जनालाई ढुंगा र माटोले पुरेको रहेछ। उनीहरूको शवलाई सुतेकै पोजिसनमा फेला पारियो। शव र घटनास्थलको प्रकृति हेर्दा उनीहरूले भाग्ने, चल्ने, चटपटाउने मौका नपाएजस्तो देखियो। एकै पटकमा झ्याप्पै पुरिएका रहेछन्।
( कुराकानीमा आधारित )