बाह्रखरी कथा प्रतियोगीता हुँदै, प्रथम हुनेले १ लाख पुरस्कार पाउने
काठमाडौं : बाह्रखरी बुक्सको आयोजनामा कथा प्रतियोगीता हुने भएको छ। नेपालको बाङमय क्षेत्रका प्रतिभाहरुलाई प्रोत्साहित गर्दै यसको गुणात्मक प्रवर्द्धनमा सशक्त योगदान पुर्याउने उद्देश्यका साथ राष्ट्रिव्यापी खुला आधुनिक कथा प्रतियोगीता हुने भएको हो।
साहित्यको लोकप्रिय विधाको रुपमा कथा भएको र पछिल्लो समय कथा लेखनको गति सुस्ताएको भन्दै कथा लेखनमा नव प्रतिभालाई उत्साहित गर्नका लागि कथा लेखन प्रतियोगीता गर्न लागिएको बाह्रखरी डटकमका सम्पादक गोविन्द अधिकारीले बताए।
प्रतियोगीतामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आउँदो फागुन २० गतेभित्र बाह्रखरीको इमेलमा पठाउन सक्नेछन् । नतिजा २०७६ बैशाख ६ गते शुक्रबारका दिन सार्वजनिक गरिने आयोजकले बताएको छ। सोही दिन उत्कृष्ट कथाको लोकापर्ण समेत गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा सर्वोत्कृष्ट कथा लेखेर प्रथम स्थान प्राप्त गर्नेले एक लाख, द्वितीयलाई ६० हजार र तृतीयलाई ४० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट २५ कथाको संग्रह समेत प्रकाशित गरिनेछ।
उत्कृष्ट २५ कथाका कथाकारलाई जनही ५ हजारका दरले पारिश्रमिक प्रदान गरिनेछ।कुनैपनि विषयमा नेपाली भाषामा लेखिएको आधुनिक कथाले प्रतियोगीतामा छनौट हुनेछ। प्रतिस्प्रर्धाका लागि कम्तिमा पनि १५०० शब्ददेखि बढीमा ४ हजार शब्दसम्मको भाषिक रुपमा शुद्ध भएको कथा समावेश हुनेछ।