राष्ट्रिय क्यान्सर नीति बनाउन जोड

राष्ट्रिय क्यान्सर नीति बनाउन जोड

भक्तपुर : क्यान्सर रोगका विशेषज्ञ चिकित्सकले समग्र क्यान्सर उपचारबारे राष्ट्रिय नीति नै निर्माण गर्न सरकारसँग माग गरेका छन्। 

क्यान्सर रोग धेरै महंगो र उपचारमा धेरै जटिलता भएकाले त्यसलाई सहज र सजिलो बनाउन सरकारले क्यान्सर नीति नै बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन्।

विश्व क्यान्सर दिवसको अवसरमा सोमबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित कार्यक्रममा उनीहरुले नेपालको आवश्यकताअनुसार अस्पताल, चिकित्सक, प्रविधि एवं उपकरणको समुचित व्यवस्था हुने गरी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिएका हुन्।

सोही नीतिमा टेकेर क्यान्सर उपचार निःशुल्क गर्न सकिने र यसले क्यान्सर उपचारमा विदेसिरहेको अर्बौं रकम पनि जोगिने दलिल उनीहरुले पेस गरे।

‘राष्ट्रिय क्यान्सर नीति बनेपछि सबै नेपालीको क्यान्सर उपचारमा पहुँच सुनिश्चित हुन्छ’, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले भने, ‘क्यान्सर उपचार निःशुल्क पनि गर्न सकिन्छ र क्यान्सर उपचारका जटिलताहरुलाई पनि चिर्न सकिन्छ।’

उनले सुरुमै क्यान्सर पहिचान गर्न सकिए उपचारको लागि धेरै लगानी गर्न नपर्नेसमेत सुनाए।

त्यस्तै अर्का क्यान्सर रोग विशेषज्ञ डा. उत्सवमान श्रेष्ठले क्यान्सर लागेपछि उपचारमा लगानी गर्नुभन्दा जनचेतना फैलाउनमा बढी ध्यान दिने गरी क्यान्सर नीति बन्नुपर्ने बताए।

नेपालमा उपचारले पनि निको नहुने स्थितिमा पुगेपछि मात्रै बिरामीहरु अस्पताल पुग्ने गरेको उनको भनाइ थियो।

‘७० प्रतिशतभन्दा बढी बिरामीहरु उपचारबाट निको नहुने स्थितिमा अस्पताल आउँछन्’, डा. श्रेष्ठले भने, ‘जबकि सुरुको अवस्थामा आए सामान्य उपचारबाटै क्यान्सर निको पार्न सकिन्छ। त्यसैले जनचेतना बढाउनेमा जोड दिने गरी क्यान्सर नीति बन्नुपर्छ।’

त्यस्तै अर्का क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले क्यान्सर रोगको उपचारमा धेरै जटिलता हुने भएका कारण जुनसुकै अस्पतालले पनि क्यान्सर उपचार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी नीति आउनुपर्ने बताए।

‘क्यान्सर रोग उपचारमा धेरै जटिलता छन्। त्यसैले यसको उपचार महंगो छ’, उनले भने, ‘त्यसैले पैसाकै लागि जनरल अस्पतालले पनि क्यान्सर उपचार गर्न खोज्छ। जबकि विशेषज्ञ अस्पतालमा बाहेक अन्यत्र क्यान्सर उपचारमा जानु क्यान्सरमा थप जटिलता ल्याउनु हो।’

राष्ट्रिय क्यान्सर नीति आए बिरामीहरु पनि सीधै विशेषज्ञ अस्पताल पुग्ने उनको भनाइ थियो।

क्यान्सरले हरेक वर्ष १९ हजार मर्छन्
ढिलो गरी उपचारमा आउने गरेकी कारण बर्सेनी १९ हजार नेपालीले क्यान्सरकै कारण मृत्युवरण गर्छन्। यो संख्या रोगको कारण नेपाली मर्ने दोस्रो हो। पहिलो सबैभन्दा बढी नेपाली मुटुरोगका कारण मर्ने गर्छन्।

‘नेपालमा ४० हजारको हाराहारीमा क्यान्सर बिरामीहरु छन्’, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रो.डा. श्रेष्ठ भन्छन्, ‘जसमध्ये वर्सेनि १९ हजारले ज्यान गुमाउँछन्। मर्ने संख्याकै हाराहारी नयाँ क्यार बिरामी थपिन्छन् पनि।’

उनका अनुसार विश्वमा एक करोड ८० लाखको संख्यामा क्यान्सर बिरामी छन्। जसमध्ये हरेक ९९ लाख जनाले क्यान्सरकै कारण ज्यान गुमाउँछन्।
विश्वमा सबैभन्दा बढी फोक्सोका क्यान्सर बिरामी रहेको उनले जानकारी दिए। नेपालमा पनि फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको उनको भनाइ थियो।

‘समग्रमा विश्वभरजस्तै नेपालमा पनि फोक्सोको क्यान्सर पहिलो स्थानमा छ’, उनले भने, ‘महिलातर्फ भने नेपालमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ। विश्वमा भने स्तन क्यान्सर पहिलो स्थानमा छ।’

सन् २०१८ मा भक्तपुर क्यान्सर अस्पतालमा ७७ हजार आठ सय ३५ जना बिरामीहरु अस्पतालको बहिरंग विभागमा पुगेका थिए। जसमध्ये तीन हजार चार सय १२ जनामा क्यान्सर पुष्टि भएको मेडिकल निर्देशक प्रो.डा. श्रेष्ठले जानकारी दिए।

मोटर र्‍यालीमा भक्तपुर क्यान्सर अस्पताल पहिलो
यसैबीच विश्व क्यान्सर दिवसको अवसरमा काठमाडौं-पोखरा द अमेजिङ मोटर र्‍यालीमा भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वय डा. उत्सवमान श्रेष्ठ र डा. उज्ज्वल चालिसेको जोडी पहिलो भएको छ।

ज्योति लाइफ, केजीएच समूह र नेपाल अर्बुदरोग निवारण संस्थाको आयोजनामा भएको र्‍यालीमा सहभागी ३५ वटा गाडीलाई पछि पार्दै उनीहरुको बा १४ च ३१४६ नम्बरको गाडी पहिलो भएको हो।

पहिलो भएको गाडीले शिल्ड, प्रमाणपत्रसँगै टर्किस एअरको तर्फबाट काठमाडौं-टर्की-काठमाडौंका दुईतर्फी हवाई टिकट जितेको छ। भक्तपुर क्यान्सर अस्पतालमा सोमबार आयोजित कार्यक्रममा नेपाल अर्बुदरोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले उक्त शिल्ड र पुरस्कार विजेता डा. श्रेष्ठ र चालिसेलाई वितरण गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.