पाठ्यक्रममा चित्रकला समेट्न माग
काठमाडौं : आम मानिसमा नेपाली कलाका बारेमा जानकारी र चासो जगाउनु आवश्यक रहेको वरिष्ठ कलाकार मुकेश मल्लले बताएका छन्। सोमबार राजधानीमा आयोजित नेपाली समसामयिक चित्रकलाको विकास तथा प्रवद्र्धन विषयक कार्यशाला गोष्ठीमा कला समीक्षक मल्लले वर्तमानमा नेपाली समसामयिक कला धेरै धारमा विभाजित भएर देखा परेकाले यसलाई अलगअलग मानकको आधारमा मूल्यांकन सम्बन्धित र सही विज्ञबाट गर्ने परम्पराको थालनी हुनुपर्ने औंल्याए।
कार्यपत्र प्रस्तुत गर्ने क्रममा कलाकार गणेशकुमार जीसीले नेपाली समसामयिक चित्रकलाको विकास र प्रवद्र्धन गर्न सरकारी तबरबाट पहलकदमी र अन्य सरोकारवालाहको क्रियाशीलता खाँचो रहेको बताए।
कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले समसामयिक कलाको कुरा गर्दा कलाको इतिहासलाई पनि बिर्सन नहुने बताए। आफूले लामो समयसम्म कलाको अध्ययन गर्ने क्रममा नेपाली चित्रकलाको करिब पाँच, छ सय वर्षभन्दा लामो इतिहास नपाएको प्रसंग पनि उनले कोट्याए।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी आएपछि चित्रकला विभागले गरेको यो पहिलो कार्यक्रम हो। विभागकी प्रमुख सुषमा राजभण्डारीले आगामी दिनमा विभागमार्फत नेपाली कलालाई देशविदेशमा पुर्याउन पहल गर्ने बताइन्। नेपाली कलाकारले बनाएका चित्र नेपाल सरकारले कम्तीमा एक प्रतिशत मात्र भए पनि किनिदिनुपर्नेमा प्रतिष्ठानले पहल गर्नुपर्नेमा उनले जोड दिइन्।
गोष्ठीमा सहभागी कलाकारले विद्यालयस्तरकै पाठ्यक्रममा चित्रकला विषयलाई अनिवार्य गर्न सरकारसमक्ष पहल गर्नुपर्ने सुझाव दिए।