गाउँमा यातायात पुर्‍याउन जनप्रतिनिधिबीच होड

गाउँमा यातायात पुर्‍याउन जनप्रतिनिधिबीच होड

अछाम : यातायातको पहुँचबाहिर रहेका अछामका दुर्गम स्थानीय तहका जनप्रतिनिधिहरुले सार्वजनिक सवारी साधन पुर्‍याउने होडबाजी मात्रै गरेका छन्। मंसिरयता तीन वटा स्थानीय तहले बाजागाजासहित तामझाम गरेर गाउँमा बस पुगेको हल्लाखल्ला गरे। तर, अहिले एउटा स्थानीय तहमा पनि यात्रुवाहक बस नियमित छैन।

अछामको चौरपाटी गाउँपालिकामा मंसिर १४ गते, मेल्लेख गाउँपालिकामा पुस १२ गते र ढकारी गाउँपालिकामा माघ ६ गते बस पुगेको थियो। चौरपाटी र मेल्लेख गाउँपालिकाले त निकै तामझामसाथ पहिलो पटक गाउँपालिकाको कार्यालयसम्म बस पुर्‍याएको थियो। चौरपाटीमा पहिलो पटक कर्णाली रिभर साइड यातायातको बस पुगेको हो। यस्तै, मेल्लेख गाउँपालिकामा पुस १२ गते सुदूरपश्चिम यातायातका दुई वटा बस पुगेका थिए।

बस पुगेको घोषणा गरेको दिनपछि भने स्थानीय यात्रुको दैनिकी पुरानै अवस्थामा छ। त्यसपछि स्थानीयले गाउँपालिकामा बस देख्न पाएका छैनन्। ‘बस पहिलो पटक गाउँमा पुगेपछि स्थानीय बासिन्दाले बाजागाजासहित भव्य स्वागत गरे र खुसियाली पनि मनाए’, मेल्लेख गाउँपालिकामा नृप साउदले भने, ‘त्यसपछि बसको नाकमुख नै देखिएको छैन’, पहिलो पटक घरआँगनमै बस पुगेपछि यात्रा सहज हुने दंग परेका स्थानीय निरास भएका छन्।’

उनले दिगो समाधान नभएर जनप्रतिनिधि सस्तो लोकप्रियता कमाउनतिर लागेको आरोप लगाए। उनले भने, ‘बस सेवा नियमित भएपछि यातायातका लागि घण्टौं हिँड्नुपर्ने र जिपको चर्काे भाडा तिर्नुपर्ने अवस्थाबाट छुटकारा पाउने आस थियो, अहिले झुक्याएजस्तो लागिरहेको छ।’

चौरपाटी गाउँपालिकामा पनि बस सेवा नियमित नरहेको स्थानीय महेश खड्काले गुनासो गरे। ‘बस गाउँमा आएको दुई दिनसम्म गाउँपालिकामा देखेका थियांै, त्यसपछि देख्न पाएका छैनौं’, उनले भने। उनले स्थानीय जनप्रतिनिधिको प्रतिबद्धता भाषणमा सीमित रहेको भन्दै आक्रोश पोखे।

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउदले पनि बस सेवा नियमित सञ्चालन हुन नसकेको स्विकारे। ‘पहिलो पटक गाउँमा बस पुर्‍याउनु नै उपलब्धि हो’, उनले भने, ‘बसवालाले यात्रु नभएका कारण घाटा लाग्ने भन्दै गाउँपालिकासम्म बस ल्याउँदैनन्, सबैभन्दा पहिला त बस नियमित गराउन सडक स्तरोन्नतितर्फ लागेको छु।’

सडक स्तरोन्नति गर्न यस वर्ष ५० लाख रकम बिनियोजन गरिएको उनले बताए। ढकारी गाउँपालिकामा पनि माघ ६ गते पहिलो पटक बस पुग्यो। त्यसपछि भने नियमित हुन नसकेको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए। ‘बस सेवा नियमित बनाउने प्रयासमा छौं’, उनले भने। लगातारको वर्षाका कारण सडक कच्ची भएकाले बस सेवा नियमित नभएको उनले बताए। ढकारी गाउँपालिकाले यसपालि सडक स्तरोन्नति गर्न ७० लाख विनियोजन गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.