कृषिमन्त्रीलाई सांसदले सोधे : विषादीरहित तरकारी कहिले खान पाइन्छ ?
काठमाडौं : आज बुधबार बसेको संसद बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई विषादीरहित खाद्यान्न, तरकारी र फलफूलबारे सांसदहरुले चासो राखेका थिए ।
सांसदहरुले मन्त्री खनाललाई ‘विषादीरहित खाद्यान्न उपभोक्ताले कहिलेदेखि खान पाउँछन् ?’ भन्दै सोधेका थिए । सांसद रामबहादुर विष्टले मन्त्री खनाललाई ‘बजारमा पाइने तरकारी र खाद्यान्न ढुक्क भएर खान मिल्छ कि मिल्दैन ?’ भन्दै सोधेका थिए ।
मन्त्री खनालले भने बिगतको तुलनामा विषादीरहित तरकारी फलफूल बजार उत्पादन बढेको भन्दै सरकारले त्यस्ता तरकारी र खाद्यान्न उत्पादनमा जोड दिएको बताएका थिए ।
पुरक प्रश्न सोध्दै मिनेन्द्र रिजाल, राजेन्द्र लिंग्देनले पनि प्रश्न सोधेका थिए । सांसद रिजालले सरकारले भने पनि बजारमा पाइने तरकारी विषादीरहित हुने कुरा पत्याउन नसकिने बताएका थिए । सांसदहरुले बजारमा तरकारी ढुक्कसित खान कहिलेदेखि मिल्छ ? भन्ने प्रश्नको जवाफस्वरुप घुमाउरो भाषामा मन्त्री खनालले विषादीरहित खाद्यान्न र तरकारी पाइने दावी गरेका थिए ।