मालपोत अनुगमनमा सीडीओ
परासी : सेवाग्राहीलाई प्रदान गरिने सेवासुविधामा ढिलाइ हुने गरेको जनगुनासो बढेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले आइतबार मालपोत कार्यालय परासीको निरीक्षण गरेका छन्।
सामान्य कामका लागि पनि हप्तौं कुर्नुपर्ने र पैसाबिना काम नहुने जनगुनासो बढेपछि प्रजिअ लामिछानेले त्यसबारे कार्यालय प्रमुख ईश्वरचन्द्र अर्यालसँग सोधपुछ गरेका थिए। निरीक्षण क्रममा प्रजिअ लामिछानेले कुनै पनि बहानामा सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई निर्देशनसमेत दिएका छन्। अनलाइन सेवा सुरु भएपछि कार्यालयले काममा ढिलासुस्ती गर्ने गुनासो बढेको हो। पर्याप्त जनशक्ति र नेट अवरोधका कारण सेवाग्राहीलाई तत्काल सेवा दिन नसकेको कार्यालय प्रमुख अर्यालले प्रजिअसमक्ष बताएका थिए।
सेवाग्राहीले अनलाइनको कारण देखाउँदै सामान्य कामका लागि पनि सातापछि बोलाउने गरेको गुनासो गरेका थिए। जग्गापासका लागि पुगेका सुस्ता गाउँपालिका–४ का महेन्द्र राजभरले सातादेखि काम नभएको गुनासो प्रजिअसमक्ष गरेका थिए। त्यसैगरी, सुनवल नगरपालिकाको रामनगरबाट जग्गापासका लागि पुगेका गुनाखर बस्यालले आठ दिनअघि कागजपत्र बुझाए पनि काम नभएको गुनासो गरेका थिए। काम गर्न समय लाग्ने भन्दै फर्काइएका सेवाग्राहीले रकम दिए मात्र आज काम हुने भन्दै प्रजिअ लामिछानेको ध्यानाकर्षण गराएका थिए।
लेखापढी व्यवसायीलाई अतिरिक्त पैसा दिएर छिटो काम गराउने गरेको पनि सेवाग्राहीले गुनासो गरे। त्यस क्रममा प्रजिअ लामिछानेले लेखापढी व्यवसायीसँग पारि श्रमिकबापत र अन्य रकमको भर्पाई माग्नसमेत सेवाग्राहीलाई आग्रह गरेका थिए। लेखापढी व्यवसायीले लेखापढी गरेबापतको दस्तुर तोकेका छन्। तर, कसले उक्त दररेट कायम गरिएको र कति पारि श्रमिक लिन्छन् भन्नेमा प्रशासन अनभिज्ञ रहेको उनले बताए। पारि श्रमिकबारे आन्तरिक राजस्व कार्यालयले समेत ध्यान दिन आवश्यक रहेको प्रजिअ लामिछानेको भनाइ थियो।
कार्यालयमा टोकन प्रणाली लागू नगरेका कारण पनि सेवाग्राही पालोअनुसार सेवा लिनबाट वञ्चित छन्। सेवाग्राहीको गुनासोपछि प्रजिअ लामिछानेले टोकन प्रणाली लागू गर्न, हरेक दिन कम्प्युटर र रजिस्ट्ररमा इन्ट्री गरिने समय उपलब्ध गराउन, कम्प्युटर र रजिस्टरमा उल्लेख गरिएको राजस्व विवरण उपलब्ध गराउन कार्यालयलाई निर्देशन दिएका छन्।
कार्यालयमा दैनिक ३ सयभन्दा बढी सेवाग्राही आउने गरेका छन्। तर, सयभन्दा बढी सेवाग्राहीको काम हुन नसकेको कार्यालयले जनाएको छ। अनलाइनमा काम गर्ने कर्मचारी दक्ष नभएको र नेट अवरोधका कारण धेरै सेवाग्राहीको काम गर्न समस्या भएको कार्यालय प्रमुख अर्यालले बताए। अहिले तीन जना कम्प्युटर अपरेटरबाट काम हुँदै आएको छ। अर्यालयका अनुसार सेवाग्राहीको चापअनुसार अझै दुई जना कम्प्युटर अपरेटर आवश्यक छ।
त्यसैगरी, अन्य कर्मचारी अभावका कारण पनि सेवा दिन समस्या भएको अर्यालले बताए। कार्यालयमा उपसचिवको दरबन्दी छ। तर, कार्यालयमा उपसचिव पठाइएको छैन। १० जना खरिदारको दरबन्दी रहेकामा ७ जना छन्। ७ जना नासुको दरबन्दीमा ४ जना छन्। ४ जना मालपोत अधिकृतको दरबन्दीमा ३ जना मात्र रहेकाले पनि सेवा दिन समस्या भएको कार्यालयले जनाएको छ।