सार्वजनिक यतायातमा अत्यासलाग्दो यात्रा
साँझ ५ :३० बजे। रत्नपार्कस्थित शान्तिवाटिकाअघि करिब १५ सय मानिस जम्मा भएका थिए। झट्ट हेर्दा कुनै सभा समारोहका लागि जम्मा भए जस्ता देखिन्थे। उनीहरुको आँखा बागबजारतर्फको आकाशेपुलमूनि सोझिएको थियो। जब पुलमूनि गाडी देखिन्थ्यो मानिसहरु आत्तिँदै पोकापुन्तरा बोकेर ढोकामा झम्टिन्थे।
त्यही भिडमा बैसाखी टेकेर उभिरहेका थिए एक अपांग। उनको साथमा थियो ठूलो झोला। उनी माइक्रोको ढोकातर्फ जान कोसिस गरिरहेका थिए। तर, भिडले धकेलेर उनलाई किनारामा पुर्याइदिन्थ्यो। उनी फेरि अगाडि बढ्थे। भिडले फेरि धकेलेर किनारामा पुर्याइदिन्थ्यो। भिड कम हुँदै गएपछि बल्ल उनको पालो आयो। तर पनि माइक्रोमा खुट्टासम्म राख्ने ठाउँ थिएन। उनी अकमक्क भएर ढोकामा उभिइरहे।
‘खै अपांगको सिट ? ’ एक महिला ठूलो स्वरले कराउँदै आइपुगिन्। हिँड्न लागेको गाडि रोकियो। सहचालक अकमक्क परे। अपांगलाई नियालेर हेरे। अपांग सिटमा बसिरहेका थिए एक अधवैसे पुरुष। ढोकाको गलफत्ती उनले नसुनेझैँ गरिरहे। ति महिला फेरि कराउन थालिन्, ‘खै अपांग सिट ? उहाँलाई छाडिदिनु पर्यो एउटा सिट।’ कसैले सिट छाडेनन्। अपांगसिटबाट ती अधवैसे उठ्दै उठेनन्। निकै बेरपछि महिला सिटबाट एकजना अनकनाउँदै उठिन्। त्यहीं बसे अपांग। सहचालकले ढोका लगाए। बा १ ज १२९५ को माइक्रो जमलतर्फ हुँइकियो।
माकलबारीदेखि रत्नपार्कतिर गरेको निलो माइक्रोका चालक धनिराम चौधरी निरास थिए। गौरीघाटसम्म उनको माइक्रोमा भरिभराउ थियो। केही यात्रु ढोकामै झुण्डिएका थिए। मित्रपार्क चोकमा पुग्दा माइक्रो रित्तो भयो। धनीरामले आफ्नो माइक्रोमा चढेका यात्रीहरु नियाले। कुनै यात्री नदेखेपछि गौशालातर्फ दौडाए। निरास हुँदै उनले भने, ‘मित्रपार्कको उकालोमा माइक्रोले तान्दैन। चोकमा गएर बस्नु, त्यहाँ पुग्दा कोही हुँदैन। भाडै नदिइ सबै भाग्छन्।’ १८ वर्षदेखि माइक्रो चलाउँदै आएका सुनसरीका धनीराम निकै दु :खी थिए। उनी भन्दै थिए, ‘गाडी चढेपछि भाडा दिनुपर्छ भन्ने थाहा हुँदैन ? ’
आइतबार बेलुकी ६ बजे। पुरानो बसपार्कबाट ठिमीका लागि माइक्रो छुटयो। बा.२ ख. २५७७ को सवारी यात्रुले भरिएको थियो। तर सहचालक अझै मान्छे बोलाईरहेकै थिए।
‘अलि पछि सर्नुस् भनेको सुन्नुभएन ? ’ ढोकै छेउ उभिएका एक यात्रुलाई खलासीले सात्तो लिए। रिसाउँदै यात्रुले भने, ‘ठाउँ हुनुपरेन सर्न ? एकोहोरो कराएर मात्रै हुन्छ ? ’ बल्लबल्ल गाडीको ढोका लाग्यो। गाडी सिंहदरबार अगाडि पुग्यो। सहचालकले फेरि पछि सर्नु भन्दै कराए। उनले रुखो स्वरमा भने, ‘नसर्ने भए ओर्लिनुस्।’ एक यात्रुले भिडबाट कराए, ‘अघि किन चढाइस् ? बिच बाटोमा आराल्ने ? मुख सम्हालेर बोल्।’
