महिला क्रिकेटबारे नेरीको प्रश्न
केही समयअघि साँझ साढे ४ बजेतिर नेपालगन्जको एमपी माविको खेल मैदानमा पुग्दा आधा दर्जन स्थानमा क्रिकेटको अभ्यास भइरहेको थियो। खेल्ने खेलाडीको संख्या एक सयको हाराहारीमा थियो। विद्यार्थी स्कुल ड्रेसमै थिए। दक्षिण पश्चिम छेउमा एमपी, सरस्वती र महेन्द्र बहुमुखी क्याम्पसका छात्रा मध्यपश्चिम लेखिएको जर्सीमा अभ्यासमा व्यस्त थिए। त्यसको ठीक सामुन्ने पूर्वतिर १६ छात्रको हूलमा कालो ट्र्याकमा भेटिएकी थिइन्, चर्चित महिला क्रिकेटर नेरी थापा।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सधैँ एकनासको खेल पस्कँदै आएकी नेरी आफ्नो खेलमा विश्वास गर्छिन्। उनलाई प्रचारबाजी मन पर्दैन रे। यही बानीले देशकै होनहार खेलाडी भएर पनि उनी गुमनामजस्तै रहन्छिन्। अन्नपूर्णसँगको भेटमा पनि नेरी कुरा गर्नबाट पन्छिन खोजिन्। ‘मिडियालाई अन्तर्वार्ता नदिएको लामो समय भयो’, उनले पहिलो उत्तर फर्काएकी थिइन्।
एमपी मैदानदेखि साइकलमा मुस्किलले १० मिनेटको दूरीमा नेपालगन्ज उपमहानगरपालिका(९ शान्तिनगरमा उनको घर छ। साइकल चढेर यो मैदानमा साँझ बिहान अभ्यास गर्नु उनको दिनचर्या बनेको छ। ‘बिहान पौने ६ बजे उठिसक्छु। डेढदेखि दुई घन्टा अभ्यास गर्छु। दिउँसो साढे तीन बजेदेखि साढे पाँच बजेसम्म फिल्डमै हुन्छु’, उनले आफ्नो दैनिकी सुनाइन्, ‘शनिबार धेरै घरमै बस्छु कि साथीहरूसँग बजार घुम्न जान्छु।’
२०७१ सालमा खुट्टा भाचिँदा लामो समय र २०७४ सालमा हातको औंला भाचिँदाबाहेक उनी नियमित अभ्यासमै छिन्। कुनैबेला एसियाली स्तरमै अब्बल मानिने नेपाली महिला क्रिकेट अहिले ओझेलमा परेको छ। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए पनि उपाधि भित्र्याउन सकिरहेको छैन। नेरीकै बुझाइमा पनि नेपालमा महिला क्रिकेटले फड्को मार्न सकेको छैन।
‘गेम जहाँको त्यहीँ छ। न तल झरेको छ, न त माथि नै उठ्न सकेको छ’, भविष्यप्रति आशावादी देखिएकी नेरीले भनिन्, ‘नेपालले उपाधि ल्याउने सम्भावना सकिएको छैन, धैर्य गुमाउनु हुन्न। हिजोजस्तै गर्न सकिन्छ भन्ने लाग्छ। हामीले गर्न सक्छौं भन्ने कन्फिडेन्ट पनि कायमै राख्नुपर्छ।’
हिजो आफ्नै नेतृत्वमा नेपाली महिला क्रिकेटले हात पारेको सफलता फेरि पनि सम्भव हुन्छ भन्नेमा उनी आशावादी देखिइन्। क्रिकेटमा पाउने सफलता सधैं मेहनतमा निर्भर हुने उनको बुझाइ छ। ‘आफूले मेहनत गर्नुपर्योइ। पहिले पो खेल नयाँ थियो। प्रतिस्पर्धी कमजोर थिए। अहिले सबै टप भइसके। कडा प्रतिस्पर्धा छ’, उनी भन्छिन्, ‘जिन्दगीमा सबै कुरा पाउनु मात्र ठूलो कुरा होइन। कप्तान भएर राम्रो गरेर देखाएँ। अहिले पनि राम्रै प्लेयरमा गनिन्छु। अझै राम्रो गर्ने प्रयासमा छु।’
