अब्बल पढाइ, आकर्षक कमाइ

अब्बल पढाइ, आकर्षक कमाइ

आफू जाने मुलुक, त्यहाँको शैक्षिक तथा आर्थिक वातावरण, पढ्ने विषय आदिबारे विद्यार्थी आफैंले सत्य सूचना खोज्न सक्नुपर्छ।


अनिषा तिवारीले दस जोड दुईको नतिजा सार्वजनिक भएपछि थप अध्ययनका लागि विदेश जाने योजना बनाइन्। परामर्श केन्द्रमा जाँदा उनलाई अधिकांशले अस्ट्रेलिया जाने सल्लाह दिए। कारण थियो, ‘त्यहाँको स्तरीय पढाइ र आकर्षक कमाइ।’ ‘परामर्शकै क्रममा अमेरिका, न्युजिल्यान्ड, जापानलगायतका मुलुक जान सल्लाह दिने पनि भेटिए। तर अहिलेको परिवेशमा अस्ट्रेलिया नै जाँदा उत्तम हुने राय धेरैको रह्यो’, तिवारीले भनिन्, ‘उहाँहरूको सल्लाहलाई गहिरिएर सोच्दा ठीकै जस्तो लाग्यो। सूचना प्रविधि विषय पढ्ने निक्र्योल गरिसकें। कुन विश्वविद्यालय जाने भन्ने विषयमा भने छलफल गरिरहेकी छु।’

हातमा डिग्रीको प्रमाणपत्र बोकेका दाइदिदीहरूले रोजगारीका लागि भौंतारिरहेको दृश्य र रोजगारीमा लागेकाहरूको पनि आम्दानी र खर्चको अनुपात हिसाब गर्दा स्वदेश बस्दा  सहज जिन्दगी बिताउन नसक्ने देखेर विदेश जाने सोच पलाएको तिवारीको भनाइ छ। 
‘स्वदेशमा बस्दा स्नातक सकिएपछि रोजगारी खोज्न बजारमा गयो भने पहिलो कुरा त रोजगारी नै पाइँदैन। अर्को कुरा, रोजगारी मिल्यो भने पनि काठमाडौंमा बसेर कोठा भाडा तिर्न पनि नसक्ने तलब हुन्छ’,  विदेश जान शैक्षिक परामर्श केन्द्र धाइरहेका रामु लोहनी  पनि अनिषाको भनाइमै सहमत जनाउँदै भन्छन्, ‘एकदुई वर्ष दुःख गर्‍यो भने अस्ट्रेलियामा लाइफ सेटल हुन्छ भन्ने सुनेको छु। यही लोभले मलाई अस्ट्रेलियातर्फ डोर्‍यायो।’

स्वदेशमा रोजगारी पाउने छाँट नदेखेपछि बिदेसिने योजना बनाउने विद्यार्थीहरूमध्ये अनिषा र रामु त केही पात्र मात्र हुन्। उनी जस्ता हजारौं विद्यार्थीहरू अहिले उच्च शिक्षा र सुरक्षित भविष्यको खोजीमा वर्षैपिच्छे बिदेसिइरहेका छन्। अलिकति राम्रो शैक्षिक योग्यता हुनेहरू थप अध्ययनसँगै रोजगारीमा पनि लाग्ने सपना बुनेर युरोप, अमेरिका, अस्ट्रेलियालगायतका मुलुक गएका छन्। रोजगारीमा मात्र लागेर जसरी पनि पैसा मात्र कमाउने उद्देश्य राखेकाहरू दुबई, मलेसिया, कतारलगायत खाडी मुलुक र युरोपतिर लागेका छन्। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाका अनुसार पछिल्ला १० वर्षको अवधिमा हरेक वर्ष वैदेशिक शिक्षाका लागि मात्र विश्वका ७० मुलुकमा विद्यार्थी जाने गरेका छन्। तीमध्ये धेरै विद्यार्थीको आकर्षण अस्ट्रेलिया नै रहेको छ। परामर्श व्यवसायीहरूको एउटा संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेका अनुसार मुलुकभर सञ्चालित परामर्श संस्थामध्ये ७० प्रतिशतभन्दा बढीले अस्ट्रेलियाका लागि विद्यार्थी पठाउने गरेका छन्। ‘अस्ट्रेलिया मात्र पठाउने संस्था २० प्रतिशतको हाराहारीमा छन्। तर अधिकांशले बाँच्ने आधार अस्ट्रेलियालाइ नै बनाएका छन्’, पाण्डे भन्छन्। 

किन अस्ट्रेलिया ?           

