धान छाडेर उखुखेती
खुँदो सजिलै बिक्री हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन्।
पोखरा : पोखराको साविक लेखनाथ नगरपालिकाको मालेपाटन र ढोडबेसीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन्। परम्परागत रूपमा उखुखेती गर्दै आएका किसानले चिनी उत्पादनभन्दा पनि उखु पेलेर खुँदो बिक्री गर्न सकिने भएपछि यसमा आकर्षण बढेको हो।
उखुबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय मालेपाटन कृषि सहकारीले पाँच रोपनी धानखेत भाडामा लिएर सामूहिक रूपमा दुई वर्षदेखि उखुखेती गरिरहेको छ। जोखिम कम हुने, धानभन्दा धेरै आम्दानी लिन सक्ने भएकाले सहकारीले उखुखेती गरेको सहकारीका अध्यक्ष नारायणप्रसाद वाग्ले बताउँछन्। उखुखेती गर्दा सहकारीका सबै सदस्यले सामूहिक श्रमदानसमेत गर्दै आएका छन्।
सिँचाइ अभावमा प्रतिरोपनी मुस्किलले दुई मुरी धान उत्पादन हुन्थ्यो। जग्गा भाडामा लिएर उखु लगाएर गत वर्ष खुँदो बनाउँदासम्मको खर्च कटाएर सहकारीले एक लाख ३२ हजार आम्दानी गरेको उनले बताए। यसवर्ष भने उखुको आँकुरा कम आएको, बाँदरले उखु च्यातेको र छाडा गाईभैंसीले नोक्सान गर्दा आम्दानी घट्ने उनले सुनाए। लगातार तीन वर्ष उखुखेतीबाट आम्दानी लिएपपछि चौथो वर्ष पनि त्यही खेतबारीमा उखु नै लगाउँदा कम उत्पादन हुने भएकाले एक वर्ष अर्कै बाली लगाएर फेरि उखुखेती लगाउँदा राम्रो उत्पादन हुने उनको भनाइ छ।
उखुखेतीबाट राम्रो आम्दानी भएपछि स्थानीय किसान नारायणप्रसाद पाण्डेले थप तीन रोपनी खेत भाडामा लिएर उखुखेती गरेको बताए। धानभन्दा उखु लगाउँदा १० गुणा बढी फाइदा हुने उखु पेल्ने मेसिन व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पाण्डेले अन्नपूर्णसँग बताए। उखुखेतीलाई प्रविधिमैत्री बनाउन सरकारले सहयोग गरे महिनामा ३०÷४० हजारका लागि विदेश जाने युवा आफ्नै घरबारीमा खेती गरेर रमाउने उनले सुनाए।
उखुलाई धेरै सिँचाइ गर्नु पर्दैन। वर्षको एकपटक डुबाएर हुने भए पनि त्यसलाई सिँचाइ अभाव भएको स्थानीय किसानले बताए। पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेसीमा परम्परागत रूपमा उखुखेती गरिँदै आएको हो। पहिले उखु पेल्दा मान्छे नै प्रयोग हुने गरेको स्थानीय किसान गोपीराज वाग्लले सुनाए। पछि गोरुको प्रयोग भयो। तीन वर्षदेखि उखु पेल्ने मसिन आएकाले सहज भएको उनले सुनाए।
मेसिनले उखुको रस निकालेपछि माटोको कराइमा उखुको रस पकाएर खुदो निकाल्ने गरिन्छ। मेसिन आएपछि युवा पनि उखुखेतीतर्फ आकर्षित भएको उनले बताए। पोखराको मालेपाटन र ढोडबेसीमा व्यावसायिक उखुखेती गरेर वर्षमा २०-२० लाख गरी ४० लाख आम्दानी हुने गरेको स्थानीय किसान नारायणप्रसाद पाण्डेले बताए। मालेपाटनमा ४५ घर परिवारले उखुखेती गर्दै आएका छन्। ढोडबेसीमा ४२ घर परिवारले उखुखेती गर्दै आएको पनि उनले सुनाए।
६ रोपनी जमिनमा उखुखेती गरेको स्थानीय किसान तुलसी तिमिल्सिनाले खर्च कटाएर गत वर्ष एक लाख ३० हजार आम्दानी गरेको सुनाए। सामूहिक उखुखेती गर्दै आएको मालेपाटन कृषि सहकारीको सेयर पँुजी ४४ लाख छ।
३० वर्ष अघि कास्कीको मालेपाटन र ढोडबेसीमा परम्परागत रूपमा करिब २०-२२ रोपनीमा उखुखेती हुन्थ्यो। मालेपाटनमा १२÷१५ जना किसानले उखुखेती गर्थे। ढोडबेसीमा पनि १२-१५ जना किसानले उखुखेती लगाउँथे। अहिले एक÷एक हेक्टर जमिनमा उखुखेती हुँदै आएको स्थानीय किसान वाग्लेले बताए। उत्पादन बढाउन सरकारले मेसिनलगायत आधुननिक औजार र बीउ खरिदमा अनुदान दिनुपर्ने किसानको माग छ।