‘दुईतिहाइले डाक्टर त उठे, प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो’

‘दुईतिहाइले डाक्टर त उठे, प्रधानमन्त्रीको इमानमा डढेलो लाग्यो’

काठमाडौँः नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले एउटा ‘जोगी डाक्टर’ (डा. गोविन्द केसी) लाई हराउन सफल भएकोमा दुईतिहाइ बहुमतको नेकपाको सरकारलाई बधाई दिएका छन् । 

आइतवार अपरान्ह बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा विशेष समय लिएर बोल्दै सांसद थापाले मेडिकल माफियाको पक्षमा लागेर डा. केसीलाई उठाउन सकेको भन्दै कटाक्षसहित सरकारलाई बधाई दिएका हुन् ।

‘सरकारलाई बधाई छ, जोगी डाक्टरलाई हराएकोमा, सरकारका कारण लोकमानसिंहदेखि कालिकास्थानमा टहरामा मेडिकल कलेज चलाउनेसम्म खुसी भएका छन्, दुईतिहाइ देख्दैछौँ माफियाको पक्षमा’, सांसद थापाले भने,‘जनताले त दुईतिहाइको सरकार देख्न पाएनन् तर माफियाहरुले दुईतिहाइको सरकार देख्न पाए ।’

सांसद थापाले सम्बोधनका क्रममा नेकपा एमालेका तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीलाई पनि सम्झिए । ‘कमरेड मनमोहनका लागि दुईतिहाइ देख्न नपाए पनि मार्सीमोहनका लागि दुईतिहाइ देख्न पाइयो’, उनले भने, ‘दुईतिहाइले डाक्टर त उठे, तर प्रधानमन्त्री (केपी शर्मा ओली) को इमान सुत्यो, उनको इमानमा डढेलो लाग्यो ।’
 
सांसद थापाले अर्को प्रसंगमा बोल्दै देशको अर्थतन्त्र जुनसुकै बेला ढल्ने अवस्थामा पुगेको जिकिर गरे । ‘पहिलो पटक देशका व्यापारी सडकमा निस्किएका छन् । सबै उद्योगधन्दा कलकारखाना चलाउनेहरु सडकमा उत्रिँदैछ छन्, जथाभावी व्याजदर तोकिएको छ’, थापाले भने, ‘पहिलो पटक प्रधानमन्त्रीको ठाउँबाट तथ्यांक नै तोडमोड गरिएको छ । व्यवसायका लागि वातावरण सुधार्ने भन्दा प्रतिवेदन च्यात्छु भन्दै सरकार हिँडेको छ ।’

सांसद थापाले ओली नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोग र वित्तीय आयोगलाई निकम्मा बनाएर सानो कोठरीबाट सरकार चलाउन खोजेको पनि आरोप लगाए । ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्दै गर्दा विवादित संस्थाको आयोजक भएर देशको बेइज्जत गरियो’, उनले भने, ‘नयाँ संकट नेपालमा आइरहेको छ । प्रधानमन्त्रीज्यू संसद अगाडि उभिएर दागै दाग लागेको अनुहार सफा गर्नुस् । ऐना अगाडि दाग देख्दै गर्दा प्रधानमन्त्री ऐनाको फोहोर मेटौँ भन्छन्, अनुहारको होइन ।’
 
सांसद थापाले सरकारको अक्षमता र अहंकार अनि काण्डै काण्डले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्न नहुने पनि सुझाए । ‘गणतनन्त्रविरुद्ध कोही रोटी सेक्न नआउन्, जातका नाममा धर्मका नाममा कसैले रोटी सेक्न नआउन्’, थापाले थपे, ‘सरकार गर्नुपर्ने काम गर्दैन, नगर्ने काम गर्छ ।’
 
सांसद थापाले संवैधानिक आयोगमा गरिएको छलछाम सच्याउन बाध्य बनाउने पनि चेतावनी दिए ।  ‘पारित भएको चिकित्सा विधेयकमा राखिएको प्वालबाट गलत गर्न दिइँदैन’, उनले भने, ‘प्रतिपक्ष देखेर सरकार आश्चर्यचकित हुने गरी हामी देखाउँछौँ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.