अष्ट्रेलियन खेलाडीको घातक बल लागेर जब श्रीलंकन क्रिकेटर मैदानमै ढले
सिड्नी : क्रिकेट खेलमा कहिलेकाहीँ यस्तो दुर्घटना हुन्छ । अष्ट्रेलियाको क्यानबेरामा आज भएको खेलमा श्रीलंकाका ब्याट्सम्यान डिमुथ करुनारत्ने ‘डिफेन्स’ गर्ने क्रममा घाइते भएका छन् ।
शनिबार मनुका ओभल स्टेडियममा भएको दोस्रो टेस्ट गेमको क्रममा अष्ट्रेलियन घातक बलर पेसर प्याट कमिन्सले गरेको बलिङ करुनारत्नेको घाँटीमा लागी उनी घाइते भएका हुन् ।
करुनारत्ने ३१ ओभरको चौथो बल डिफेन्स गर्ने क्रममा उनको घाँटीको माथिल्लो भागमा चोट लागेको हो । ३० वर्षे खेलाडी करुनारत्नेलाई चोट लागेपछि तत्काल उपचारको खाँचो परेको भन्दै अस्पताल लगिएको छ ।
यस घटनापछि आयोजक टीम अष्ट्रेलियाले विज्ञप्ति निकाल्दै करुनारत्नेले घाँटीको पछिल्लो भागमा चोट लागेको भनेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको उल्लेख गरेको छ । साथै उपचार टोलीले उनको निगरानी गरिरहेको र यसबारे जानकारी गराइरहने विज्ञप्तिमा उल्लेखित छ ।
श्रीलंकन कोच चन्दिका हथुरुसिंगाले करुनारत्ने अहिले अस्पतालमा ठीक अवस्थामा रहेको जानकारी दिएका छन् । उनी अस्पताल भर्ना हुनुअघि आफूसँग कुराकानी गरेको पनि कोच हथुरुसिंगाले बताएका छन् ।
दुर्भाग्यवश् करुनारत्ने यस टूरको क्रममा श्रीलंकाको पाचौँ घाइते खेलाडी हुन् । अष्ट्रेलियासँग दोस्रो इनिङ खेलिरहेको श्रीलंकन टीमले उनी घाइते हुनुअघिसम्म ४११ रन पछ्याउँदै ३ विकेटको क्षतिमा १२३ रनमा खेलिरहेको थियो ।