यु–१८ आइटीएफ टेनिस : अभिलाषाको दोहोरो जित
पोखरा : पोखरामा जारी १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगितामा महिलातर्फ नेपालका अभिलाषा विष्टले सिंगल तथा डबल्स दुवैमा जित हाँसिल गरेकी छन्। सिंगलमा अमेरिकाकी माहिका गुप्तालाई ६–२, ७–५ को सेटमा पराजित गरेकी हुन्।
यसै गरी डबल्सतर्फ श्रीलंकाका अञ्जलीका कुरेरालाई पार्टनर बनाएकी विष्ट जोडीले भारतका इनिका रेडि पेसारा र नेपालका अल्सा रेग्मीको जोडीमाथि ६–०, ६–१ को नतिजाले जित निकालेकी हुन्। आइटीएफ टेनिस प्रतियोगितामा ९ जना नेपाली सहित २७ देशका २ सय २० खेलाडी सहभागी छन्।
अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालाको टेनीस कोटमा भएको खेलमा पुरुषतर्फ नेपालका इभ्याक जोशी भारतका अनमोल जैन पंकजसँग ६–०, ६–० को सोझो सेटमा पराजित भए। पुरुषतर्फकै अर्को प्रतिस्पर्धात्मक खेलमा कोरियाका जुविन किमले चाइनाका हाव डुवानलाई ४–६, ७–६ र ६–२ को सेटमा पराजित गरे।
यसै गरी भारतका इशान सेठीले कोरियाका सङ्ग ह्युन लीलाई ६–१, ६–१ ले, भारतकै उदयवीर सिंहले अमेरिकाका हनु पटेललाई ६–४, ६–४ ले, जापानका जेनी इनोकले थाइल्याण्डका पविन जिरापुम्देजलाई ६–३, ६–४ ले, जापानका केइजु मियाकले भारतका अर्जुन गोहाडलाई ६–०, ६–० ले पराजित गरे।
त्यसैगरी महिला एकल तर्फको खेलमा नेपालकी प्रेरणा कोइराला भारतकी अमिक किरण बाथसँग ६–२, ६–३ ले पराजित हुन पुगिन्। नेपालकै सलोनी तामाङ्ग चाइनाकी जिछुन जेङसँग ६–४, ४–६ र ६–४ को प्रतिस्प्रधात्मक सेटमा पराजित भइन्। जारी प्रतियोगितामा दोस्रो नम्बर सिडिङ्ग पाएकी ताइवानकी स्किया कुङ्ग भारतकी मैत्री दिक्षा राउतसँग ६–३, ०–६ र ६–१ ले पराजित भइन्।
महिला तर्फकै एकलमा श्रीलंकाकी अञ्जलीका कुरेराले भारतकी हिमाद्री अश्यपलाई ६–२, ६–१ ले, भारतकै रिनी सिङले जापानकी रिसा ओनोलाई ६–२, ७–५ ले, बुल्गेरियाकी भिक्टोरिया भेलेभाले भारतकी बन्हि पाञ्चललाई ६–२, ६–२ ले, ताइवानकी लि हसिन लिनले भारतका सानया नैकलाई ६–०, ६–२ ले, भारतकी रिया बोभेजाले चाइनाकी युजुहान लुओलाई ७–५, ७–५ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए।
पुरुषतर्फको डबल्समा भारतका उदयवीर सिंह र फिलिपिन्सका जोसे एन्टोनियोको जोडीले भारतका अनुराग अग्रवाल र आदित्य बरदान रायको जोडीलाई ०–६, ७–५ र सुपरटाईमा १०–६ ले, जापानका जेनी इनोक र हङकङकका केल लोक इन ताङको जोडीले श्रीलंकाका दिलभान हेराथ र कभिशा रत्जनाइकेको जोडीलाई ६–१, ६–१ ले, भारतका जेराल यासिन र मलेशियाका जियान कोङ्ग ताकेशिको जोडीले नेपालका सम्रक्षक भुषण बज्राचार्य र इभ्याक जोशीको जोडीलाई ६–२, ६–० ले, भारतका अर्जुन गोहाड र फैज नैश्यामको जोडीले थाइल्याण्डका पोस्वात अकर्पन र पाविन जिरापुम्दाजको जोडीलाई ४–६, ७–५ र सुपरटाईमा १०–४ ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित पारेका छन्।
पोखरामा जारी प्रतियोगितामा मंगलबार पुरुष तथा महिलातर्फ पहिलो चरणका सिंगल, डबल्सका विभिन्न खेलहरु सम्पन्न भएका छन्।