विप्लवका कार्यकर्ताले बर्दियामा गरे जग्गा कब्जा
काठमांडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बर्दियास्थित व्यक्तिको जग्गा माओवादी जनयुद्धकालिन शैलीमा कब्जा गरेका छन् ।
नेकपाको भ्रातृ संगठनकै रुपमा रहेको जनपरिषद् नेपाल नामको संगठनका बर्दिया प्रमुख टिकाराम थारुले हस्ताक्षर गरेको प्रेस विज्ञप्ति समेत सार्वजनिक भएको छ ।
बाँसगढी नगरपालिका–३ स्थित लखनाचोकमा गोविन्दलाल कायस्थ र मुन्नादेवी कायस्थको नाममा रहेको ३ कट्ठा १० धुर जग्गामा उनीहरुले ब्यानर सहितको सूचना तथा झण्डा गाडी जग्गा कब्जा गरेको घोषणा गरेका हुन् । तर विज्ञप्तिमा हस्ताक्षर गर्ने थारु लगायत यस संगठनसँग सम्बन्धित कार्यकर्ताहरु भूमिगत रुपमा छन् ।
जग्गामा कसैको हकदावी नहुनेगरी जनपरिषद नेपाल बर्दिया जिल्लाको अधिनमा रहेको सूचना सहितको ब्यानर त्यहाँ गाडिएको थियो । स्थानीय भूमिहीन कमान सिंह थारुले जोतभोग गर्दै आएको जग्गा विभिन्न शर्तमा फसाइ कायस्थका नाममा दर्ता गरिएको आरोप जनपरिषदको छ ।
जग्गामा गाडिएको झण्डा र ब्यानर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताए । उक्त जग्गामा झण्डा गाड्ने व्यक्तिहरुको तिव्र रुपमा खोजी भइरहेको पनि उनले जानकारी दिए ।