पुल निर्माणमा व्यथिति, दुई वर्षको काम आठ वर्षमा भएन
बेसीशहर : लमजुङको दोर्दीखोलामा दुई वर्षमा निर्माण सक्ने सम्झौता भएको पुलको निर्माण कार्य ८ वर्षमा पनि पूरा हुन सकेको छैन। पुल निर्माणमा चरम लापारबाही भएको भन्दै स्थानीय आक्रोशित भएका छन्।
निर्माण सुरु भएको ७ वर्ष ८ महिनामा गत मंसिरमा ढलान भएको थियो। ढलानपछि २ महिनामा निर्माण सक्ने उद्घोष गरेको निर्माण कम्पनी काम छोडेर बेपत्ता भएको छ। बेसीशहर नगरपािलका–११ चिती र दोर्दी गाउँपालिका–४ नौथरसेरा जोड्ने उक्त पुल निर्माणको काम ठप्प भएपछि स्थानीय चिन्तित बनेका छन्।
६० मिटर लम्बाईको सो पुल २०६८ चैतमा सिलन्यास भएको थियो। पुल निर्माणको ठेक्का पाएका हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले काममा ढिलाइ गरेका हुन्। पुल निर्माणमा दुई कम्पनीबीच विवाद बढेपछि निर्माणकार्य अलपत्र परेको स्रोतले बताएको छ।
सरकारले समयमा नै काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही थाल्ने प्रक्रिया अघि बढाएपछि गत जेठबाट पुल निर्माणकार्यले गति लिएको थियो । दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले मंसिर पहिलो साता ढलान भएयता काम नभएको बताए । जेठबाट सुरु भएपछि असार महिनामै काम सक्ने भनिए पनि ठेकेदार काम छोडेर बेपत्ता भएको उनले जानकारी दिए । पुलमा तीनवटा स्ल्याब ढलान जोड्न ‘एक्सपान्सन ज्वाइन्ट’ राख्न बाँकी छ ।
रेलिङ र दायाँ–बायाँ एप्रोच सडक निर्माण गर्न बाँकी छ । पुल निर्माणकार्य ९० प्रतिशत सकिएको निर्माणपक्ष र सडक कार्यालयले दावी गरेको छ। सडक डिभिजन दमौलीका प्रमुख डिभिजनल इन्जिनियर विष्णुप्रसाद काफ्लेले निर्माण व्यवसायीलाई छिटो काम गर्न दवाव दिइरहेको बताएका छन्। पुल निर्माणमा ढिलाइ गरेपछि सडक डिभिजनले निर्माण कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना गरेको छ । करिब २८ लाख रुपैयाँ जरिवना बिलिङबाट घटाउँदै लगिने कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले लगातारको प्रयासपछि कामले गति लिए पनि अहिले रोकिएको बताए। ‘भौतिक निर्माण कार्यलाई गति दिन गृहमन्त्रीको योजना अनुरूप हामीले निर्माण कम्पनी र सडक कार्यालयलाई पटक–पटक ताकेता गरेका थियौं’, प्रजिअ ढकालले भने, ‘ताकेता पुल ढलानसम्म भयो। अब फेरि खोजेर काम पूरा गराउन लगाउँछौँ।’
दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले समयमा पुल नबन्दा दोर्दी खोलामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भइरहेको बताए । पुल नबन्दा जलविद्युत्का निर्माण सामग्री वारपार गर्न समस्या परेको आयोजनाका सञ्चालकले बताएका छन्। यसले आयोजनाको निर्माणमा पनि ढिलाइ भएको छ।