अस्ट्रेलिया विदेशी विद्यार्थी आकर्षण गर्ने विश्वका मुलुकमध्ये उत्कृष्ट तीनमा पर्छ। अन्य दुई मुलुकमा अमेरिका र बेलायत छन्। यहाँका अधिकांश विश्वविद्यालयहरू विश्वका उत्कृष्ट पाँच सय विश्वविद्यालयभित्र पर्छन्। ग्लोबल रिचका नेपाल निर्देशक नारायण बजाजका अनुसार अस्ट्रेलियामा रहेका ४२ वटा विश्वविद्यालयमध्ये चार वटा त विश्वका उत्कृष्ट एक सयभित्र नै पर्छन्। 

पढाइको स्तरको साथमा विदेशी विद्यार्थी आकर्षण गर्ने अस्ट्रेलियाले अपनाएको दिगो नीति पनि अर्को कारण हो। बेलायत, अमेरिकाले जस्ता मुलुकले विदेशी विद्यार्थीका लागि बारम्बार राष्ट्रिय नीति बारम्बार परिवर्तन गरिरहन्छ। अमेरिकाको बदलिँदो परिस्थितिका कारण बनेको अस्थिर बजार, नेपाल आफ्नो सम्भावित बजार नरहेको क्यानडाको बुझाइ र बेलायतको पनि बारम्बार परिवर्तन भइरहने नीतिका कारण नेपाली विद्यार्थीको रोजाइमा अस्ट्रेलिया परेको परामर्श व्यवसायीको भनाइ छ। ‘अस्ट्रेलिया यी सबै विषयमा स्थिर छ। उसले बनाएको नीति विद्यार्थीमैत्री छ’, बजाज भन्छन्, ‘अन्य मुलुकको तुलनामा अस्ट्रेलियन डलर केही सस्तो भएका कारण पनि यतातर्फ विद्यार्थी बढेका हुन्।’

अस्ट्रेलिया विदेशी विद्यार्थी आकर्षण गर्ने विश्वका मुलुकमध्ये उत्कृष्ट तीनमा पर्छ। त्यहाँ रहेका ४२ वटा विश्वविद्यालयमध्ये चार वटा विश्वका उत्कृष्ट एक सयभित्र पर्छन्।

इक्यानका निवर्तमान अध्यक्ष पाण्डेका अनुसार विदेशी विद्यार्थीको लगानी सुरक्षित गर्न अस्ट्रेलियन सरकारले एजुकेसन सर्भिसेज फर इन्टरनेसनल स्टुडेन्ट (ईएसओएस) कानुन पनि बनाएको छ, जुन कानुनुले विदेशी विद्यार्थी र ती विद्यार्थीलाई पढाउने शैक्षिक संस्थाको नियमन गर्छ। ‘यदि कुनै कारणले विद्यार्थी पढेका शैक्षिक संस्था बन्द भयो भने उसको लगानी डुब्दैन। सम्बन्धित विद्यार्थीलाई सरकारले नै अर्को शैक्षिक संस्थामा स्थानान्तरण गरिदिन्छ,’ पाण्डे भन्छन्, ‘यस्ता कानुन विरलै मुलुकले बनाएको हुन्छ।’

अस्ट्रेलियामा अध्ययन पूरा गरेपछि विदेशी विद्यार्थीले पढाइको तहअनुसार दुईदेखि चार वर्षसम्म काम मात्रै गर्ने अवसर दिएको छ। जसलाई पोस्ट स्टडी वर्क (पीएसडब्ल्यू) भनिन्छ। त्यसबाहेक हरेक साता न्यूनतम २० घण्टा काम गर्ने अवसर विदेशी विद्यार्थीलाई हुन्छ। उनीहरूलाई काम गरेबापत प्रतिघण्टा न्यूनतम १८ डलर दिनैपर्ने नियम सरकारले बनाएको छ। यस नियसमले पनि विदेशी विद्यार्थीलाई ठूलो राहत दिएको बजाज बताउँछन्। 

