अस्ट्रेलिया जाने विद्यार्थीलाई सजिलो बैंकिङ प्रक्रिया

अस्ट्रेलिया जाने विद्यार्थीलाई सजिलो बैंकिङ प्रक्रिया

अस्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभागले बैंकिङ कारोबारका लागि ‘क’ वर्गका सबै २८ वटा बैंकलाई मान्यता दिएको छ। विद्यार्थीहरूले यस्ता बैंकबाट लोन तथा नगद कारोबार गर्न पाउँछन्।


उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीको संख्या बढ्दो छ। अन्य देशको तुलनामा सहज भएका कारण अस्ट्रेलिया जाने विद्यार्थी बढी भएका हुन्। नेपाली विद्यार्थीले खोजेको शिक्षा र अवसर दुवै अस्ट्रेलियामा छ। भर्खर प्लस टु सकेकादेखि स्नातकोत्तरको अध्ययनका लागि अस्ट्रेलिया जाने गरेका छन्। तर आर्थिक हिसाबले हेर्ने हो भने नेपाली  विद्यार्थीको अस्ट्रेलिया सहज गन्तव्य भने होइन। प्रायः नेपाली विद्यार्थी ऋण काढेर त्यहाँ पढ्न जाने  गरेको पाइन्छ। यति हुँदाहुँदै पनि उनीहरूलाई सहज बनाइदिएको छ, सहज बैंकिङ प्रक्रियाले।  

भर्खर प्लस टु सकेका धादिङका अर्जुन थापा अस्ट्रेलिया पढ्न जाने तयारीका साथ आवश्यक प्रक्रिया अघि बढाइरहेका छन्। उनले आईईएलटीएस गरिसके। बैंकबाट शैक्षिक कर्जा लिएर स्नातक पढ्न अस्ट्रेलिया जाने उनको योजना छ। शैक्षिक कर्जा लिने प्रक्रिया बुझ्न सिद्धार्थ बैंक पुगेका उनी भन्छन्, ‘बैंकबाट करिब २५ लाख कर्जा लिएर पढ्न जाने योजना बनाएको छु। परिवारबाट सबै खर्च जुटाउन सकिँदैन। त्यसैले सो रकम बैंकबाट लिने तयारी गरिरहेको छु।’
शिक्षा मन्त्रालयमा नो अब्जेक्सन लेटरका लागि आवेदन दिने तयारीमा छु’, थापा भन्छन्, ‘अहिले बैंकिङ प्रक्रिया बुझ्न यहाँ आएको हुँ। बैंकबाट कर्जा लिएर विदेशमा पढ्न जाने तयारी थालेको हुँ।’ 
बैंकहरूले आवेदकको मागअनुसार लामो र छोटो दुवै अवधिको शैक्षिक कर्जा दिँदै आएका छन्। अध्ययन अवधि र परिवारको आम्दानी हेरेर बैंकले कर्जा प्रवाह गर्ने गरेको बैंकर्सको भनाइ छ। 
अभिभावकको ऋण तिर्न सक्ने क्षमताका आधारमा धितो राखेर कर्जा दिने गरेको सानिमा बैंकका  प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन्। ‘यस्तो कर्जाको माग बढ्दै छ’, उनी भन्छन्, ‘होमलोन जस्तै शैक्षिक लोन पनि १५ वर्षसम्म हामीले प्रदान गर्दै आएका छौं।’ 

अहिले बैंकहरूले साढे १२ देखि १३ प्रतिशत ब्याजदरमा शैक्षिक कर्जा दिँदै आएका छन्। अस्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभागले बैंकिङ कारोबारका  लागि ‘क’ वर्गका सबै २८ वटा बैंकलाई मान्यता दिएको छ। अहिले विद्यार्थीहरूले यस्ता सबै बैंकबाट लोन तथा नगद कारोबार गर्न पाउँछन्। अघिल्ला वर्षमा बैंकिङ कारोबारका लागि नबिल र एसबीआई बैंकलाई मात्रै मान्यता दिएको थियो।
‘पछिल्लो समय विदेशमध्ये पनि अस्ट्रेलियामा पढ्न जाने विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गएको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद गौतम बताउँछन्। ‘कर्जा उपलब्ध गराउन आवश्यक कागजात पूरा गरेका विद्यार्थीले सहजै लोन पाउँछन्’, गौतम भन्छन्, ‘उहाँहरूको धितोले सकार्न सक्ने कर्जा दिन हामीलाई कुनै आपत्ति हुँदैन।’

स्नातकोत्तरमा अध्ययन गर्नका लागि आईईएलटीएसमा कम्तीमा ६.५ ओभरअलमा आएको हुनुपर्छ। यो विश्वविद्यालय र कोर्सअनुसार फरक हुन्छ। त्यसैले सकेसम्म अस्ट्रेलियामा भविष्य र पीआरको सम्भावना भएको विषय छान्नु उत्तम हुन्छ। 

