सुदूरपश्चिम महोत्सवमा मुख्यमन्त्रीलाई सातबुँदे माग पेश
धनगढी : सुदूरपश्चिम महोत्सव सोमबारदेखि धनगढीमा सुरु भएको छ। १२ वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरे।
उनले सुदूरपश्चिममा पर्यटकस्थलको स्तरोन्नति गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। पर्यटनमा लगानी गर्ने व्यवसायीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री भट्टले बताए।
महोत्सवको १३ औँ संस्करणमा मुख्यमन्त्रीलाई ७ किलो मालाको सम्मान सहित सातबुँदे माग बुझाएको छ। स्थानीयले सुदूरपश्चिममा औद्यौगिक क्षेत्र स्थानपना, उद्योगमा १० वर्षसम्म कर छुट, धनगढी विमान स्थललाई क्षेत्रीय विमान स्थलको रुपमा स्तरोन्नती गरी वैकल्पिक अन्तराष्ट्रिय विमानस्थल बनाउन, प्रदर्शनी स्थल निर्माण, सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न प्रदेश अस्पताल बनाउन माग गरेका छन्।
यस्तै गौरीफन्टा नाकाको स्तरोन्नती गरी सुदूरपश्चिमलाई चीनसँग जोड्ने नाका खुलाउन, पर्यटन विकासका लागि खप्तड, घोडाघोडी, शुक्लाफाँटा, चिसापानी क्षेत्रमा पूर्वाधार विकास गर्न माग पेश गरेका छन्।
‘समृद्ध सुदूरपश्चिमका लागि समृद्धि' भन्ने मूलनाराका साथ सुरु भएको महोत्सवमा स्थानीय कला संस्कृति झल्कने गरी सजाइएको छ। महोत्सवमा दुई सय २५ वटा स्टल राखिएका छन्। एक सय ७० व्यापारिक हिसावले खोलिएका र बाँकीमा कृषि, होटल रेष्टुरेन्ट रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु भएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिने छन्। महोत्सव फागुन २ गतेसम्म सञ्चालन हुने छ।