अर्जेन्टिनी फुटबलर साला सवार जहाज समुद्रमा भेटियो
लण्डन : प्रतिभाशाली अर्जेन्टिनी फुटबलर एमिलियानो सालालाई लिएर फ्रान्सबाट बेलायततर्फ उडेको जहाज तीन सातापछि समुद्रमा भेट्टिएको छ। फ्रान्सेली क्लब नान्तेसबाट इङ्लिस क्लब कार्डिफमा आवद्ध भएपछि त्यहाँतर्फ आउने क्रममा उनी सवार जहाज इङ्लिस च्यानल (समुद्र) मा खसेर बेपत्ता भएको थियो ।
बेलायतको चर्चित अनलाइन डेली मेलले सालाका बाबु इमिलियानो सालालाई उधृत गर्दै लेखेको समाचार अनुसार गोताखोरहरुले इङ्लिस च्यानलको पिँधमा जहाजको भग्नवाशेष फेला पारेका हुन् ।
'यो समाचार मेरा लागि 'साह्रै खराब सपना' भएको छ', उनले भनेका छन्, 'छोरो सवार जहाज समुद्रको पिँधमा भेट्टिएको खबर मलाई खोजकार्यमा जुटेका गोताखोरले गराएका छन्, हामी स्तब्ध छौँ ।'
सालालाई लिएर नान्तेसबाट कार्डिफका लागि २१ जनवरीमा उडेको जहाजका पाइलट थिए ५९ वर्षीय डेभिड इब्बोट्सन । गोताखोरहरुले जहाजको भग्नवाशेष फेला पारे पनि साला र उनका पाइलटको शव अझै भेट्टाउन सकेका छैनन् ।
इङ्लिस च्यानलमाथिको आकाशबाट जहाज बेपत्ता भएदेखि खोजी थालिएको थियो । पटक पटक खोज्दै स्थगित भएको यो अभियानलाई अघि बढाउन लियोनेल मेसीसहितका अर्जेन्टाइन खेलाडीहरुले रकम पनि पठाएका थिए ।
जहाज दुर्घटनामा पर्नुअघि साला परिवारमा ह्वाट्सएप भ्वाइस म्यासेज पनि पठाएका थिए । उनले त्यो म्यासेजमा जहाज जटिल अवस्थामा उडिरहेको बताएका थिए ।
प्रारम्भिक सन्देशमा उनले आफू आत्तिएको बताएका थिए । उनले आफ्नो साथीमार्फत उक्त सन्देश अरु कसैलाई पठाएर आफूलाई खोज्नसमेत आग्रह गरेका थिए । तर जहाज हराएको दुई सातापछि समुद्रको पिँधमा भेटिएको हो ।सालाको खोजीमा जहाज, हेलिकप्टर र डुंगा परिचालन गरिएको थियो । च्यानल आइसल्याण्ड एयरका प्रमुख जोन फिट्जरल्याण्डले साला जीवीत भेटिनेमा आफू आशावादी नरहेको प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, 'म व्यक्तिगत रुपमा आशावादी छैन ।'
फ्रेन्च क्लब नान्तेसबाट कार्डिफमा आवद्ध भएपछि नयाँ टिमबाट खेल्ने तयारीका लागि वेल्सतिर जाँदै गर्दा साला चढेको विमान हराएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको क्लबले जहाज बुक नगरेकाले उनी आफैँले खर्च गरेर जहाज बुक गरेका थिए ।
सन् २०१५ मा नान्तेस क्लबमा जोडिएसँगै साला एक्लैले फ्रेन्च लिगमा ४८ गोल गरिसकेका थिए । प्रभावशाली अर्जेन्टिनी खेलाडी सालाको जीवनका लागि उनका प्रसंशक र शुभचिन्तकले प्रार्थना पनि अपुरो भएको छ ।