हेलिकप्टरबाट जलजला दर्शन

हेलिकप्टरबाट जलजला दर्शन

रोल्पा : रोल्पामा चलिरहेको महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ। पूर्वी रोल्पाको ठूलो व्यापारिक केन्द्र मानिने सुलीचौरमा माघ १८ देखि महोत्सव सुरु भएको हो।

स्टलमा राखिएका कृषि उत्पादन अवलोकनमा मानिसको भीड छ। जिल्लाको मौलिक झाँकी, नाँच र सांस्कृतिक प्रदर्शनी हेर्न दर्शक झुम्मिँदै आएका छन्। पर्यटकीय क्षेत्र जलजला दर्शन गर्न हेलिकप्टरको व्यवस्था गरिएको छ। महोत्सवको तेस्रो दिनसम्म करिब ८० जनाले जलजला दर्शन गरिसकेका छन्। बराह देवताको पावन भूमि मानिने जलजला धार्मिक, प्राकृतिक र युद्ध किल्लाका दृष्टिले समेत चर्चित छ। मनोकांक्षा पूरा हुने जनविश्वास छ। वर्षमा चारपटक यहाँ हजारौं दर्शनार्थी पुग्छन्। जलजला नेपाल सरकारले पहिचान गरेको एक सय गन्तव्यमध्ये पर्छ।

महोत्सवस्थलबाट हेलिकप्टरमा सवार हुँदै उत्तरी भेगमा अवस्थित जलजला दर्शनका लागि जान सयौं उत्साहित बनिरहेको महोत्सव मूल आयोजक समितिका संयोजक विश्वकुमार चन्द बताउँछन्। ‘हेलिकप्टरबाट जलजला दर्शनका लागि जनही १० हजार लाग्छ’, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका चन्द भन्छन्, ‘करिब डेढ सयजनाले हेलिकप्टरबाट जलजला दर्शन र जिल्ला परिक्रमा गर्न चाहेका छन्। आयोजकले जलजलामै हेलिकप्टर ल्यान्ड गराएर पूजापाठ गराउने चाँजोपाजो मिलाउन चाहेको भए पनि भारी हिउँका कारण सम्भव भएको छैन।’

वाणिज्य संघका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले हेलिकप्टरबाट जलजला दर्शन गराएर महोत्सवस्थल ल्याउने प्रबन्ध गरेको जानकारी दिए। सुलीचौरबाट पैदल हिँडे जलजला पुग्न दुई दिन लाग्छ। हेलिकप्टरबाट २० मिनेटमा जलजला दर्शन गर्न सम्भव भएको छ। माउन्टेनले हेलिकप्टरको सेवा दिइरहेको छ। ‘कृषि उद्योग व्यापार संस्कृति र पर्यटनको विस्तार, दिगो विकास र समृद्धिको आधार’ भन्ने नारासहित दोस्रो रोल्पा महोत्सव भइरहेको छ। महोत्सवको सभामुख कृष्णबहादुर महराले माघ १८ मा उद्घाटन गरेका थिए। जिल्लामा उत्पादन हुने जडीबुटी, कृषि, हस्तकलाका सामान, अल्लो भांग्राका सामान छन्। कोदोको सेल, ढिडो र सिस्नोका परिकार महोत्सवमा छन्।

राष्ट्रिय र स्थानीयस्तरका कलाकारको दैनिक सांगीतिक प्रस्तुतिले महोत्सवमा रौनकता थपिरहेको सञ्चार संयोजक मानसिंह विकले जनाए। लुंग्री खोलामा बोटिङको व्यवस्था मिलाइएको छ। महोत्सवले जिल्लाको कृषि उत्पादन, उद्योग र व्यवसायमा टेवा पु¥याउने अपेक्षा आयोजकको छ। जिल्लाका १० वटै स्थानीय तहका मौलिक सांस्कृतिक झाँकी र नाँचले संस्कृतिको प्रवद्र्धनमा योगदान पुगेको अध्यक्ष चन्दको दाबी छ। दुई करोडको कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा ३० हजारभन्दा बढी आन्तरिक पर्यटक आउने अपेक्षा छ। माघ २४ सम्म सञ्चालन हुने महोत्सवमा छिमेकी प्युठान जिल्लाबाट समेत मानिस आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.