नेपाली महिला क्रिकेटमा नेरीका धेरै कीर्तिमान छन्। महिला राष्ट्रिय क्रिकेट टोलीकी पहिलो कप्तान उनी यू(१९ महिला टोलीकी पनि पहिलो कप्तान हुन्। महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो शतक ९काठमाडौंविरुद्धको खेलमा अविजित एक सय २१ रन० प्रहार गरेको कीर्तिमान पनि उनकै नाममा छ। उनकै कप्तानीमा देशले दुईवटा अन्तर्राष्ट्रिय उपाधि भित्र्यायो भने दुई पटक उपविजेता बन्यो। सोही योगदानका कारण उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन पटक ‘उमन्स अफ दी सिरिज’समेत पाइन्।
क्रिकेट प्रशिक्षक जमिल अन्सारी नेरीको अभ्यास र लगावलाई महिला क्रिकेटमा नेतृत्व लिने खालकै रूपमा अथ्र्याउँछन्। ‘नेरी अलराउन्डर खेलाडी हुन्। पुरुषकै बराबर ब्याटिङ गर्न सक्ने क्षमता उनमा छ’, प्रशिक्षक जमिल भन्छन्, ‘ऊसँग अद्वितीय प्रतिभा छ, गरेर देखाउँछु भन्ने बलियो इच्छा शक्ति पनि छ। यस्तो खेलाडी पाउन मुस्किल छ।’
नेरी महिला क्रिकेटरले पाउने सुविधा र उनीहरूका लागि प्रतियोगिता निकै कम भएकोमा दु:ख व्यक्त गर्छिन्। गत वर्ष फागुनमा धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट सम्पन्न भएयता महिला क्रिकेटको कुनै पनि राष्ट्रिय प्रतियोगिता भएको छैन। यो अवस्थाले गर्दा नेपाली महिला क्रिकेट अघि बढ्न नसकेको उनको बुझाइ छ।
‘अन्य देशसँग तुलना नगर्दा पनि हुन्छ। प्रतियोगिता र सुविधाको दृष्टिकोणबाट नेपाली महिला क्रिकेटरले केही पाएका छैनन्’, नेरी भन्छिन्, ‘पुरुष क्रिकेटमा ईपीएल, डीपीएल, पीपीएललगायतका धेरै प्रतियोगिता भइरहेका छन्। महिला क्रिकेटरले भने वर्ष दिनमा एउटा सामान्य प्रतियोगिता खेलेर बस्नुपर्ने अवस्था छ। नियमित प्रतियोगिता नहुँदा नयाँ प्रतिभा जन्मन सकेका छैनन्।’
उनी नयाँ प्रतिभा जन्माउन नियमित रूपमा प्रतियोगिता आयोजना हुनुपर्ने बताउँछिन्। ‘पछिल्लो समय नयाँ खेलाडी आउन सकेका छैनन्। नयाँ प्रतिभा आउने अवसरको रूपमा रहेको प्रतियोगिताहरू नै दिन नसक्दाको नतिजा हो यो’, नेरी भन्छिन्, ‘आठौं राष्ट्रिय खेलकुद हुने समाचारले हामी उत्साहित छौं।
यसको मिति फेरि नसरोस्। समयमै होस्।’
नेरीलाई आइडल मान्ने देशैभर धेरै महिला क्रिकेटर छन्। प्रशिक्षक अन्सारीले अनुभव सुनाए, ‘इटहरीको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा नेरीलाई नेपाली ‘क्रिस गेल’ भनेर सम्बोधन गर्थे।’ अन्सारीलाई पनि नेरीको एग्रिसिभ खेल क्रिस गेलकै जस्तो लाग्छ। उनी नयाँ पुस्तालाई हौसला दिइरहेकी हुन्छिन्। उनको सुझाव छ, ‘मेहनत गरेर क्रिकेट खेल्नुस्, भविष्य राम्रो छ। क्रिकेटबाटै आफू, आफ्नो परिवार र देशलाई चिनाउन सकिन्छ।’
नेपालगन्जको मंगलप्रसाद माविमा अभ्यासरत नेरी थापा। ० शंकरप्रसाद खनाल