गृहमन्त्रीले भने : रक्षामन्त्रीले के बोल्नु भो जानकारी भएन
काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणबारे रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रम दिएको अभिव्यक्तिप्रति गृहमन्त्री रामबहादुर थापाले अनभिज्ञता प्रकट गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठक सांसदहरुले सोधेका प्रश्नहरुको जबाफ दिने क्रममा गृहमन्त्री थापाले निर्मला प्रकरणलाई लिएर रक्षामन्त्री पोखरेलले बोलेको कुरा आफूलाई थाहा नभएको उल्लेख गरे ।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्मला हत्यामा संलग्नहरु पक्राउ परी सकेको भनी केही महिना अघि दिएको अभिव्यक्तिबारे गृहमन्त्रीसँग प्रश्न गरेका थिए ।
'सरकारले संदिग्ध व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याइरहेको छ । रक्षामन्त्रीको अभिव्यक्ति दोषीमाथि कारवाही गर्ने स्पिरिट आएको हुनसक्छ', त्यही क्रममा मन्त्री थापाले भने, 'रक्षामन्त्रीज्यूले बोल्नुभएको कुरा सरकारको आधिकारिक धारणा थिएन र मलाई औपचारिक जानकारी पनि छैन ।'
गृहमन्त्री थापालाई कांग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले निर्मलाका परिवार र समर्थक अनसन बसिरहँदा सरकारबाटै धम्क्याउने काम गरिएको भन्दै प्रश्न गरे । उनले मृतकका परिवारलाई प्रलोभन दिएकोबारे पनि सोधका थिए ।
गृहमन्त्री थापाले त्यस प्रश्नको जवाफ दिँदै यसबारे सूचना सरकारसँग नभएको उल्लेख गरे । मन्त्री थापाले निर्मला प्रकरणका अपराधीलाई पक्राउ गरेरै छाड्ने जानकारी पनि दिए ।