वडाअध्यक्षले सिफारिस पत्रमा ‘बहुलाहा श्रीमती’ लेखेपछि
बाजुरा : हिमाली गाउँपालिका–७ का वडाअध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । हिमाली गाउँपालिका–७ का वडाअध्यक्ष जयबहादुर अधिकारीले हस्ताक्षर गरेको सिफारिसमा ‘बौलाहा श्रीमती’ शब्द राखेका पाएपछि उजुरी परेको हो ।
अमर्यादित शब्दसहित सिफारिस गर्ने वडाअध्यक्षलाई कारबाही माग गर्दै दलित अधिकारकर्मी गोरख सार्कीले आइतबार जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी दर्ता गराएका हुन् ।
वडा कार्यालयको च.न १ सय ३९ का मालपोत कार्यालयमा गरिएको सिफारिसमा बौलाहा श्रीमतीले लालपुर्जा च्याती जलाइदिएपछि प्रतिलिपी पाउन भनेर उल्लेख गरिएको छ ।
‘उपरोक्त विषयका सम्बन्धमा हिमाली गाउँपालिका वडा न ७ बाधु बस्ने सस्त लवारको नाममा भएको लालपुर्जा बौलाहा श्रीमतीले च्याती जलाएकोले फेरि प्रतिलिपि पाउनका लागि यस वडा कार्यालयमा दिएको निवेदन अनुसार निजको छोरा बिष्न लवारलाई प्रतिलिपी दिलाई दिइ सहयोग गरिदिन हुन अनुरोध गरिन्छ’, भन्ने व्यहोरासहितको सिफारिस पत्रमा वडाअध्यक्ष अधिकारीले हस्ताक्षर गरेका छन् ।
जातीय भेदभाव तथा (कसुर र सजाय) ऐन २०६८ र संविधान अनुसार सार्वजनिकस्थलमा कसैलाई होच्याउने र गालगिलौज गर्न पाइँदैन । वडाध्यक्षले गरेको सिफारिसमा तल्लो जातको भनी कानुन बिपरित लेखेको भन्दै अधिकारकर्मी सार्कीले मुद्दा दर्ता गरेका हुन् ।
उजुरी परेकाले कारबाही अघि बढाउने प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । यता वडाध्यक्ष अधिकारीले भने निवेदकले भने अनुसार शब्द प्रयोग गरेको बताउँदै गलत नगरेको जिकिर गरेका छन् ।