पासवान जातिको अनौठो पूजा, जहाँ पूजारी आगो र तरबारमै हिँड्छन् !
राजविराज : सप्तरीमा बुधबार एउटा अनौठो पूजा भयो । कञ्चनरुप नगरपालिका–८ बेरियरमा मनाइएको राहु पूजामा पूजारी बनेका सुरुङ्गा नगरपालिका–८ मल्हनमाका सन्तोषकुमार पासवान नाङ्गो तरबारमा उभिए, उम्लिरहेको दुधको खिरमा हात गाढे र नाङगो खुट्टाले आगोमाथि हिँडे ।
सन्तान प्राप्ति, धन आर्जन तथा दीर्घरोग निको हुने विश्वासका साथ अनौठो परम्पराका रुपमा मनाइने राहु पूजामा उनले भेडा नमरुञ्जेल भेडालाई दाँतले चेपेर समेत घुमाइरहे ।
राहु पूजामा भएको यस्तो दृश्य अपत्यारिलो लागे पनि सन्तोषकुमारले ती सबै गतिविधि आफैँ गरेका थिए । हजारौं दर्शकको भीडमा यसरी मनाइएको यस्तो पूजा रोचक र अचम्मलाग्दो पनि थियो ।
यहाँ पूजामा जोसुकै आउन सक्छन् । पूजा जसले पनि गराउन सक्छ । तर पूजारी दुसाध (पासवान) जातिकै हुनुपर्ने परम्परा छ । सोही अनुरुप यसपटक सन्तोषकुमारले पूजारी (भगता) को जिम्मेवारी सम्हालेका थिए ।
तराईको पासवान (दुसाध) जातिको अनौठो पूजामा सहभागी हुन र अवलोकन गर्न हजारौं सर्वसाधारण उपस्थित भए । सप्तरीको विभिन्न गाउँका साथै सिरहा, सुनसरी र सिमावर्ती भारतीय क्षेत्रका सर्वसाधारणको पनि यहाँ घुइँचो नै लाग्यो ।
यसबाहेक भाकल गरेका कुरा पूरा भएपछि पनि यहाँ पूजा गर्न जाने चलन छ । यसका लागि कुनै जात विशेषको हुनु पर्दैन । पूजा व्यवस्थापक समितिका अध्यक्ष जोगिन्द्र पासवान (खिखर) का अनुसार एक साता अघिदेखि नै पूजा गर्ने व्यक्तिको घरमा आएर पूजामा प्रयोग हुने बाँसलाई वाँसविट्टीको घारीमा गएर पूजा गरी निम्तो दिने गरिन्छ । उक्त बाँस पूजा हुने स्थलमा काटेर ल्याउने गरिन्छ ।
यहाँ पूजा गर्दा निःसन्तानलाई सन्तान प्राप्ति, आवाज गुमेकाको आवाज आउने, विरामीहरु निको हुने जनविश्वास रहेको छ । सूर्य भगवानले अरु कुनै जातिसँग अर्घ नलिइ पासवान (दुसाध) जातिसँग मात्र लिएको बताइन्छ ।