पुरानो वसपार्कको दक्षिणकाली जाने रुट नं २२ मा पुरानो बस अघि उभिएकी थिइन्, बौद्धकी सरला न्यौपाने। चार वर्षे छोरासँगै उभिरहेकी उनी बस चढ्न नसकेर छेउ लागेकी थिइन्। उनले दिक्क मान्दै भनिन्, ‘यो दक्षिणकालीको बस कहिले नसुध्रिने भयो। जहिल्यै खाँदाखाँद हुन्छ। कहिलेकाहीँ त तीन लाइन उभ्याएर लैजान्छन्। सहचालकहरू पनि असाध्यै रिसाहा हुन्छन्।’
फर्पिङ घर भएका अर्का एक यात्रुले भने, ‘म सानो छँदा पनि बसको हालत यस्तै थियो, बूढो हुन लागिसकेँ, अहिले पनि त्यस्तै छ। २० किलोमिटर पनि दुई सय किलोमिटरजस्तो लाग्छ।’ उनका अनुसार अफिस टाइममा फर्पिङबाट आउने बसमा यति भीड हुन्छ कि यात्रुलाई इँटा भट्टामा बसेको जस्तो हुन्छ। ‘इँटा चाङ लगाएजस्तो मान्छे चाङ लगाउँछन्,’ उनले भने, ‘सानो बसमा सय जना यात्रु हालेर कुदाउँछन्।’ यस्तै यात्रुले भरिएको बस केही महिनाअघि फर्पिङ नजिकै दुर्घटना भएको उनको आँखामा ताजै छ। गम्भीर हुँदै सुनाए, ‘चार जनाको मृत्यु भएको थियो।’
उपत्यकाको सार्वजनिक यातायातमा देखिएका चार प्रतिनिधि घटना हुन् यी। सार्वजनिक सवारी साधनमा हुनुपर्ने सुविधाबारे सरकारले मापदण्ड तोकेको छ। तर, अधिकांश सवारी साधन मापदण्ड अनुसार छैनन्। सडकको धुलो, धुँलो र जाम मात्रैले यात्रा टुंगिँदैन। गाडीभित्र टाउको ठोकाएर, निउरिएर, ढाड बांगो पारेर, ढोकामा झुण्डिएर, चालक÷सहचालकको दुव्र्यहार सहेर हरेक दिन यात्रा गर्न बाध्य छन् यात्रु।
अन्नपूर्णकर्मीले राजधानीका विभिन्न गन्तव्यमा गुड्ने सार्वजनिक यातायातमा गरेको निगरानी यस्ता छन् :
रत्नपार्कदेखि जोरपाटीसम्म
आइतबार १२ बजे। थली जाने माइक्रो भरिएको थियो। तर अझै यात्रु बोलाइरहेका थिए सहचालक। केही यात्रु ढाड कुप्रो बनाएर माइक्रोभित्र पसे। आठ दशजना यात्रु आधा शरीर झुकाउँदै उभिएपछि बल्ल गाडी गुड्यो।
माइक्रो धुलो उडाउँदै चावहिल पुग्यो। माइक्रोमा खुट्टा टेक्ने ठाउँ थिएन, तर सहचालक यात्रु बोलाइरहेकै थिए। यात्रु थपिँदै जाँदा ढोका बन्द गर्न समेत गाह्रो भइसकेको थियो। उभिनेहरु सकसमा उभिएका थिए। सिटमा बस्नेहरु पनि सकसमै थिए। सिट बिगारेर साँघुरो बनाइएको थियो। दुईजना अट्ने सिटमा तीन जना राखिएको थियो। भित्र उकुसमुकुस हुन्थ्यो, ढोका खोल्दा धुलो जम्मै भित्र पस्थ्यो। चावहिल नाघेपछि पछिल्लो सिटमा एउटी बालिका रुन थालिन्। तोते बोलिमा उनले भनिन्, ‘मम्मी गाह्रो भयो।’ उनकी आमा कहिले छोरीको टाउको समाउँथिइन्, कहिले आँखा चिम्म गरेर बस भन्थिन्।