के के छन् प्रक्रिया ?          
उच्च शिक्षाका लागि विदेशा जाने योजना बनाएका विद्यार्थीले सर्वप्रथम आफू जान चाहेको मुलुक र त्यहाँको सरकार र शैक्षिक संस्थाले मान्यता दिएको भाषा परीक्षणसम्बन्धी परीक्षा उत्तीर्ण हुनुपर्छ। यसका लागि विद्यार्थीले आईईएलटीएस, टोफल, पीटीई वा क्याम्ब्रिज एडभान्स इङलस कोर्समध्ये एकको परीक्षा दिनुपर्दछ। यस्तो कोर्समा विद्यार्थीले प्राप्त गर्नुपर्ने अंक विद्यार्थीले पढ्न चाहेका विश्वविद्यालय र विषयअनुसार फरकफरक हुन सक्छ।

परामर्श व्यवसायीका अनुसार विद्यार्थीले पढ्न चाहेको कलेज वा विश्वविद्यालय र विषय छनोट गरिसकेपछि अध्ययनका लागि आवश्यक पर्ने शुल्क, विद्यार्थीले पढ्ने समयभर लाग्ने खर्चको जोहो गर्नुपर्दछ। यसका लागि विद्यार्थीले नेपालमा सम्बन्धित मुलुकको सरकारले मान्यता दिएको वित्तीय संस्थामा आफूलाई पढाइ खर्च र त्यहाँ जाँदा लाग्ने शुल्कबाहेक आवश्यकताअनुसार अन्य रकम पनि जम्मा गर्नुपर्ने हुन्छ।

मुलुकअनुसार जम्मा गर्नुपर्ने रकम र कारोबार गरिरहेको समव अवधि पनि फरकफरक हुनुपर्छ। यति गरिसकेपछि विद्यार्थीले भाषा परीक्षण परीक्षाको नतिजा, बैंक ब्यालेन्सलगायत आफूले पढ्न चाहेको कलेजले पठाएको कन्फर्मेसन अफ इन्रोलमेन्ट (सिओई)सहित अन्य कागजपत्र लिएर भिसा प्राप्तिका लागि निवेदन दिनुपर्दछ। भिसाको लागि निवेदनसँगै विद्यार्थीले सम्बन्धित मुलुकका दूतावासले तोकेको मापदण्ड अथवा उसैले तोकेको मेडिकलमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्दछ। साथै उनीहरूले बायोमेट्रिक परीक्षण पनि गर्नुपर्दछ।

यी सबै प्रक्रिया पूरा गरिसकेपछि कहिलेकाहीँ सम्बन्धित मुलुकका दूतावासले थप अध्ययनका लागि थप कागजपत्र माग्न पनि सक्दछ। अथवा टेलिफोनबाट पनि सम्बन्धित विद्यार्थीसँग केही जानकारी लिन पनि सक्दछ। यी सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले भिसा पाएपछि आफू अध्ययन गर्न जाने कलेजको ठेगाना, त्यहाँ गएपछि बसोवास गर्ने स्थान तथा विमानस्थलबाट आफू बस्ने स्थानसम्म लिन पुग्ने तरिकाबारे अध्ययन गर्नुपर्दछ। यस्तो बेलामा कहिलेकाहीँ विद्यार्थीले परामर्श दातृ संस्थामार्फत बसोवासको चाँजापाँजो मिलाउन पनि सक्नेछन्।तर मेन्टर इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक हेमन्त भट्टराई भने विद्यार्थी पूर्ण रूपमा परामर्श दातृ संस्थामा मात्र भर पर्न नहुने बताउँछन्।

अस्ट्रेलिया वा अन्य जुनसुकै मुलुक जाने योजना बनाएका विद्यार्थी भए पनि उनीहरू आफैं जागरूक भएर अध्ययन गर्नुपर्ने उनको भनाइ छ। ‘आफू जाने मुलुक, त्यहाँको शैक्षिक तथा आर्थिक वातावरण, पढ्ने विषय आदिको बारेमा विद्यार्थी आफैंले सत्य सूचना खोज्नु सक्नुपर्छ’, भट्टराई भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.