टीट्वान्टी शृंखलाको तेस्रो खेल : यूएईसँगको खेल केही बेरमा
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध जारी टीट्वेन्टी शृंखलाअन्तर्गत तेस्रो तथा निर्णायक खेल केहीबेरमा खेल्दै छ। दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ।
अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक–एक खेल जितेकाले शृंखला १–१ को बराबरीमा छ। शृंखला जित्न दुवै टोलीलाई यो खेल पनि जित्नु आवश्यक छ। पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो।
यसअघि यूएईविरुद्धको एकदिवसीय शृंखला २–१ ले जितेको नेपालले आइतबार हुने तेस्रो तथा निर्णायक खेलसँगै टीट्वेन्टी शृंखलासमेत जित्ने योजना बनाएको छ।
नेपालसामु अन्तिम टीट्वेन्टी खेल जित्दै केही ऐतिहासिक उपलब्धि हात पार्ने अवसर रहेको छ। नेपालले सन् २०१४ को टीट्वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको थियो।
नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३–१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १–० ले गुमाएको थियो। त्यसैले आइतबारको अन्तिम खेल पनि जितेको अवस्थामा नेपालले अर्को ऐतिहासिक उपलब्धि हात पार्ने छ।