हिउँको थुप्रोमाथि पढाई
बेसीशहर : खुट्टा भासिने बाक्लो हिउँ, उत्तिकै चिसो । तर विद्यालयमा पठनपाठन सुरु गर्ने चटारो । एकसाता अघि परेको हिउँ बिलाएको अझै बिलाएको छैन मनाङमा । तर, चिसोले विदा भएको सदरमुकाम चामेको एक विद्यालयले भने हिउँमै पढाई सुरु गरेको छ ।
चामेस्थित लोकप्रिय माविले आइतबारदेखि पढाई सुरु गरेको हो । विद्यालयका प्रधानाध्यापक सुरेश थापाका अनुसार कुल २ सय ६१ मध्ये एकसय विद्यार्थी पढ्न आएका छन् ।
बाँकी विद्यार्थी आउने क्रममा रहेको उनले बताए । ‘खुट्टा गाडिने हिउँ छ, विद्यालय वरपर, बाटो जताततै हिउँ नै हिउँ’, प्रधानाध्यापक थापाले भने, ‘विद्यालयको हिउँ शिक्षक, विद्यार्थी र सेना मिलेर सफा गर्दै पढाई सुरु गरेका छौँ ।’
वरपर सबैतिर हिउँ भएकाले चिसो हावा चल्दा पठनपाठनमा समस्या भएको उनले बताए । पुस १ गतेदेखि बन्द भएको त्यो विद्यालय माघ १६ गतेबाट सञ्चालन गर्ने भनिएको थियो ।
तर हिमपात नरोकिएपछि ४ दिनपछि सुरु गरिएको प्रअ थापाले बताए । ‘आइतबार एक÷दुई पिरियड पढाइयो, सोमबारदेखि सबै पिरियड पढाउँछौँ’, थापाले भने, ‘शिक्षकहरु सबै आइसक्नुभएको छ, विद्यार्थीलाई पनि खबर गरिरहेका छौँ ।’
सदरमुकामको लोकप्रियय बाहेक अन्य विद्यालय भने सुचारु हुन सकेका छैनन् । हिउँ नहटेकाले माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिकाका सबै विद्यालय बन्द छन् । नार्पाभूमिको नार र फूका विद्यालय पनि बन्द छन् । तल्लो मनाङमा पर्ने नासों गाउँपालिकाका विद्यालय पनि बन्द रहेको शिक्षकहरुले बताएका छन् ।
मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रनाथ पौडेलले फागुन १६ बाट मात्र विद्यालय खुल्ने बताए । सो विद्यालय मङ्सिर २५ गतेदेखि बन्द भएको थियो ।
नासों गाउँपालिका ५ थोंचेस्थित प्रकाशज्योति माविका प्रधानाध्यापक पदमराज पन्थीका अनुसार तल्लो क्षेत्रका विद्यालयहरु पनि सुचारु भएका छैनन् । पुस ३ गतेबाट यहाँका विद्यालय बन्द भएका थिए । फागुन १ गतेबाट विद्यालय सञ्चालन हुने उनले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख खुलानाथ गौतमका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ । स्थानीय बिदा पाँच दिन पाउँछन् ।
तर, माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ । मनाङमा २६ वटा सामुदायिक विद्यालय छन् । यसमा कक्षा १२ सम्म पढाई हुने २ वटा मावि र कक्षा १० सम्म पढाई हुने २ वटा मावि छन् । बाँकी आधारभूत विद्यालय छन् ।