अन्नतः काधँ हाल्ने कोही नभेटिएला !
नारद पोखरेल समाज रूपान्तरणको मार्गमा अघि बढ्दा कयौं व्यवधानको सामना गर्नुपर्छ। बाटो हिँड्दा सामुन्ने भीर वा खाल्डो भेटियो भने मानिसमा दुइटा मात्र विकल्प रहन्छ। पहिलो– सधिा अगाडि बढ्दै मृत्युलाई अँगाल्ने, दोस्रो पछाडि फर्किइ जिउने मार्ग पहिल्याउने। सामाजिक अगुवाले यो सत्य ठम्याउन सक्नुपर्छ।
अग्रगमनको नाममा भीरबाट खस्नु मूर्खता हो। पछाडि फर्केर सुरक्षित अवतरित हुनु बुद्धिमता एवं परिपक्क ठहर्छ। नेपाली राजनीति अहिले यहिमोडमा गुज्रिएको छ। अघि बढ्दा समाप्ति सिवाय केही छैन, पछाडि फर्किन दम्भ र लालचको लिसोले निस्कनै दिँदैन।
बहिरियाले स्वामित्व लिन चाहेको प्रणालीमा यस्तै रूप देखिन्छ। यो तथ्य विश्वका कतिपय राष्ट्रले भोग्दै आए र आएका छन्। पुर्खाको परि श्रमले आर्जिएको वस्तु सबैलाई प्यारो लाग्छ। मूर्खहरूले त्यसैलाई दुरुपयोग गर्छन्। बुद्धिमानबाट नासोका रूपमा ग्रहण गरिएको हुन्छ। यहाँ पुर्खाको नासो रित्याउने खेल हुँदैछ।
विदेशी इसारामा केही स्वदेशी पात्रहरू जानीनजानी त्यसमा सघाइरहेका छन्। जुनसुकै क्षेत्रमा विकृति–विसंगतिले गाँजेको छ। जताततै मूर्खहरूको झुण्ड हाबी छ। समाज संस्कारमय होस्, मूल्यमान्यता नमासियोस् भनी बाटो देखाउनेलाई अपराधी बनाइन्छ।
मौलिक सभ्यतामा प्रहार गर्नेलाई देवतुल्य ठहर्याइन्छ। विभाजनको रेखा कोर्नेलाई नायक बनाइन्छ। राष्ट्र निर्माण गर्नेलाई खलनायक तुल्याइन्छ। यहाँ इमानदारी र नैतिकतामा खडेरी परिसक्यो। त्यही भएर विखण्डनकारीको समर्थनमा बत्ती बालिन्छ। एकताको प्रतीकको विरोधमा उनकै प्रतिमा ढालिन्छ। यहाँ अभिमानीबाट सज्जनले शासित हुनुपरेको छ। मूर्खहरूको प्रवचन ज्ञानीहरूले सुन्नुपरेको छ। हामी वीरका सन्तान हुँ भन्दै हुँकार गरिन्छ, त्यो वीर को हो ? बोल्न अक्मकाइन्छ। हिन्दुत्वको दाबी पनि गरिन्छ, हिन्दु राष्ट्र हुनु हुँदैन भन्दै नागरिकमा भ्रम छरिन्छ।
संसार घुम्दा नेपाली हुँ भन्दै फूर्ति लगाउने, नेपाल निर्माण गर्नेको नाम लिन लाज मान्ने ! योभन्दा गति छाडापन के हुन सक्छ ? तर यस्तै भएको छ। अहिले राजनीतिमा निष्ठा हराइसक्यो जसले गर्दा समाजमा विचलन ब्याप्त छ। सत्ता होस् वा प्रतिपक्ष, उनीहरूमा सिद्धान्त र आदर्श इतिहास भइसक्यो। दिनानुदिन आपराधिक घटनामा बढोत्तरी छ।
