हेरोइन छाडेर ‘मेडिकल ड्रग्स’
काठमाडौं : पछिल्लो समय प्रहरीले लागुऔषधका दुर्व्यसनीको झुकाव खैरो हेरोइन छाडेर मेडिकल ड्रग्समा हुन थालेको प्रहरी अनुसन्धानले देखाएको छ। दैनिकजसो मेडिकल ड्रग्स (डाइजेपाम, बुप्रेनर्फिन, फेनारगन, डाइजेल्याब, नाइट्राभेट)बरामद हुने गरेकाले त्यसलाई पुष्टि गरेको प्रहरीको भनाइ छ।
चालू आवमा मात्रै लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले मेडिकल ड्रक्स बुप्रेनोर्फिन पाँच हजार चार सय २४ एम्पुल र डाइजेपाम पाँच हजार नौ सय २९ एम्पुल, फेनारगन पाँच हजार आठ सय ७९ एम्पुल बरामद गरेको छ। यीसँगै १२ हजार चार सय तीन वटा नाइट्राजेपाम ट्याब्लेट, प्रोक्सिभन दुई सय ८८ क्याप्सुल र कोडिन ३५ बोतल बरामद गरेको एनसीबीले जनाएको छ।
मध्यमवर्गीय आर्थिक हैसियत बनाएका दुर्व्यसनीले प्रयोग गर्ने लागुऔषधभित्र पर्छ, खैरो हेरोइन। तर यसको कारोबार विगतका वर्षको तुलनामा यो वर्ष धेरै कम देखिएको प्रहरीले जनाएको छ। एनसीबीले चालू आवमा एक सय ५३ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
एनसीबीका काठमाडौंसहित काँकडभिट्टा, विराटनगर, वीरगन्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर आठ वटा शाखा कार्यालय छन्। ती कार्यालयले सम्बन्धित जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरेर लागुऔषध बरामद गर्दै आएका छन्। चालू आवमा एनसीबीले ८४ जना पक्राउ गरेको छ, जसमा विदेशी पाँच जना छन्।
भारतमा चिकित्सकको प्रेस्क्रिप्सनबिनै मेडिकल ड्रग्स बिक्री हुने भएकाले कारोबारीले यसको अवैध ओसारपसार गर्दै आएका छन्।
मेडिकल ड्रग्स दुर्व्यसनीमा अहिले बढी प्लस टु पढ्ने विद्यार्थीहरू बढी रहेको एनसीबीका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। दुर्व्यसनीलाई पक्राउ गरेर ल्याएपछि थप अनुसन्धान गर्दा अधिकांश उपत्यकाकै विभिन्न कलेजमा प्लस टु पढ्दै आएका विद्यार्थी भेटिएको उनको भनाइ छ। विशेषगरी मेडिकल ड्रग्स विराटनगरको जोगबनी, काँकडभिट्टा, सुनौली, वीरगञ्जलगायत सीमाबाट नेपाल भित्रिँदै आएको छ। भारतमा चिकित्सकको प्रेस्क्रिप्सनबिनै मेडिकल ड्रग्स बिक्री हुने भएकाले कारोबारीले यसको अवैध ओसारपसार गर्दै आएका छन्। ती कारोबारीले नेपालका विभिन्न सहरमा सञ्जाल बनाउँदै आएका छन्।
आर्थिक वर्षकै तथ्यांक हेर्ने हो भने मेडिकल ड्रग्सका अतिरिक्त अन्य लागुऔषध बरामद परिणाम ठूलो थियो। आव २०७४/७५ मा कोकिन चार किलो ६ सय ५८ ग्राम, अफिम नौ किलो ६ सय ५० ग्राम, खात ११ किलो सात सय ८१ ग्राम, मेथएम्फेटामाइन २० ग्राम र यावा ४० ग्राम बरामद गरेको थियो। चालू आवमा भने हेरोइनबाहेक अन्य लागुऔषध बरामद भएका छैनन्। ‘यो तथ्यांकले पनि के देखाउँछ भने दुर्व्यसनी र कारोबारी मेडिकल ड्रग्सतर्फ बढी केन्द्रित देखिन्छन्’, एसएसपी पोखरेलले भने, ‘प्रहरी सक्रियता झन् बढेको छ। हामी लागुऔषध ओसारपसार न्यूनीकरणमा गम्भीर भएर लागेका छौं।’
मेडिकल ड्रग्सतिर किन ?
एनसीबीले दुर्व्यसनीलाई नियन्त्रणमा लिएर गरिरहेको छ। अनुसन्धानमा उनीहरूले आर्थिक अवस्था कमजोर भएपछि मेडिकल ड्रग्सतर्फ लागेको बयान दिने गरेका छन्। डाइजेपाम, बुप्रेनर्फिन र फेनारगन गरी तीन वटा एम्पुल मिलाएर सिरिन्जमार्फत दुर्व्यसनीले प्रयोग गर्दै आएका छन्। यसको अवैध बजार मूल्य एक हजार पाँच सयदेखि एक हजार आठ सय रुपैयाँसम्म पर्छ। तर खैरो हेरोइनको एक ग्रामको मात्रै पाँच हजार अवैध मूल्य पर्छ।
‘पैसाका हिसाबले पनि मेडिकल ड्रग्स सस्तो पर्ने भएकाले दुर्व्यसनीले यसको बढी प्रयोग गर्दै आएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ’, एसएसपी पोखरेल भन्छन्, ‘दुर्व्यसनीको अवस्था भयावह छ।’ सजिलै किन्न पाइने र पक्राउ परेपछि सजायँ कम हुने भएकाले पनि यसको ओसारपसार बढेको हो। लागुऔषध नियन्त्रण एवं ओसारपसार ऐनअनुसार मेडिकल ड्रग्सको परिमाण हेरेर दुईदेखि १० वर्ष जेल सजायँको व्यवस्था छ।