बीचबिचमा झ्याप्प ब्रेक लगाउँथे चालक। त्यसबेला उभिएका यात्रु हुत्तिएर एक अर्कामा ठोकिन्थे। भिडमा उभिरहेकी एक महिला यात्रुले भनिन्, ‘कसरी चलाको हो गाडी ? मान्छेको ढाड भाँचिदैन कि क्या हो ? ’
रत्नपार्कदेखि जोरपाटी ८ किलोमिटरको दुरीमा छ। सरासर जाँदा आधाघन्टामा पुग्नुपर्ने हो। तर, माइक्रोले डेढ घन्टा लगायो। जोरपाटीमा एकहुल यात्रु कोचेर थलीतर्फ हुँइकियो माइक्रो।
रत्नपार्कदेखि बुढानिलकण्ठसम्म
दिउँसो ३ :४० बजे। शान्तिवाटिकामा खचाखच भरिएको बस आइपुग्यो। बस रोक्दा नरोक्दै यात्रुहरु ढोकामा झुमिए। सहचालक भन्दै थिए, ‘ओर्लनदिनुस् न हो पहिला।’
वसभित्र यात्रुहरु दुईतर्फ लाइन लागेका थिए। उभिने ठाउँ थिएन। सहचालक भन्दै थिए, ‘पछाडी जानुस् न पछाडि।’ एक व्यक्तिले हाँस्दै भने, यो भन्दा पछाडि गयो भने त बसबाटै बाहिर पुगिन्छ।’ जमलमा पुग्दा सहचालक कराउँदै झ्याल झ्यालमा आइपुगे। उनी रुखो स्वरमा भन्दै थिए, ‘ओ दाई, बीचमा खाली छ। सर्नुस् त।’ मान्छे थप्ने क्रम जारी थियो। बिचबिचमा चढ्ने बुढाबुढी तथा महिलाहरु सकिनसकी झुन्डिएका थिए। चढाउनेका लागि गाडी रोके पनि ओर्लिनेका लागि धेरै बेर रोकिएन। ट्राफिकले डर देखाउँदै दौडाउँथे। कुनै चोकमा झर्को लाग्ने गरी रोकिरहन्थे। आधा घन्टामा पुग्नुपर्ने ९ किलोमिटरको दुरीमा करिब १ घन्टामा बल्लबल्ल पुग्यो।
बानियाँटारबाट गोंगुबसम्म
बिहान साढे ११ बजे बानियाँटार पुलमा आधा घण्टा पर्खदासमेत कुनै गाडि रोकिएन। सबै गाडी भरिभराउ थिए। कुनै ढोकै लाउन नमिल्नेगरि आउँथे। एक महिला आधा घण्टादेखि गाडी कुरिरहेकी थिइन्। उनले भनिन्, ‘देख्दादेख्दै १० वटा गाडि गइसक्यो। सबै ‘प्याक’। कुनैले रोकेन।’ गाडी नरोकेपछि उनी गोंगबुतर्फ हिँड्दै भनिन्, ‘गाडिको भर पर्याे भने दिन जान्छ।’
करिब पौने घन्टापछि एउटा माइक्रो रोकियो। त्यसमा खुट्टा राख्ने ठाउँ थिएन। ‘भित्र सर्नुस्, भित्र’, सहचालक कराउँदै थिए। ‘ए भाइ चढ्नेवालालाई मात्र हैन, चढिसकेकाहरुलाई पनि माया गर। हामी त गुन्द्रुक भइसक्यौँ,’ एक पुरुषले भित्रबाट भने। सहचालकले सुनेनन्। थप दुईजना यात्रुलाई गाडीमा चढाएर ढोका ढ्यापढ्याप पारे।
गाडी गुडेको केही समय नबित्दै भित्रबाट एक महिला कराउन थालिन्, ‘भाइ, हामीलाई यहीँ ओरालिदेउ। गोंगबुसम्म यही गाडिमा गयो भने त मरिन्छ। बरु हिँडेरै जान्छौँ।’ सहचालकले मानेनन्। उनले भने, ‘जहाँ पायो त्यहीँ गाडि रोक्दा चिट काट्छ।’ माइक्रो रोकिएन। तर भित्रबाट महिलाले गाडी रोक्नु भनिरहिन्। एक घुम्ती कटेपछि बल्ल गाडी रोकियो। गाडिबाट ओर्लिदै महिलाले भनिन्, ‘यही गाडीमा गइयो भने गोंगबु नपुग्दै बेहोस भइन्छ।’ ती महिलालाई ओरालेर माइक्रो गोंगबुतर्फ हुँइकियो।