पछिल्लो समय नेपालबाट विशेषगरी नर्सिङ, इन्जिनियरिङ, हस्पिटालिटी, बिजनेस, पब्लिक हेल्थ, म्यानेजमेन्ट जस्ता विषय अध्ययन गर्न नेपाली विद्यार्थी अस्ट्रेलिया जाने गरेका छन्।  विश्वव्यापी मान्यताप्राप्त शैक्षिक डिग्री र रोजगारीको राम्रो अवसरका कारण अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको पनि आकर्षक शैक्षिक गन्तव्यका रूपमा रहेको छ। तर अस्ट्रेलियामा अध्ययन गर्न जानका लागि शैक्षिक स्तर भने राम्रो हुनुपर्छ। पछिल्लो समय प्लस टुमा प्रथम   श्रेणी नै चाहिने अवस्था छ। अंग्रेजी भाषामा निकै दक्ष हुनुपर्छ।

यसरी अस्ट्रेलिया जान चाहने विद्यार्थीको आर्थिक स्थिति पनि कम्तीमा शिक्षण शुल्क तिर्न सक्ने हुनुपर्छ। त्यसो त मध्यमस्तरका आय भएका नेपालीले समेत अस्ट्रेलिया अध्ययन गर्न सक्छन्। यद्यपि कम्तीमा १ वर्षका लागि भने घरबाट नै खर्च जोहो गरेर जानुपर्ने हुन्छ।

अस्ट्रेलिया जाँदा परामर्श केन्द्रबाट नै सबै प्रक्रिया गर्दा राम्रो हुन्छ। सबै कागजपत्रहरू तयार पारिसकेपछि आफूले छानेको कलेज र विषयमा आफू स्पष्ट हुनुपर्छ। उक्त कागजपत्रका आधारमा सबै कुराहरू पुष्टि भइसकेपछि कलेजले प्रस्ताव पत्र पठाउँछ। त्यसपछि सम्बन्धित कलेजले विद्यार्थीको वित्तीय प्रमाणीकरण माग्छ।

उक्त प्रमाणीकरण पत्रलाई कलेजले स्वीकार गरिसकेपछि विद्यार्थीलाई ६ महिना वा एक वर्षसम्मको शुल्क तिर्नका लागि प्रस्ताव राख्छ। सामान्यतया विद्यार्थीहरूले १ वर्षको शुल्क बुझाउने गर्छन्। भिसाका लागि आवेदन गरेको १५ दिनदेखि १ महिनाभित्रमा सामान्यतया भिसा आइसक्छ।

भक्तपुर बालकोटकी उमा अधिकारी नर्सिङ पढ्न अस्ट्रेलिया जाँदै छिन्। अस्ट्रेलियामा नर्सिङ पढेपछि सहजै राम्रो र आकर्षक तलबभत्ता सहितको जागिर पाइने उनको बुझाइ छ।  
अस्ट्रेलियामा अध्ययनका लागि सामान्यतया १५ लाखदेखि ४० लाखसम्म खर्च हुन्छ। अस्ट्रेलिया यस्तो शैक्षिक गन्तव्य हो, जहाँ अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन सकेपछि न्यूनतम दुई वर्ष यहीँ बसेर आफ्नो क्षेत्रमा काम गर्ने अवसर पाउँछन्।

धेरै मुलुकबाट अस्ट्रेलिया अध्ययनका लागि जानुको  कारण यो पनि हो। अस्ट्रेलियाको अध्यागमन व्यवस्थाअनुसार उच्च तह (स्नातक वा स्नातकोत्तर)को अध्ययन सकेको विद्यार्थीले दुई वर्षको ‘पोस्ट स्टडी वर्क’को समय पाउँछ। यो त्यही समय हो, जतिखेर पूरै समय 
काममा लगाएर अध्ययनका लागि गरेको सबै लगानी उठाउन सकिन्छ। शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिने विद्यार्थीमध्ये सबैभन्दा बढी अस्ट्रेलिया जाने रहेका छन्। २०७४ सालमा मात्र अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीको संख्या २९ हजार पुगेको छ। 

यस्तो छ बैंकिङ प्रक्रिया
विद्यार्थीलाई अध्ययनका लागि सम्बन्धित कलेजबाट अफर लेटर आएपछि बैंकमा गएर शैक्षिक कर्जा लिन आवेदन दिनुपर्छ। शैक्षिक कर्जा आवेदन फर्म बैंकले तयार पारेको हुन्छ। मात्र विद्यार्थी त्यो फर्म भरे पुग्छ। खर्चको विवरणसमेत भर्नुपर्ने उक्त फर्ममा अध्ययन गर्ने संस्था÷कलेजको नाम, ठेगना, अध्ययन गर्ने तह, अध्ययन अवधिसमेत खुलाउनुपर्ने हुन्छ। 

विद्यार्थीले खर्चको विवरणमा कलेज र होस्टेललाई तिर्नुपर्ने शुल्क, परीक्षा÷पुस्तकालय÷ल्याब शुल्क तथा परीक्षा तयारी, यात्रा र विशेष अध्ययन गर्दा लाग्ने खर्चसमेत खुलाउनुपर्ने हुन्छ। पढ्न जाने विद्यार्थीले बैंकबाट लोन लिनका लागि भने  धितोबापत  चल/अचल सम्पत्तिको विवरण खुल्नुपर्ने हुन्छ। बैंकहरूले एकाघर परिवारको आम्दानीको विवरणका आधारमा विद्यार्थीलाई कर्जा उपलब्ध गराउँदै आएका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.