राष्ट्रपति चीन र अमेरिका जाने

राष्ट्रपति चीन र अमेरिका जाने

काठमाडौं : दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)को दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन्। सम्मेलन आउँदो अप्रिलमा बेइजिङमा हुनेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन्। राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले बताएको छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँग द्वीपक्षीय भेटघाट र वार्ता गर्ने छिन्। राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने पनि कार्यक्रम छ। चीनले बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन विश्वका अधिकांश मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ।

राष्ट्रपति भण्डारीको भ्रमणबारे परराष्ट्रका अधिकारीहरूले अनौपचारिक पुष्टि गरेका छन्। सरकारी निकायले भने औपचारिक प्रतिक्रिया दिएको छैन। चीनले राष्ट्रपति भण्डारीको भ्रमणलाई निकै महत्व दिएको देखाए पनि भ्रमणलाई दुईपक्षीय भ्रमणको संज्ञा दिइएको छैन।

 चीनले बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन विश्वका अधिकांश मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गरेको छ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले गरेका दुई चीन भ्रमण पनि दुईपक्षीय थिएनन्। उनी सांघाई एक्स्पो र बोआओ फोरममा सहभागी भएका थिए। नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रपति कार्यालय र परराष्ट्रका अधिकारीहरूले राष्ट्रपतिको भ्रमणको तयारी गरिरहेका छन्। मन्त्रिपरिषद्ले उनको भ्रमणलाई औपचारिकता दिन बाँकी छ।

राष्ट्रपति भण्डारीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृतका लागि छिट्टै परराष्ट्रले प्रस्ताव गर्ने स्रोतले बतायो। परराष्ट्र मन्त्रालयले भ्रमणलाई दुईपक्षीय बनाउने पहल थालेको पनि अधिकारीहरूले बताए।

बीआरआईमा आफ्नो सहभागिताबारे राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल गरिसकेको स्रोतले बताएको छ। बीआरआई चिनियाँ राष्ट्रपति सीले अघि बढाएको महत्वाकांक्षी विकास परियोजना हो। बीआरआईको सदस्य राष्ट्र भए पनि नेपालले यसका लागि स्पष्ट परियोजना दिन सकेको छैन। सन् २०१७ मे १४ र १५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा बीआरआईको पहिलो अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेका थिए।

पहिलो सम्मेलनमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत मन्त्रीहरूले सहभागिता जनाएका थिए। तत्कालीन परराष्ट्रमन्त्री महराले हस्ताक्षर गरेपछि नेपाल औपचारिक रूपमा बीआरआईको सदस्य राष्ट्र बनेको थियो। सम्मेलनमा नेपाललगायत झण्डै एकसय मुलुकका उच्च राजनीतिक व्यक्तित्वको सहभागिता थियो।

राष्ट्रसंघको महिला सशक्तिकरण सत्रमा सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभाको सशक्तिकरण सत्रमा सहभागी हुन अमेरिका जाने भएकी छन्। उक्त सत्रमा महिला नेतृत्वको तर्फबाट उनले न्युयोर्कमा सम्बोधन गर्ने छिन्।

सरकारले राष्ट्रपतिको भ्रमणलाई अमेरिकासँग दुईपक्षीय भ्रमण बनाउन पहल गरिरहेको छ। उनी फागुन २६ मा पाँच दिनका लागि त्यसतर्फ जाने तयारी मन्त्रालयले गरिरहेको छ। उनको सम्बोधन फागुन २८ मा हुने शक्तिमा रहेका महिलाहरूको सम्मेलनमा हुनेछ।

राष्ट्रसंघीय ७३ औं महासभाकी अध्यक्ष मारिया फेमन्डा स्पिनोसा ग्रेसको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्। इक्वेडरकी ग्रेस ७३ औं महासभाको सभापति भएदेखि नै महिला सशक्तिकरणसम्बन्धी विशेष सम्मेलन भन्दै विश्वभरका उच्चतहका रहेका महिला नेतृत्वलाई निम्त्याउने बताएअनुरूप नै भण्डारीलाई पनि निमन्त्रणा गरेकी हुन्।

शासन र सत्तामा रहेका, सफल उद्यमी, अन्य क्षेत्रमा पनि सफलता चुमेका महिलालाई त्यहाँ भेला गराएर महिला सशक्तिकरणबारे उनले त्यहाँ छलफल गराउन लागेकी हुन्।

राष्ट्रसंघको महासभामा चौंथोपटक महिला नेतृत्व आएको हो। उनी चौथो महिला अध्यक्ष हुन्। राष्ट्रसंघको नेतृत्व महासचिवले गर्ने भएपनि अध्यक्षता भने हरेक महासभामा चयन हुने गर्छ। ७३ औं महासभाको आरम्भ हुँदै गर्दा गत असोजमा सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी ओली सहभागी भएका थिए। त्यही समयमा नै अध्यक्ष ग्रेसले राष्ट्रपतिलाई निमन्त्रणा गर्ने जानकारी दिइसकेकी थिइन्।

उनको भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ। सानो टोली लिएर छोटो भ्रमणको रूपमा उनी त्यसतर्फ जाने तयारी भइरहेको एक अधिकारीले भने। उनी दुईपक्षीय भ्रमणको लागि समय नमिले पाँच दिनको लागि न्यूयोर्क जाने छिन्। उनी न्युयोर्कमा दुई रातमात्र रहने बताइएको छ। आर्थिक र सामाजिक परिषद्अन्तर्गतको महिला पहिचान हेर्ने परिषद्को नियमित कार्यक्रमअन्तर्गत हुन लागेको फरक नामको कार्यक्रममा राष्ट्रपति जान लागेकी हुन्।

यो कार्यक्रममा राष्ट्र एवं सरकार प्रमुख रहेका १० भन्दा बढी महिला नेतृ सहभागी हुन लागेको परराष्ट्र अधिकारीले बताए। परराष्ट्र सचिव शंकरदास बैरागीले समय बाँकी रहेकाले भ्रमण निर्णय भइनसकेको बताए। ‘निमन्त्रणा आएको हो। यसमा छलफल चलिरहेको छ,’ उनले भने।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने, ‘भ्रमणको विषय सरकारले निर्णय लिने हो। उतै केही छलफल भएको छ कि ? ’ जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन राष्ट्रपति पोल्यान्ड पुग्दा पनि उनलाई राष्ट्रसंघका ७३ औं महासभाकी अध्यक्ष ग्रेसले व्यक्तिगत रूपमा न्युयोर्क आउन आग्रह गरेकी स्रोतले बतायो।

राष्ट्रपतिले त्यहाँ राष्ट्रसंघका महासचिव अन्टोनियो गुटेरसलगायत अन्य राष्ट्र एवं सरकार प्रमुखसँग दुईपक्षीय भेटघाट गर्ने तयारी समेत रहेको छ। पछिल्लो समय भेनेजुएलाका विषयमा सत्तारुढ दल नेकपा अध्यक्ष र सरकारको अभिव्यक्तिबारे अमेरिकाले असन्तुष्टि जनाइरहेको छ। अमेरिकासँग सम्बन्ध चिसिएको अवस्थामा राष्ट्रपतिको भ्रमण तयारीलाई अर्थपूर्ण मानिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.