कसरी सामना गर्ने जलवायु परिवर्तन ?

कसरी सामना गर्ने जलवायु परिवर्तन ?

विकसित देशमा भएका औद्योगिक क्रान्ति, वन विनाश, सहरीकरण, आणविक भट्टीहरूको स्थापना र सुविधाजनक जीवनशैलीका कारण अत्यधिक मात्रामा कोइला र पेट्रोलियम पदार्थको प्रयोगबाट कार्बन उत्सर्जनका साथै हानिकारक हरितगृह ग्यासहरू (कार्बनडाइअक्साइड, नाइट्रिक अक्साइड, मिथेन, हाइड्रोफ्लोरोकार्बन, सल्फरहेक्जाफ्लोराइड र पानीका वाष्पहरू) उत्पादन भई पृथ्वीको तापमान बढ्ने क्रम जारी छ।

 तापमान बढेसँगै यसबाट उत्पन्न जलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असर धेरै क्षेत्रमा देखिन थालेका छन्। जलवायु परिवर्तनको असरले मुख्यगरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधारजस्ता क्षेत्रमा प्रभाव पारेको देखिन्छ।

हरितगृह ग्याँस उत्सर्जनमा नेपालको ०.०२७ प्रतिशत मात्र भूमिका रहे पनि जलवायु परिवर्तनका असरबाट भने सबैभन्दा असर खप्नुपरेको छ। मनसुनी वर्षामा आधारित कृषि प्रणालीमा अतिवृष्टि र अनावृष्टिका कारण खाद्य असुरक्षा बढ्दो छ। चाँदीजस्तै टल्किने हिमशृंखलाले नेपाललाई संसारमा चिनाउनुका साथै पर्यटन व्यवसायबाट राज्यलाई आर्थिक लाभ दिएका छन्। तिनीहरू पग्लिने क्रम जारी छ। यसबाट पर्यटन, ऊर्जा र जलस्रोतमा कस्तो असर पर्ला ? सुक्खा खडेरीका कारण धेरैजसो पानीका मुहान सुकी पिउने पानीको अभाव भएको छ।

जसले गर्दा पहाडी क्षेत्रबाट बसाइँसराइ बढेको छ। यसबाट तराईको वन तथा जैविक विविधता नाश हुने क्रम बढ्दो छ। वन व्यवस्थापनको अभावमा वन डढेलोले तीव्रता पाएकोे छ। नयाँ र नामै नसुनेका रोगले मानव मात्र होइन, जनावर र वनस्पति जगत् आक्रान्त बन्न पुगेका छन्। विदेशीको सहयोगमा बल्लतल्ल बनेका भौतिक पूर्वाधार बाढीपहिरोको चपेटामा पर्दै आएको तथ्य विदितै छ।

जलवायु परिवर्तनले जुनसुकै क्षेत्रमा असर पारेको भए पनि यसबाट प्रत्यक्ष प्रभावमा पर्ने भनेको खासगरी गरिब देश र त्यहाँका विपन्न जनता हुन्। त्यसमा पनि वृद्घ, महिला, बालबालिका र अशक्त बढी जोखिममा पर्छन्। यस सम्बन्धमा जतिपटक सभा, सेमीनार, गोष्ठी र सम्मेलन तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गरे पनि ठूला र धनी राष्ट्रले औद्योगिक कलकारखाना, वनविनाश, सहरीकरण, आणविक भट्टीहरूको स्थापना र सौखिन जीवनशैलीमा संयमता नअपनाएमा यो चर्चाको विषय मात्र बन्ने छ।

हाम्रा छिमेकी दुई शक्ति राष्ट्रहरूले द्रूततर गतिमा औद्योगिक क्षेत्रको विस्तार गर्दैछन्। उनीहरूले जलवायु परिवर्तनको समस्या आत्मसातसम्म गरेका छन्। हरित गृह ग्यास उत्सर्जनको करिब १५ प्रतिशत हिस्सा ओगट्ने अमेरिकालाई भने नेपालका हिमाल पग्लिएको, खडेरीले नेपालीहरू भोकमरीमा परेको, अतिवृष्टिका कारण पहिरो र बाढीले जनधनको क्षति भएको, महामारीले हजारौं नेपालीले ज्यान गुमाउनुपरेको स्थितिसँग सरोकार राखेको पाइँदैन।