गोंगबुदेखि कलंकीसम्म
दिउँसोको १२ :४५ बजे। गोेंगवुचोकमा ‘रिङ रोड’ चल्ने गाडिको बाक्लो चाप थियो। सार्वजानिक यातायातका सहचालकहरु ठुल्ठुलो स्वरमा यात्रु बोलाउँदै थिए। ‘दाई जाने हो ? ’ एक महिला सहचालकले निलो बसको ढोकाबाट कराइन्।
निलो बस कलंकीतर्फ हुँइकियो। बसभित्र गुट्खाको खोल जताततै थियो। झ्यालमा मैलो पर्दा झुन्डिरहेको थियो। सिट मैलो र च्यातिएको थियो। सिटमा बस्दा कपडामा धुलो टाँसिन्थ्यो। कुनै झ्यालमा सिसा थिएन। चालकले ब्रेक लगाउँदा एकमुस्लो धुलो गाडि भित्र पस्थ्यो। सिटमा बस्दा पनि रुमाल वा मास्क लगाउनु पथ्र्यो। प्राय : यात्रुले मास्क लगाएका थिए। गाडीका ‘नटबल्टु’ कमजोर र खुस्कीएका थिए। निरन्तर ‘घन्द्रयाङघुन्द्रुङ’ आवाज आइरहन्थ्यो।
एकान्तकुनादेखि कोटेश्वरसम्म
दिउँसो १२ बजे। एकान्तकुना चोकमा आइपुग्यो महानगर यातायात। गाडीमा यात्रुहरु आधा जति थिए। ट्राकसुट लगाएकी सहचालक ढोकामा उभिएर यात्रु बोलाइरहेकी थिइन्। गाडी अगाडि बढेन। ढोका छेउको सिटमा बसिरहेका यात्रु आत्तिँदै थिए। उनी भन्दै थिए, ‘जाउँ न बहिनी जाउँ। पल्लो चोकमा पाइन्छ मान्छे।’ तर गाडी गुडेन। सहचालक सडकमा निस्किएर कराइनै रहिन्। ती यात्रु फेरि आत्तिँदै कराउन थाले। ‘बाटो ठूलो बन्यो। अझ छिटो होला भनेको। गाडी रोक्या रोक्यै गर्छ।’ यात्रु आत्तिँदै चालकलाई बोलाउन थाले। त्यतिबेला चालक झ्यालबाट टाउको निकालेर बल्खुतिर हेरिरहेका थिए।
निकै बेरपछि गाडी गुड्यो। आत्तिएका यात्रु शान्त देखिए। सहचालकको एकहातमा मोबाइल र अर्को हातमा पैसा थियो। गाडी गुड्न थाल्यो। सहचालक खुसी थिइन्। छानी छानी गीत लगाउँथिइन्। सातदोबाटोको ट्राफिक जाममा गाडी रोकियो। आत्तिएका यात्रु ओर्लिए। करिब १० मिनेट ट्राफिक जाम खुल्यो। जाम खुलेपछि पार्किङमा फेरि गाडी रोकियो। गाडी फेरि ग्वार्को ट्राफिक जाममा करिब १० मिनेट रोकियो। जाम छिचोलेर फेरि यात्रुको पर्खाइमा बस्न थाल्यो।
यात्रुहरु घडी हेर्दै आत्तिन्थे। सहचालक सडकमा ओर्लिएर यात्रु बोलाइरहिन्। चालक उसै गरी झ्यालबाट टाउको निकालेर पश्चिमतिर नियालीरहेका थिए। साढे ५ किलोमिटरको दुरी १३ मिनेटमा छिचोल्नु पर्ने थियो। तर महानगर यातायातले ५३ मिनेटमा कोटेश्वर ल्याइपुर्यायो। कोटेश्वर चोकमा गाडी रोकेर सहचालक उसैगरी यात्रु बोलाइरहेकी थिइन्। चालक उसैगरी झ्यालबाट मुन्टो निकालेर पश्चिमतिर हेरिरहेका थिए।
सार्वजनिक बसको ‘बडी’ कस्तो हुनुपर्छ ?
