म्यानचेस्टर सिटीसँग आर्सनल पराजित, एग्वेरोको १४ औं ह्याट्रिक
लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार राति इत्तिहाद रंगशालामा खेलिएको खेलमा म्यानचेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी आर्सनलमाथि ३-१ गोलको रोमाञ्च जित हासिल गरेको छ। जितसँगै म्यानचेस्टर सिटीले ‘लिड लिडर’ लिभरपुलसँगको दूरी दुई अंकमा झारेको छ। यद्दपि, लिभरपुलले म्यानचेस्टर सिटीभन्दा एक खेल कम खेलेको छ।
म्यानचेस्टर सिटीको जितमा तीनवटै गोल प्रभावशाली खेलाडी सर्जियो एग्वेरोले गरे। ३० वर्षीय अर्जेन्टिनी खेलाडी एग्वेरोले खेल सुरु भएको पहिलो मिनेटमै टोलीका लागि पहिलो गोल गरेका थिए। ११ औं मिनेटमा लाउरेन्ट कोसिएल्नीले आर्सनलका लागि जवाफी गोल फर्काए।
यसैगरी ४४ औं मिनेटमा एग्वेरोले नै अर्को गोल थपेपछि पहिलो हाफमै म्यानचेस्टर सिटी २-१ ले अगाडि बढ्यो। ६१ औं मिनेटमा एग्वेरोले टोलीका लागि तेस्रो गोल थप्दै आफ्नो ह्याट्रिक पनि पुरा गरे। एग्वेरोले साविक विजेता म्यानचेस्टर सिटीका लागि गरेको यो १४ औं ह्याट्रिक हो।
घरेलु मैदानमा खेलिएका प्रिमियर लिगका पछिल्ला १५ खेलमा एग्वेरोले २२ गोल गरेका छन् भने पाँच गोलका लागि पास उपलब्ध गराएका छन्। एग्वेरोले म्यानचेस्टर सिटीका लागि दुई सय २७ खेल खेलेर एक सय ५७ गोल गसिकेका छन्। म्यानचेस्टर सिटीले सन् १९३७ को अप्रिलयता आर्सनललाई लगातार पछिल्ला चार खेलमा हराएको यो पहिलो पटक हो।
सन् २०१८ सुरु भएपछि विपक्षीको मैदानमा सर्वाधिक खेल हार्ने आर्सनल तेस्रो टोली पनि बनेको छ। यो अवधिमा आर्सनलले विपक्षीको मैदानमा १२ खेलमा हार भोगेको छ। विपक्षीको मैदानमा आर्सनलभन्दा बढी खेल हार्ने टोली ब्राइटन (१४ खेल) र हडर्सफिल्ड (१३ खेल) हुन्।
सन् २०१९ मा म्यानचेस्टर सिटीले सबै प्रतियोगितालाई मिलाएर आफूले खेलेका नौमध्ये आठ खेलमा जित हात पारेको छ। यस अवधिमा म्यानचेस्टर सिटीले ३४ गोल गरेको छ भने केवल चार गोल खाएको छ।
प्रिमियर लिगमा हालसम्म २४ खेल खेलेको लिभरपुल ६१ अंकसहित पहिलो र २५ खेल खेलेको म्यानचेस्टर सिटी ५९ अंकसहित दोस्रो स्थानमा छन्। २५ खेल खेलेको टोट्टनहाम ५७ अंकसहित तेस्रो, चेल्सी ५० अंकसहित चौथो, म्यानचेस्टर युनाइटेड ४८ अंकसहित पाँचौं र आर्सनल ४७ अंकसहित छैटौं स्थानमा छन्।
म्यानचेस्टर युनाइटेडले भने आफ्नो पछिल्लो खेलमा प्रिमियर लिगको पूर्वविजेता लेस्टर सिटीलाई उसैको मैदानमा १—० गोलले हरायो। म्यानचेस्टर युनाइटेडका लागि नवौं मिनेटमा मार्कुस रासफोर्डले निर्णायक गोल गरेका थिए।