नगदे उखु, उधारो व्यथा : किसानले वर्ष दिनसम्म पाएनन् ६५ करोड
महोत्तरी : ऋणमै किसानले उखु उब्जाउँछन्। कर्जा काढेर त्यसको गोडमेल गर्छन्। फेरि ऋणकै भारी बोकी कटानी र ढुवानी गर्छन्। उखु नगदे बाली हो। तर, उखु किसानलाई उधारोमै बिक्री गर्नु परिरहेको छ। दुःखद कुरो त बेचेको उखुको भुक्तानी वर्ष दिनमा समेत पाउँदैनन्।
गत वर्ष बिक्री गरेको उखुको अनुदान किसानले अझै पाएका छैनन्। पट्यारलाग्दो प्रक्रियाले उनीहरूलाई हैरान पारेको छ। पोहोर साल उखुको मूल्य ५ सय ३६ रुपैंया प्रतिक्विन्टल थियो। जसमध्ये प्रतिक्विन्टल ६५ रुपैंया सरकारले प्रोत्साहन स्वरूप किसानलाई दिएको थियो।
अनुदान लिन खेतको लालपुर्जा, वडा कार्यालयको सिफारिस, ठेक्कामा खेती गरेको कागजपत्र पेश गरे मात्र अनुदान पाइने नयाँ व्यवस्था छ। झन्झटिलो प्रक्रियाले महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौत्तहटका ३० हजार किसानले गत वर्षको करिब ६५ करोड अनुदान रकम नपाएको हो। अनुदान रकम पाँच महिनादेखि जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा थन्किएको छ।
महोत्तरीको रामनगरका उखु किसान जगदीश महतो चुर्लुम्म ऋणमा डुबेका छन्। पोहोर बेचेको उखुको अनुदान उनले पाएका छैनन्। त्यसमाथि खेतमा तयारी उखु उनीजस्ता देशका लाखभन्दा बढी किसानले चिनी मिललाई उधारोमा बिक्री गर्नु परेको छ।
उनले दुई बिघामा नयाँ उखु खेती उब्जाएका छन्। उनी भन्छन्, ‘अहिले उखु कटानी र ढुवानी गर्न फेरि अढाई लाख ऋण लिनु पर्यो।’ सरकारले किसानलाई दिने अनुदान रकम पहिले चिनीमार्फत खातामा पठाइन्थ्यो। तर गत वर्षदेखि अनुदान रकम दिन नयाँ मापदण्ड ल्याएपछि किसान मारमा परेका उखु उत्पादक कृषक संघ रामनगरका अध्यक्ष नरेश सिंह कुशवाहाले जनाए।
‘मिलमा किसानले बुझाएको उखुको रेकर्ड छ। त्यसका आधारमा तुरुन्त अनुदान रकम पठाउन व्यवस्था गर्न कृषि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छौं,’ नेपाल उखु उत्पादक महासंघ केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले भने।
वर्षभरि कडा मेहनत गरेर किसानले उखु उब्जाउँछन्। उखुको मूल्य तोक्नमै मिल मालिकले गर्ने मोलमोलाइले किसान आजित बनाउँछ। पुरानै बिक्री गरेको उखुको भुक्तानी किसानहरूले नपाउँदा नयाँ उखु कटानी र ढुवानी गर्न किसानलाई आर्थिक अभावले सताएको छ।
देशैभरिका लाख बढी किसानले यस वर्ष एक लाख ३४ हजार बिघामा साढे २१ अर्बको उखु उब्जाएका छन्। चालु सिजनको लागि किसानले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रूपैंया पाएका छन्। यो मूल्य गत वर्षकै हो।
मूल्यमा कुरा नमिल्दा चिनी मिल गत वर्षभन्दा एक महिना ढिलो चल्यो। गत माघको पहिलो सातादेखि देशभरिका १३ चिनी उद्योगले चालु सिजनको क्रसिङ सुरु गरेको थियो। ‘पोहोर बिक्री गरेको उखुको रकम किसानको हातमा अझै परेको छैन,’ गौशालाका अर्का उखु किसान देवनारायण महतोले भने, ‘उखुको दाम पाउन मुस्किल छ। नयाँ उखु मिलमा ढुवानी गर्न फेरि ऋणकै भर पर्नु पर्यो।’
चिनी मिल मालिक र सरकारको लापरवाहीले उखु किसानको हरिबिजोग भएको रामनगरका उखु किसान महाशंकर थिङ भन्छन्, ‘भुक्तानीमा हुने ढिलाइले किसानमाथि ऋणको भारी थपिदैं गयो। युवाहरू वैदेशिक रोजगारीमा जाने भएकाले उखु कटानी र ढुवानीमा मजदुरको अभाव समेत भएको छ। महोत्तरी नेपालमा वैदेशिक रोजगारीमा जाने जिल्लाहरूमा दोस्रो स्थानमा पर्छ।