विश्वप्रकाशको गुनासो: सरकारले प्रतिपक्षीलाई गन्नै छाड्यो
मलंगवा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमतको दम्भमा विवेक नगुमाउन सरकारलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन सर्लाही शाखाले मङ्गलबार सर्लाहीको हरिवनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले बहुमतका आधारमा अहिलेको सरकार विवेक कुल्चिएर अघि बढेको आरोप लगाए।
शर्माले प्रतिपक्षीलाई पाखा लगाएर सरकार अगाडी बढे अगामी दिनमा अप्ठेरो पर्ने भन्दै सचेत गराएका छन्। 'सरकार बहुमतले चलाउने हो, अनि संसदमा बहुमतले निर्णय गर्ने हो भन्नेमा हामी पनि सहमत छौं', शर्माले भने, 'तर बहुमतको दम्भमा विवेकलाई कुल्चिँदा अप्रिय स्थिति निम्तिन्छ।त्यसतर्फ सरकार गम्भीर हुनुपर्छ।'
प्रतिपक्षको विरोध हुँदाहुँदै डा. गोबिन्द केसीसँग प्रधानमन्त्रीकै अग्रसरतामा भएको सहमति विपरित चिकित्सा शिक्षा विद्येयक पेश गरेर सरकारले विवेक कुल्चिएको आरोप समेत शर्माले लगाए।
डिजेल र पेट्रोलमा थप कर लगाएर आम नेपाली जनताबाट अर्बौं रुपैयाँ संकलन भइसकेपछि पनि वर्तमान सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चीनको गेजुवा कम्पनीलाई जिम्मा लगाउनु ठूलो विडम्बना भएको शर्माले बताए।
कम्युनिस्ट पार्टी विपक्षमा हुँदा कांग्रेसले अहिले संसदमा कुनै पनि किसिमको अलोकतान्त्रिक व्यवहार नदेखाएको शर्माले जिकिर गरे। 'तर, सत्तामा पुग्नेवित्तिकै सरकारले प्रतिपक्षीलाई गन्न छोडेका छन्', उनले भने, 'पाँच वर्षसम्म शासन चलाउने जिम्मेवारी पाएको वर्तमान सरकार सच्चिएर अघि बढ्नुपर्छ।'
सरकारले सबैलाई साथमा लिएर चल्यो भने देशको भलाई हुने बताउँदै शर्माले बहुमत छ भन्दैमा जे पायो त्यही गरे घातक हुने चेतावनी दिए।