हिउँमै पढाइ सुरु
बेंसीसहर : खुट्टा गाडिने बाक्लो हिउँ। चिसो उत्तिकै। साताअघि परेको हिउँ बिलाएको छैन मनाङमा। तर, चिसोले बिदा भएको सदरमुकाम चामेको एक विद्यालयले भने हिउँमै पढाइ सुरु गरेको छ। चामेस्थित लोकप्रिय माविले आइतबारदेखि पढाइ सुरु गरेको हो। प्रधानाध्यापक सुरेश थापाका अनुसार २ सय ६१ मध्ये सय विद्यार्थी पढ्न आएका छन्। बाँकी विद्यार्थी आउने क्रममा रहेको उनले बताए। उनले भने, ‘विद्यालयको हिउँ शिक्षक, विद्यार्थी र सेना मिलेर सफा गर्दै पढाइ सुरु गरेका छौं।’
वरपर सबैतिर हिउँ भएकाले चिसो हावा चल्दा पठनपाठनमा समस्या भएको उनले बताए। पुस १ गतेदेखि बन्द भएको उक्त विद्यालय माघ १६ गतेबाट सञ्चालन गर्ने भनिएको थियो। तर, हिमपात नरोकिएपछि ४ दिनपछि सुरु गरिएको थापाले बताए। ‘आइतबार एक÷दुई पिरियड पढाइयो, सोमबारदेखि सबै पिरियड पढाउँछौँ’, थापाले भने, ‘सबै शिक्षक आइसक्नुभएको छ, विद्यार्थीलाई पनि विद्यालय आउन खबर गरिरहेका छौं।’
सदरमुकामको लोकप्रियबाहेक अन्य विद्यालय भने सञ्चालन हुन सकेका छैनन्। हिउँ नहटेकाले माथिल्लो मनाङमा पर्ने मनाङ ङिस्याङ गाउँपालिकाका सबै विद्यालय बन्द छन्। नार्पाभूमिको नार र फूका विद्यालय पनि बन्द छन्। तल्लो मनाङमा पर्ने नासों गाउँपालिकाका विद्यालय पनि बन्द रहेको शिक्षकले बताएका छन्।
मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्रनाथ पौडेलले फागुन १६ बाट मात्र विद्यालय खुल्ने बताए। सो विद्यालय मंसिर २५ गतेदेखि बन्द भएको थियो। नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाश ज्योति माविका प्रधानाध्यापक पदमराज पन्थीका अनुसार तल्लो क्षेत्रका विद्यालय पनि सञ्चालन भएका छैनन्। पुस ३ गतेबाट यहाँका विद्यालय बन्द भएका थिए। फागुन १ गतेबाट विद्यालय सञ्चालनमा आउने उनले बताए।
शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख खुलानाथ गौतमका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ। स्थानीय बिदा पाँच दिन पाउँछन्। तर, माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ। मनाङमा २६ वटा सामुदायिक विद्यालय छन्। यसमा कक्षा १२ सम्म पढाइ हुने २ वटा मावि र कक्षा १० सम्म पढाइ हुने २ वटा मावि छन्। बाँकी आधारभूत विद्यालय छन्।