नेविसंघका कार्यकर्ताद्वारा सरकारी गाडीमा आगजनी
पोखरा : पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा नेविसंघका कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाएका छन् । पोखराको मासबारमा गुडिरहेको गाडीमा शनिबार बिहान साढे नौ बजे नेविसंघका कार्यकर्ताले पेट्रोल छर्केर आगो झोसेका हुन्। आगोले गाडी पूर्ण रुपमा जलेकाे छ ।
पोखरा महानगरपालिकामा स्वास्थ्य विभागको परीक्षा संचालनका लागि कर्मचारी लिन जाँदै गरेको गाडीलाई स्कुटरमा आएका दुई युवाले रोकेर जलाएको हुन् । जिल्ला समन्वय समितिबाट हालसालै पोखरा महानगरपालिका अन्तर्गत आएको गाडी मर्मत गरेर शिक्षा विभागले प्रयोग गर्दै आएको महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बताए ।
सरकारी सवारी साधानको दुरुपयोग बढेको भन्दै नेपाल विद्यार्थी संघले केन्द्रीय कार्यक्रमअन्तर्ग देशैभर बिदाको दिन सरकारी गाडी चल्न नदिने घोषण गरेको छ । यसैले नेपाल प्रहरीले नेपाल विद्यार्थी संघका कार्यकताले सवारी साधनमा आगो लगाएको हुन सक्ने बताएको छ ।
फोटो कृष्णशरण लामिछाने
बिदाको दिन सरकारी साधानको दुरुपयोग बढेकोले नेपाल विद्यार्थी संघको निणर्यअनुसार देशका सबै जिल्लामा बिदाको दिन सवारी साधन चल्न नदिने अभियान संचालन गरेको नेपाल विद्यार्थी संघका नेता भानु ढकालले बताए । सवारी साधनको दुरुपयोग बढेकोले शान्तिपूर्ण रुपमा नियन्त्रण गरेर प्रशासनलाई बुझाउने कार्यक्रम रहे पनि विद्यार्थी आक्रोसमा आएर त्यस्तो घटना भएको हुन सक्ने उनले सुनाए ।
कास्की प्रहरीले आगो लगाउनेको खोजी कार्य भइरहेको बताएको छ।