नेपालजस्तो सानो र गरिब मुलुक आन्तरिक तथा बाह्य कारणबाट उत्पन्न वातावरणीय प्रदूषणले प्रभावित छ। यसबाट उन्मुक्ति पाउन धेरै चुनौतीको सामना गर्न हामीले समयमा संयम अपनाएनौं भने भविष्यमा झन् कठिन परिस्थिति नआउला भन्न सकिँदैन। नेपालले बाह्य तत्वबाट उत्पन्न पर्यावरणीय प्रदूषणबाट हुने जोखिमका साथै आन्तरिक पर्यावरणमा धेरै ध्यान पुर्‍याउन जरुरी देखिन्छ।

चुरे तथा तराईका वनजंगल विनाश, वन अतिक्रण, नदीनालाको अत्यधिक दोहन, वन डढेलो, खोरिया फडानी, बसाइँसराइ, वन्यजन्तुको चोरीनिकासी, अनियन्त्रित सहरीकरण, अत्यधिक सवारी साधनको प्रयोग तथा प्राकृतिक सम्पदा विनाशका कार्यबाट भयावह स्थिति उत्पन्न भएका छन्। परम्परालाई निरन्तरता दिने निहँुमा दाहसंस्कारका लागि दाउराको प्रयोग हुँदा वनजंगलको विनाश त भएकै छ, साथसाथै कार्बन उत्पादनमा वृद्घि भइरहेको छ। राजधानीको मुटु काठमाडौंको पशुपतिमा मात्रै जलाइने दाउराले दैनिक कार्बन उत्पादन भई वायु प्रदूषण बढाएको छ।

विद्युतीय दहन गृहको व्यवस्था भए पनि अन्धविश्वासका कारण धेरैले दाउराको प्रयोग गर्ने गरेको पाइएको छ। मृत्युु संस्कारमा दाउरा प्रयोग गरिने कार्यले वायुमण्डलमा प्रदूषण, नदीमा प्रदूषण, वनजंगलको विनाश, दाउरा ढुवानीमा इन्धन प्रयोग र समयको खर्चले समाजलाई कत्तिको फाइदा पुर्‍याउँछ भन्नेबारे सबैले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ।

दातृराष्ट्रहरूको आर्थिक सहयोगमा माथिल्लो ओहोदाका कर्मचारीले ठूलो धनराशि खर्चेर केन्द्रमा बसी योजना नबनाएको पनि होइन। केही गाउँमा जलवायु परिवर्तनबाट अनुकूलित हुन स्थानीय अनुकूलन योजना पनि बनाउने काम त भएको हो। तर विडम्बना योजना कार्यान्वयन हुन पाउँदानपाउँदै कार्यक्रमहरू टुंगिन्छन्। यसबाट एकातिर ठुलो धनराशि खर्चेर बनाएका योजनाहरूको अस्तित्व नै धरापमा पुग्ने गर्छ भने अर्कोतिर जनस्तरमा आएको चेतना, उत्साह र काम गर्ने जाँगर पनि हराएर जान सक्छ। योजना बनाएर मात्र हुँदैन, सिंगो राष्ट्र, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, वातावरण क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्था र जनता स्वयं यसको समाधानमा हृदयदेखि नै लाग्नु अत्यावश्यक भइसकेको छ।

जलवायु परिवर्तन रोक्न सकिने विषय होइन। यसबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने र वहन क्षमतामा वृद्धि गरी अनुकूलित हुँदै आफ्नो जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने प्रयास गर्नु आजको आवश्यकता हो। हाम्रो देश प्राकृतिक स्रोतमा (जल, जमिन र जंगल), जैविक विविधता, मानव तथा सांस्कृतिक विविधतामा धनी छ। उपलब्ध स्रोत र साधनको सही सदुपयोग गर्न सके वहन क्षमतामा वृद्धि गरी जोखिम न्यूनीकरण गर्न त्यति कठिन पनि छैन। जैविक विविधता हाम्रो जीवन हो। यसको संरक्षण वन क्षेत्रको संरक्षण र संवद्र्धन गर्न सकेमा स्वतः हुन्छ। यसबाट कार्बन शोषणका साथै बाढी, पहिरो र पानी समस्या कम गर्न सकिन्छ।

