सुर्खेत उपत्यकामा नक्सापास रोक्का
सुर्खेत : प्रदेश राजधानी भएसँगै धमाधम घरजग्गाको कारोबार बढेको सुर्खेतको वीरेन्द्रनगर उपत्यकाभित्रको घर निर्माणको जग्गापास रोकिएको छ। सरकारले नै जग्गाको कित्ताकाट रोक्न दिएको निर्देशनलाई अनुसरण गर्दैै नगरपालिकाले शुक्रबार घरको नक्सासमेत रोक्का गरेको छ।
अब सुर्खेत उपत्यकाभित्र नगरपालिकाको अर्को निर्णय नआउने बेलासम्म कसैले पनि घर निर्माणका लागि नक्सापास गर्न पाउने छैनन्। सुन्दर नगरी वीरेन्द्रनगरको अवस्था दैनिक कुरुप हुनुका साथै भूखण्डीकरणले कृषि जमिन नासिँदै गएपछि व्यवस्थित गर्न नगरले उपत्यकाभित्र जग्गाको कित्ताकाट र घरको नक्सापास रोकेको हो।
मनपरी गरिएको कित्ताकाटले कृषियोग्य भूमि खण्डीकरण हुँदै गएकाले उक्त निर्णय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले जानकारी दिए। रत्न राजमार्गभन्दा उत्तरतिरको बस्ती पुरानो गुरुयोजनाअनुसार निर्माण भए पनि दक्षिणतिरको आवादी भने मनपरी बसेको हो। ०२९ सालमा बनेको गुरुयोजनाअनुसार राजमार्गभन्दा उत्तरतिर मात्रै बस्ती बसाउने र दक्षिणतिरको पूरै जमिन खेती गरिने उल्लेख थियो। तर, ०६२/६३ पछि भने अनधिकृत रूपमा दक्षिणको खेतीयोग्य जमिनमा कंक्रिट भरिन सुरु भएको थियो।
गुरुयोजना नै खारेज भए पनि मापदण्डबिनै भूखण्डीकरण र धमाधम घर बन्न थालेका छन्। दलालले जग्गा प्लटिङ गर्ने र बिक्री गर्न थालेपछि दक्षिणतिरको भूभागका बसोबास मात्रै अव्यवस्थित नभई जोखिममा समेत रहेको नगरप्रमुख देवकुमार सुवेदीले बताए। ‘पुरानो गुरुयोजना उत्तरतर्फका लागि मात्रै थियो, उत्तरतिरको जमिनमा बसेको बस्ती व्यवस्थित नै छ’, उनले भने, ‘तर दक्षिणतिर भने बस्ती नबसाउनुपर्ने भए पनि मापदण्ड नहुँदा यसलाई रोक्न सकिएन, अहिले जग्गाको कित्ताकाट रोक्न हामीलाई निर्देशन आएको थियो। तर, हामीले घर निर्माण पनि रोक्ने निर्णय गर्यौं।’
नगरपालिका गुरुयोजना निर्माणका चरणमा रहेकाले गुरुयोजना निर्माणपछि मात्रै घरको नक्सापास र निर्माण खुला हुने सुवेदीको भनाइ छ। ‘नगरको गुरुयोजना नबन्दासम्म कित्ताकाट र नक्सापास रोक्ने निर्णय गरेका छौँ’, उनले भने, ‘गुरुयोजना निर्माण प्रक्रियामा रहेकाले हाललाई लगत कट्टा भएका सडक क्षेत्रमा घर निर्माण प्रक्रियाबमोजिम खुला गरिनेछ।’
साविकको वडा नम्बर १ देखि १२ सम्मका गुरुयोजनाका सडकसँग जोडिएकाबाहेक जग्गा र रत्नराजमार्गदेखि दक्षिणतर्फका वडा नम्बर २, ३, ९, १० र ११ मा जग्गा कित्ताकाट तथा घरको नक्सापास रोक्का गर्ने निर्णय गरिएको छ। ‘हामी निर्वाचित भएपछि भित्री क्षेत्रमा ६ मिटरको बाटो नभई घर निर्माण गर्नुपर्ने र राजमार्गसँग जोडिएको क्षेत्रमा १० मिटरको हुनुपर्ने सामान्य परिपत्र जारी गर्यौं’, उनले थपे, ‘तर अब घना हुँदै गएको बस्तीलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन गुरुयोजना नभई हुँदैन, वैशाखसम्म सिध्याउने गरी लागेका छौं। गुरुयोजना निर्माण भएपछि कडाइसाथ लागू गरिनेछ, राजधानीलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नै नक्सापाससमेत रोकेका हौं।’
भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पुसमा कृषियोग्य भूमि संरक्षण गर्न परिपत्र जारी गरेको थियो। कृषियोग्य भूमि संरक्षण गर्न एक साताअघि समितिसमेत गठन गरिएको थियो। सो समितिले बुझाएको प्रतिवेदनअनुसार सो निर्णय गरिएको हो। सुर्खेत उपत्यकालाई व्यवस्थित र सुविधायुक्त बनाउन पहल थालिएको सुवेदीको भनाइ छ।