विद्यार्थीलाई चिनियाँ कम्पनीको छात्रवृत्ति, नि:शुल्क पुस्तक
पोखरा : पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइरहेको सिएमसी इन्जिनियरिङ कम्पनीले सोमबार कालिका माध्यामिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयकोे ५५ औं वार्षिकोत्सवको अवसरमा आर्थिक अभावका कारण पढाइ छोड्नुपर्र्ने समस्यामा परेका विद्यार्थीलाई कम्पनीले छात्रवृत्ति दिएको हो ।
कम्पनीले विद्यालयमा पढिरहेका ४५ जना विद्यार्थीको एक वर्षको शुल्क तिरिदिएको हो । विद्यालयलाई कम्पनीले १० लाख ३० हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा कम्पनीले क्याम्पस तहमा अध्ययनरत ५५ जना विद्यार्थीलाई पाठ्यापुस्तक निशुल्क बाँडेको छ । कार्यक्रममा बोल्दै सिएमसी इन्जिनियरिङ कम्पनीका उपाध्यक्ष डिङ ज्यानले विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशि ब्यक्त गरे ।
कालिका पब्लिक क्याम्पस प्रमुख ज्योतिबाबु पौडेलले विद्यालयमा क्याम्पस तहमा ३ सय ११ र विद्यालय तहमा २५ सय विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए । ‘विद्यालयमा विद्यार्थीको उपस्थिति सन्तोषजनक छ । स्कुल र क्याम्पस एकै परिवार जसरी चलिरहेका छौं,’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई शैक्षिक तथा स्वास्थ्य हब बनाउनेबारे योजना बनाइरहेको सुनाए । गण्डकी प्रदेशमा व्यावसायिक र प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्ने योजना रहेको उनले बताए ।