निर्मलाको हत्यारा अहिलेसम्म बाहिरिएन। सीमा सुरक्षा फितलो छ। रोहिंगिया शरणार्थी कताबाट भित्रिए कसैलाई थाहा छैन। भुटानी शरणार्थीले थलिएर पार पाउन नसकेको मुलुकमा बर्मादेखि कपनसम्म आई घरजम गरिसक्दा बल्ल सरकारले भेउ पाउँछ। यसलाई पनि विडम्बना नै मान्नुपर्ला ! अन्याय र अत्याचारको दुष्चक्र नेपालीले विगतमा पनि सहनु नपरेको होइन।
त्यतिबेला चरम दमन हुन्थ्यो। विकास निर्माण थिएन। शासकहरू मोजमस्तीमै निर्लिप्त हुन्थ्यो। मीठो खाने, राम्रो लाउने पुर्पुरो चाहिन्छ भन्ने शासकहरूको धारणा थियो। तथापि देशको प्रश्नमा सबैको एकमत हुन्थ्यो। राष्ट्र एवम् राष्ट्रिय अखण्डताविरुद्ध कसैले टाउको उठायो भने त्यो टाउको तत्कालै गिडिन्थ्यो। पराइले आँखा लगाएको छनक मात्र भयो भने प्रतिरोधका लागि नागरिकहरू जुनसुकै बेला तत्पर हुन्थे। त्यहाँ आफ्नोपन थियो। मौलिक पहिचान जीवित थियो। धर्म–संस्कृतिले सबैलाई जोडेको थियो।
देश जतासुकै जाओस्, आफू र आफ्नो समूह मात्र सुरक्षित भए पुग्छ। यही सोचमा वर्तमान राजनीति बहकिएको छ।
धर्मले अनुशासन सिकाउँछ। नैतिकता एवम् सत्कर्म गर्न प्रेरित गर्छ। अहिलेको राजनीतिले मूल्यमान्यता एवम् राष्ट्रिय पहिचान समाप्त पार्यो। धर्म निरपेक्षताले मानिसलाई अधर्मतिर डोर्यायो। आफ्नोभन्दा पराइ प्यारो बनायो। नेपाल निर्माण भएदेखि नै यो भूमि बिगार्न कयौं प्रयत्न नभएका होइनन्। तर पुर्खाको निष्ठापूर्ण प्रयत्नले आजपर्यन्त विश्व राजनीतिमा नेपाली पहिचान जीवन्त रहेको छ। अहिले राष्ट्रलाई दाउमा राखेर राजनीति गरिएको छ। नेताहरू यसैमा मग्न देखिन्छन्।
देश जतासुकै जाओस्, आफू र आफ्नो समूह मात्र सुरक्षित भए पुग्छ। यही सोचमा राजनीति बहकिएको छ। निरंकुशताविरुद्ध लडाइँ लड्न सकिन्छ। शोषणदमनको विरुद्धमा जनभावना मुखरित हुन सक्छ। तर ढोंगीहरूका गतिविधि उजागर हुन त्यति सहज हुँदैन। यहाँ कथाकथित क्राइस्टकी छोरी भनिएकीलाई शान्तिको प्रतीक मानियो। उसैका हातबाट होली वाइन खान तँछाडमछाड गरियो। संसारले मानेको हाम्रो धरोहर भगवान् बुद्धको ठाडो अपमान भयो। यस्तो ताण्डव देखाउँदा पनि राष्ट्रवादि गीत गाउन छाडिएको छैन।
यहाँ गान्धीवादी भनिनेहरूले साम्यवादीसँग घाँटी जोड्न व्यग्र छन्। बीपीवादी कहलिएकाहरू गणतन्त्र र धर्मनिरपेक्षताको द्योतक भएका छन्। त्यसैगरी साम्यवादी भनिनेहरू नवधनाढ्यको हितमा दुईतिहाइले विधयक पेस गर्यौं भन्दै दंग पर्छन्। आफूलाई जनहितमा समर्पित गर्दै अनशनरत गोविन्द केसी मरोस्, बाँचोस् उनीहरूको चासो हुँदैन।