१) यात्रुहरु आवतजावत गर्न सहज हुने सामान्य खालको ढोका हुनुुपर्छ।
२) गाडीमा दुईवटा ढोका हुनुपर्छ।
३) ‘स्लाइडिङ’ ढोका, ‘ईमर्जेन्सी’ ढोका र ‘ईमर्जेन्सी’ झ्याल राखिनुपर्छ।
४) दुईतर्फी सिटको बिचमा आवतजावत गर्न सकिने बाटो हुनुपर्छ।
५) बस्ने सुविधायुक्त सिटको व्यवस्था हुनुपर्छ।
६) ‘एक्जीट ल्याम्प’ हुनुपर्छ।
७) यात्रु बस्ने ठाउँमा बत्तिको सुबिधा हुनुपर्छ।
८) माइक्रोबसको ‘सिटिङ्ग क्यापासिटी’ चालकसहित १४ जना हुनुपर्छ। मिनीबसको ‘सिटिङ्ग क्यापासिटी’ चालकसहित १५ देखि २५ जनासम्म हुनुपर्छ।
स्रोत : यातायात व्यवस्था विभाग, ‘बस बडी बिल्डिङ मापदण्ड, २०७४’
जीप, माइक्रो तथा मिनीबस सम्बन्धी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (संसोधित)
अनुसुची, २१
१) सवारी दर्ता प्रमाणपत्रमा उल्लेख भएअनुसार चालक सहित सिट संख्या हुनुपर्ने।
२) कम्पनीबाट जडित अवस्थामा सिटहरु हुनुपर्ने।
३) एक सिटको चौडाई कम्तीमा १७ इन्च हुनुपर्ने।
४) एक सिटको उचाई १६ देखि १९ इन्चसम्मको हुनुपर्ने।
५) पिठ्युँको अडेको उचाई कम्तीमा २२ इन्च (हेड रेष्ट बाहेक) हुनुपर्ने।
६) लेग प्लेस ११ इन्च हुनुपर्ने।
७) सवारीको भित्री भागको उचाई कम्पनीले निर्धारण गरेअनुसार माइक्रोबसको १३४५ मिमि र मिनीबस ६४ इन्च हुनुपर्ने।
८) झ्याल, ढोकाको सिसा लकको अवस्था दुरुष्त हुनुपर्ने।
९) अगाडिको टायर रिसोलिङ्ग नभएको हुनपर्ने।
१०) ब्रेकको अवस्था ठिक हुनुपर्ने।
११) प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने।
१२) आगो निभाउने यन्त्र दुरुष्त हुनुपर्ने।
१३) रङ्ग रोगन दुरुष्त हुनुपर्ने।
१४) झ्यालमा पर्दाको व्यवस्था हुनुपर्ने।
१५) यात्रुहरुको लागि मनोरञ्जनका लागि म्युजिक सिष्टम तथा पत्रपत्रिकाको व्यवस्था हुनपर्ने।
स्रोत : यातायात व्यवस्था विभाग