चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मन्थलीमा सुरु
रामेछाप : सदरमुकाम मन्थलीमा रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा भएको प्रतियोगिताको पूर्व गृहराज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले उद्घाटन गरे ।
मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई २५–१८, २५–२१ र २५–२२ को अन्तरमा ३–० को सोझो सेटले पराजित ग¥यो । दोस्रो खेलमा प्रदेश नम्बर ३ ले सुदरपश्चिम प्रदेशलाई २५–२३, २५–२१ र २५–२३ को अन्तरमा ३–० को सोझो सेटमा पाखा लगायो ।
माघ २६ गते शनिबार सकिने प्रतियोगिता लिग कम नकआउट को नियमअनुसार सञ्चालन भइरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १,२,३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेका छन् ।
यस्तै रामेछाप जिल्लाका स्थानीय क्लबहरु शान्तिदिप यूवा क्लब, नमुनादिप यूवा क्लब र प्याराडाइज युथ क्लबले पनि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । मन्थली नगरपालिका सहआयोजक रहेको प्रतियोगीताको विजेता टोलीले शिल्ड सहित नगद ३ लाख ,दोस्रो हुनेले २ लाख र तेस्रो हुने टिमले १ लाख रुपैया प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्बोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले समान १०÷१० हजार नगद पाउने छन् । प्रतियोगितामा सहभागी टिमका खेलाडीको भत्ता र यातायात खर्च आयोजकले व्यहोर्ने छ । प्रत्येक खेलाडीले दैनिक १२ सय को दरले भत्ता पाउने छन् ।