क्रिकेट टिमलाई उपराष्ट्रपतिको बधाई
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एक दिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला जितेर इतिहास बनाएको भन्दै उनले बधाई दिएका हुन्।
जितसँगै इतिहास बनाएकोमा खुशी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम, प्रशिक्षक र सम्पूर्ण नेपालीलाई उपराष्ट्रपति पुनले बधाई दिएका हुन्।
इतिहास रचेर नेपालीलाई खुशी दिएकोमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटा, कप्तान पारस खड्का र उनको टिमप्रति विशेष धन्यवाद दिएका हुन्।
सँगै उपराष्ट्रपति पुनले कम उमेरमै एक दिवसीय क्रिकेटमा अर्धशतक बनाउने रोहितकुमार पौडेल र ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरा लगायत विभिन्न रेकर्ड बनाउने खेलाडी धन्यवाद दिए।
सिमित साधन स्रोतको बाबजुद राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको उनको भनाइ छ।
उपराष्ट्रपतिले क्रिकेट लगायत खेलकुदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराएको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए।