चिनियाँ वसन्त चाडमा रमाउँदै नेपाली
बेइजिङ : 'दसैं अवधिको काठमाडौँको भान हुन्छ, दुई तीन दिन त एकदमै दिक्दारी लाग्छ', वसन्त चाडको बेलामा चीनमा अध्ययन तथा कार्यरत् प्राय सबै नेपालीले यसै भन्छन्। हाल चीनमा वसन्त चाडको रौनक छ। जताततै राता रङ्गका लालटिन र यस्तै सजावटले सिँगारिएको छ, चीन।
वसन्त चाडसँगै चिनियाँहरूले आफ्नो परम्परागत नयाँ वर्षको स्वागत गर्दछन्। यही फेब्रवरी ५ तारिख चिनियाँहरूको नयाँ वर्ष हो। चिनियाँ पात्रो अनुसार, यस वर्ष सुङ्गुर वर्ष हो। चिनियाँहरू कुकुर वर्षलाई विदा गर्दै सुङ्गुर वर्षलाई स्वागत गर्दैछन्। यही बेला नेपालमा पनि तामाङ समुदायले नयाँ वर्षको रुपमा सोनाम ल्होछार मनाउँछन् भने यो वसन्त चाड दक्षिणपूर्वी एशियालगायत केही एशियाली देशहरूमा पनि मनाउने गरेको पाइन्छ।
चिनियाँहरूका लागि पौराणिक कथाहरूको पात्रको रूपमा सुङ्गुर अति नै प्रिय छ। हाल चर्चित अङ्ग्रेजी कार्टुन पेप्पा पिगले पनि चिनियाँहरूको मन जितेको छ र साथै सुङ्गुरका मासुका परिकार पनि चिनियाँको दैनिकीसँग अटूट रूपमा जोडिएको छ। त्यसै गरी चिनियाँ अक्षरमा घरपरिवार जनाउने अक्षर या शब्दमा समेत सुङ्गुरको अक्षर मिश्रित छ। यानि कि चिनियाँ परिवारमा सुङ्गुर पनि पाल्ने गरिन्छ भन्ने मान्यता रहेको छ।
हरेक बाह्र वर्षमा एक पटक आउने यी जनावरअङ्कित् चिनियाँ वर्षले नेपाली न्वारन या अङ्ग्रेजीको जन्म मिति अनुसारको राशीको जस्तै विशेषता पनि बोकेको हुन्छ। यस वर्ष जन्मिने सबै सुङ्गुर राशीमा पर्छन्। यो बाह्र जनावरमा अन्तिम हो र चिनियाँहरू सुङ्गुरलाई खुसी र सौभाग्यको रूपमा लिन्छन्।
यी बाह्र जनावरको आ-आफ्नै महत्व र विशेषता भए पनि हरेक वर्षको वसन्त चाड भने सधैँ उस्तै राताम्मे हुने गर्छ। बजारहरू चाड नजिकिएसँगै झकिझकाउ र मानिसले भरिभराउ हुन्छ भने नयाँ वर्षको दिन अघिपछि जताततै शून्य हुन्छ र लगत्तै पर्यटकीय स्थल र पार्कहरूमा मानिसको भिड थाम्नै नसक्ने किसिमले लाग्ने गर्छ।
यसरी चिनियाँहरूले परम्परागत चलन अनुसार नयाँ वर्षभन्दा पन्ध्र दिनअघि घरको सरसफाई गर्दै भान्छादेवको पूजाबाट शुरू गरी चाडलाई खान्की तयार पार्ने, घर सजाउने र नयाँ वर्षको पूर्वसँध्यामा सपरिवार बसेर मम (च्याउच) खाने, पटाका पड्काउने र देशविदेशको भ्रमण गरी नयाँ वर्षपछिको पन्ध्र दिनमा रसभरि चाड या लालटिन पर्वसँगै वसन्त चाडलाई विदा गर्छन्।
‘पहिले पहिले पटाका पड्काएको हेर्न पाउँदा निकै नै रमाइलो लाग्थ्यो तर अहिले त्यसमाथि प्रतिबन्ध लगाएको छ।’ बेइजिङमा काम गर्दै आएका पुजव प्रधान यसो भन्छन्। ‘त्यो आकर्षण छैन अब त्यस बाहेक आफ्नो वरिपरि सबै शुन्य हुन्छ अनि अहिले घुम्ने समय पनि होइन जताततै मानवसागर उर्लेको हुन्छ। त्यही भएर म त केही दिन थप विदा मिलाएर नेपाल फर्कँदै छु।’
यो वसन्त चाड चिनियाँहरूको सबैभन्दा ठूलो चाड हो, यो पारिवारिक पुनःमिलनको पर्व हो। आफ्नो गाउँघर छोडेर कामका लागि गएका अधिकाँश चिनियाँहरू फर्कन्छन्। त्यसैले यस वसन्त चाडको अवधिलाई विश्व कै सबैभन्दा विशाल मानव स्थानान्तरण पनि भनिन्छ। वसन्त चाडको पन्ध्र दिन अघि जनवरी २१ तारिखबाट शुरू भएको यस यातायात गतिविधि मार्च १ सम्म चल्ने गर्छ र चालिस दिनको अवधिमा रेलमार्ग, राजमार्ग, जलमार्ग, हवाइमार्गबाट झण्डै तीन करोड मानिसले यात्रा गर्ने छन्।
चिनियाँसँग घरजम बसाएका सुवर्ण डङ्गोल वसन्त चाडबारे यसो भन्छन् – ‘यो पर्व चिनियाँहरूका लागि नेपालीको दसैं जस्तै हो। सपरिवार बसेर पूर्वसँध्याको दिन विशेषत माछा, सुङ्गुरको खुट्टा र ममचा खाने र नयाँ वर्षको दिन दसैंको टीका थाप्नेजस्तै अग्रज आफन्तकहाँ गइ आशिक लिने। साथै नेपालमा जस्तै यहाँ पनि दक्षिणा दिने चलन छ, रातो खाममा पैसा राखेर दिने चलन छ। यस रातो खामलाई होङ्पाओ भनिन्छ।’
यस पालि सुवर्णको परिवारले पारिवारिक भेटघाट र घरमै आराम गर्ने र भिडभाडमा घुम्न नजाने विचार लिएका छन्। वसन्त चाडको यस अवधिमा नयाँ वर्षअघिको दुई/तीनदेखि नयाँ वर्षको छ/सात दिनसम्म हवाइजहाज तथा रेलको टिकट पाउन मुश्किल हुन्छ। सबैले आफ्नो योजनाअनुसार पहिले नै टिकट किनिसकेका हुन्छन्।
यो अवधिमा आन्तरिक पर्यटनको कार्यक्रम नबनाउँदा नै वेश हुन्छ। ग्रेटवाल, थ्येनआनमन जस्ता ऐतिहासिक तथा सांस्कृतिक स्थलमा चिनियाँहरूको भिड बाक्लो हुन्छ। त्यसबाहेक पछिल्लो समय चिनियाँहरूले विदेश भ्रमण पनि खुबै गर्ने गरेका छन्। चिनियाँ अनलाईनटिकट वेबसाइट फ्लिग्गीडटकमका अनुसार, यस अवधिमा ४३ प्रतिशत चिनियाँहरूले परिवारसँगै विदेश भ्रमण गर्ने योजना बनाएका छन्।
अर्को वेबसाइट सिट्रिपका अनुसार, यस अवधिमा ७० लाख चिनियाँहरू नब्बेभन्दा धेरै देशको भ्रमण गर्दैछन्। यसै अवधिमा यूनिभर्सिटीमा पनि एक सेमिस्टरको समापनसँगै ३०/४० दिनको विदा हुन्छ र अध्ययनरत नेपाली विद्यार्थीहरू कोही देश फर्कन्छन् कोही विदेश यात्रा गर्छन् र त्यसबाहेक चीनभित्रकै ठूला साना शहरको भ्रमण गर्छन्। चिनियाँहरूले वसन्त चाड मनाइरहँदा दसैं र आफ्नो घरपरिवार सम्झन्छन्।