माफियाको कालो धन सेतो बनाउने कार्य सफल भयो। यसैमा दीप प्रज्ज्वलित गर्दै हर्षविभोर भएका छन्। त्यसैले भन्नैपर्ने हुन्छ– निदाएको उठाउन सकिन्छ तर निदाएको अभिनय गर्नेलाई बिउँझाउन कदापि सकिँदैन। यहाँ यस्तै भएको छ। राजनीतिलाई व्यवसायीकरण बनाइयो। जति घच्घच्याए पनि मूल पात्रहरूको कानमा जनआवाज पुग्दैन। उनीहरू आत्मरतिमा रमाउन अभ्यस्त भइसके। राजनीति सिद्धान्तमा आधारित आदर्शमय हुनुपर्छ। यहाँ कुनै वाद वा सिद्धान्तमा राजनीति गरिँदैन।
अधिकांश पात्रहरू सुविधाभोगी भइसके। प्रजातान्त्रिक आन्दोलनको दौरान विपरीत सिद्धान्त अँगाल्ने प्रतिभावान् पनि खराब ठानियो। उसका राम्रा काम सही हुँदैनन् भन्ने सिकाइयो। काँडामा फूल फुल्छ, खग्रासमा समेत सेतो घेरा हुन्छ भन्ने कहिल्यै पढाइएन। त्यसैले यहाँ होली वाइन होस् वा मार्सी चामलको भतेरमा रमाइयोस् उनीहरूलाई नागरिकले समाजवादी मान्नैपर्छ। राजनीतिमा उतारचढाव आइरहन्छ। त्यसैको अनुभवबाट नेतृत्वले समाज रूपान्तरणमा सफलता हासिल गर्नुपर्छ।
संसारको घटनाक्रमले यसलाई पुष्टि गरेको छ। यहाँ पनि भीमसेन थापाको पतनपछि भाइभारदारमा आएको उन्मादित विग्रह राजा राजेन्द्रकी दुई रानीमा देखिएको गुटगत राजनीति र गुटउपगुटको लुछाचुँडीले जंगबहादुरको उदय भयो। त्यसैगरी सात सालपछि पनि राजामा देखिएको सत्तामोह राजनीतिक दलहरूको अकर्मण्यता, दलहरूमा देखिएको विग्रह इत्यादिले मौका हेरेर बसेका महाराजाबाट २०१७ साल निम्त्याउन बल पुगेको हो। यो तथ्य नेपाल राजनीतिका पात्रहरूले चटक्कै बिर्सिए। उनीहरूले आफूलाई सुधार्ने सामान्य चेष्टासम्म नगर्नु अहिले बेथितिको अर्को कारक हो।
यो परिस्थिति ती दुई घटनाभन्दा अत्यन्त पृथक् छ। त्यतिबेला अवसर छोप्ने देशभित्रकै व्यक्ति थिए। शासनसत्ता निरंकुश भए पनि मुलुकप्रति इमानदार थिए। अहिले राष्ट्रिय शक्ति कमजोर छ। राष्ट्रिय भावनालाई जातजात र क्षेत्रक्षेत्रमा खण्डित गरिएको छ। यहाँ चरम बेथिति चर्काएर मौकाको ताकमा विदेशीहरू दाउ हेर्दैछन्।
यसकारण राजनीतिका मूल पात्रहरूले परिस्थिति आकलन गर्न सक्नुपर्छ। अघि बढ्दा कहिलेकाहीं बाटो भेटिँदैन। विवेकशील भई निर्णय गर्न सक्नु कुशल नेतृत्वको पहिचान हो। भीरबाट खस्नुभन्दा यथास्थानमा फर्किनु क्रान्तिकारी चरित्र हुन्छ। नेपाली राजनीतिले यो धरातलीय यथार्थ स्विकार्न सक्नुपर्छ, अन्यथा भीरबाट लड्ने गोरुलाई राम राम मात्र भनिन्छ, काँध हाल्ने कोही हुँदैन भन्ने उखान चरितार्थ नहोला भन्न सकिन्न !