वन डढेलोले वन तथा आवास क्षेत्रमा समेत क्षति पुर्‍याइरहेको हुँदा यसको रोकथाम गर्न समुदाय स्तरमा चेतना फैलाउनु अपरिहार्य देखिन्छ। विकासका पूर्वाधारका रूपमा रहेका भौतिक संरचनाहरू पर्यावरण अनुकूलित हुने किसिमले बनाउने साथै बनाएका स्थानमा माटो जोगाउन भूसंरक्षणका उपायहरू (बाँस, निगालो, अम्रिसो, उत्तिस, बाबियो तथा उन्नत घाँसहरू रोप्ने) अपनाई दिगो बनाउने, खाली जग्गा वा स्थानमा वृक्षरोपण गरी हराभरा बनाउने, पानीका स्रोत संरक्षण गर्न मुहानवरपरका क्षेत्रका रूख नकाट्ने, इन्टेक बनाउने, पहिरो नियन्त्रणका उपायहरू (ब्रेस्टवाल, रिटेनिङवाल, ढल निकासका काम) समयमै सरकार तथा समुदाय स्तरबाट गरिनुपर्छ। धेरै भिरालो स्थानमा भएका बस्ती, नदी किनारका बस्ती आवास बनाउन योग्य स्थानमा सारी भिरालो स्थानमा फलफूल लगाउने, नदीकिनारामा बाँस, निगालो, अम्रिसो रोपी तटबन्ध बनाएर, बाँध तथा नहर व्यवस्थापन गरेमा जोखिम न्यून गर्न सकिन्छ। यस विषयमा सरकार र समुदायको मात्र आशा गरेर हँुदैन, प्रत्येक घरधुरी र व्यक्ति स्वयं पनि सचेत बनी आफ्नो दैनिक व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ।

घरवरिपरि होमगार्डेन बनाई पोखरी निर्माण गर्ने, प्रयोग भएका खेर जाने पानीलाई जम्मा गरी तरकारी खेती गर्ने, विभिन्न जातका फलफूलका बोट लगाउने, बगैंचाको वरपर केरा लगाएमा वनबाट आएको डढेलोबाट घर बचाउन सकिन्छ। डढेलो र खडेरीबाट बच्न आकाशे पानी छानाबाट संकलन गर्न सकिन्छ। सौर्य ऊर्जा, गोबरग्यासको प्रयोग बढाएर दाउराको प्रयोग घटाएमा महिलाहरूको स्वास्थ्यमा पनि सुधार गर्न सकिन्छ।

सुख्खा मौसममा हुने खेती (अदुवा, कोदो, जौ, फापर आदि) लगाई खाद्यमा आत्मनिर्भर हुन खाने तरिकामा पनि परिवर्तन ल्याउनुपर्छ। यसो गर्दा मात्रै हामी खाद्य असुरक्षाबाट सजिलै बच्न सक्छौं। वस्तुभाउ पालन गरी जैेविक मलको प्रयोगबाट मौेसमअनुसारको तरकारी उत्पादन गर्न सके रासायनिक मल र विषादीबाट उत्पन्न हुने स्वास्थ्य समस्याबाट पनि बच्न सकिन्छ। शुद्घ खानपान, सरसफाइ र दैनिक व्यायाम गर्न सके नयाँ–नयाँ रोगबाट पनि बच्न सकिन्छ। जलवायु परिर्वतनका केही सकारात्मक पक्षलाई प्रयोगमा ल्याउन सके उत्पादनमा वृद्घि हुने सम्भावना पनि छन्।

जोखिम न्यूनीकरण गर्ने प्रयास हुनु आजको आवश्यकता हो। जसलाई तिर्खा लागेको हुन्छ, नदी उसैले धाउनु नै पर्छ। त्यसैले आफ्नो सुरक्षाका लागि हामी आफैं सक्रिय हुन ढिलाइ गर्ने हो भने भयावह पीडा सहन बाध्य हुनेछौं।

हाइलाइट

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने र वहन क्षमतामा वृद्धि गरी अनुकूलित हुँदै आफ्नो जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने प्रयास गर्नु आजको आवश्यकता हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.