विशेषत वसन्त चाड र विदाको समयमा घर नफर्कने विद्यार्थीहरूलाई भने होस्टेल र वरिपरिको बजारको शुन्यताले न्यास्रो बनाउँछ। यसै विदाको अवसरलाई नेपाली साथीहरूसँग जमघट गरी खेल्ने, खाने र गफगाफ गरी रमाइलो गरेर मनाउने विचारमा छन्, ईन्स्टिच्यूट अफ तिबेतियन प्लाटिउ रिसर्च, चाईनिज एकेडेमी अफ साइन्सेजका एसिस्टेन्ट प्रोफेसर डा. उपेन्द्र बराल।
‘चिनियाँ चाड र चालचलनबारेको अनुभव सँगाल्दै छु’, छिङ्गह्वा यूनिभर्सिटीमा अध्ययनरत सङ्गीत सङ्ग्रौला भने पहिलो पटकको वसन्त चाड नै चिनियाँ परिवारसँगै मनाउन पाएकोमा खुसी छन्। उनी थप्छन्, ‘नेपाल जानुको सट्टा मसँगै पढ्ने साथीसँग चीनको भित्री मङ्गोलियामा आएर उसैको परिवारसँग चिनियाँ चाड मनाउन पाएको छु। विभिन्न परिकारको स्वाद र जमघटले रमाइलो अनुभव भएको छ।’
थ्येनचीनस्थित नानकाई यूनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा मास्टर्समा अध्ययनरत् कल्की ढकाल पौड्यालले दसैंतिहारको सम्झना दिलाएको भन्दै चालचलन पनि मिल्दोजुल्दो लागेको बताइन्। उनी अगाडि भन्छिन्, ‘पसल, बाटो शुन्य छ दसैंको काठमाण्डुको याद दिलाएको छ। अहिले विदाको अवसर पारेर साङ्हाई घुम्ने योजनामा छु।’
वसन्त चाडमा अफिसहरू करिब सात दिन बन्द हुन्छन् । व्यापार, व्यवसाय र पेशागत काम भएकालाई भने यो चाडले शकुन नै दिन्छ र यही मौकामा घरदेश पनि पुग्छन्। पुजव प्रधानजस्तै बेइजिङमा काम गर्दैआएका प्रयास पोखरेल पनि नेपाल फिरेका छन्। वसन्त चाडलाई बेइजिङको जाडो छल्न र बुवाआमासँग भेट गर्ने अवसरको रूपमा लिएको उनको भनाइ छ।
प्रहरी, यातायात, सञ्चार, चिकित्सा क्षेत्र, तथा अत्यावश्यक सेवामा खटेका कर्मचारीहरू भने वसन्त चाडलाई सफल र सुखद बनाउन अहोरात्र खटिएका हुन्छन्। यसै क्रममा बेइजिङस्थित बेइजिङ यूनाइटेड फेमिली हस्पिटल एण्ड क्लिनिक्समा कार्यरत डा. विकास राईले यस पटक विदा पाएका छन्।
विगत पाँच वर्षदेखि लगातार वसन्त चाडमा खटेका उनी यस पटक भने परिवारसँग रमाइलो गर्ने मुडमा छन्। सुवर्ण डङ्गोलजस्तै चीनको ज्वाइँ डा. राई खुसी मान्दै भन्छन् – ‘यस पटक त परिवारसँग बसेर मनाउने हो। श्रीमती र सबै जना एकदम उत्साही छन् पाँच वर्षदेखि नयाँ वर्षको दिनमा समेत सँगै मनाउन पाएको थिएन। यस पटक पारिवारिक जमघटमा व्यस्त भइन्छ। एकदम खुसी छु।’
वसन्त चाड, दसैं जस्ता ठूला चाडबाडले वर्षौंदेखि टाढा रहेका परिवारको मिलन गराउँछ। यसले सांस्कृतिक तथा भावनात्मक महत्व बोकेको हुन्छ र सबैले आफ्नो हैसियत अनुसार मनाउने गरेको पाइन्छ।